अपडेट 
२०८० असार १६, शनिबार ०७:४२

जनता समाजवादी पार्टी(जसपा)का केन्द्रीय सदस्य एवं पूर्व सांसद हरिनारायण रौनियारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पप्पु कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका रौनियारलाई प्रहरीले काठमाण्डुको नयाँ बानेश्वरबाट पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डुको टोलीले उनलाई पक्राउ गरेको एआईजी श्याम ज्ञवालीले जनाएका छन् । ठगी मुद्दामा सांसद रौनियालाई पक्राउ गरिएको एआईजी ज्ञवालीले बताए ।‘ जिल्ला प्रहरी कार्यालय बाँकेको अनुरोधमा रौनियारलाई पक्राउ गरिएको छ ’ उनले भने, रौनियारमाथि बाँकेमा ठगी मुद्दा दर्ता रहेको छ । रौनियारका छोरा सुमित रौनियार विरूद्ध जिल्ला अदालत बाँकेले गत वैशाख १० गते पक्राउ गर्न प्रहरीलाई आदेश जारी गरेको थियो । छोरा सुमित रौनियार प्रहरीको पहुँच भन्दा पर रहेका छन् ।

पप्पु कन्सट्रक्सनको कागजी सञ्चालक सुमित रौनियार नै रहेका छन् । पक्राउ परेका रौनियारलाई थप अनुसन्धानका लागि शनिबार बाँके पठाइने प्रहरीले जनाएको छ । लुकिछिपी रहेका रौनियार जसपाको बिहीवार सम्पन्न विधान अधिवेशनमा सहभागी हुन काठमाण्डु पुगेका थिए । रौनियार सञ्चालक रहेका पप्पु कन्सट्रक्सनले ठेक्का लिएका अधिकांश पुलको निर्माण अलपत्र परेको छ । वर्षौदेखि निर्माण अधुरा छाडेका पुलहरुको कारण हरेक वर्ष बाढीको समयमा जनधनको ठूलो क्षति हुने गरेको छ ।

गणतन्त्र नेपालको पहिलो आम निर्वाचनमा जसपाको टिकटबाट पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका रौनियार उपर अख्तियार दुरुपयोग आयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी निलम्बित भएका थिए । रौनियारले अलपत्र छाडेका पुलहरु निर्माण गर्न सरकारले अनेक दबाब दिए पनि हालसम्म त्यो हुन सकेको छैन् । रौनियारले विगतमा दिएको चेकको रकम भुक्तानसमेत नगरेकाले उनीमाथि थप मुद्दाहरु पर्ने सम्भावना रहेको बताइन्छ । रौनियार अख्तियारको मुद्दामा पक्राउ भने परेका थिएनन् । ठगी मुद्दा दर्ता भएपछि पक्राउ परेका रौनियारका लागि चाँडै उन्मुक्ति पाउने सम्भावना कम रहेको बताइन्छ । रौनियारको पप्पु कन्सट्रक्सन कम्पनीलाई सरकारले कालो सूचीमा राखेको छ ।

Comment


Related News

Latest News

Trending News