
रौतहटमा बैंक खाताबाट सेवाग्राहीको रकम चोरी गरेको आरोपमा सातजनालाई प्रहरीले पक्राउ गरेका छन् ।
जिल्लाको चन्द्रपुर–४ स्थित माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुर शाखाको खाताबाट सेवाग्राहीको रकम चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका– १६ नगवाका २१ वर्षीय राज नारायण चौरासिया, वडा नम्बर १९ स्थित केहुनी विन्दाबासनीका २१ वर्षीय महम्द मुस्तुफा हवारी, दोलखा बैदेश्वर गाँउपालिका–५ सिमबारी टोलका २९ वर्षीय सुन्दर खड्का, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका– ९ पिङगोलाका १९ वर्षीय महेश थापा, उदयपुर रौउतामाई गाउँपालिका–२ भुट्टारका २० वर्षीय केवल रास्कोटी, सिरहा मिर्चैया नगरपालिका–८ भगवानपुरका १९ वर्षीय दिपे सदा र २३ वर्षीय श्रवण दास रहेको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।
उनीहरुले बृन्दावन नगरपालिका–३ का रामेश्वरराय यादवको खाताबाट गत जेठ ५ गते गैरकानुनी ढंगबाट ९ लाख ट्रान्सफर गरेका थिए । यादवको माछापुच्छ्रे बैंकको खाता नम्बर ०७५००६५३८२८०००१४ मा रहेको ९ लाख रकम जेठ ५, ६ र ७ गते दैनिक ३ लाखका दरले अन्य बैंकको खाता र खल्ती सेवामा अनाधिकृत रुपमा रकम ट्रान्सफर गरी ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरूले पीडित व्यक्तिको बैंक खातामा पहुँच पु¥याएर विभिन्न व्यक्तिको खातामा अनाधिकृत रुपमा रकम ट्रान्सफर गरेको इलाका प्रहरी चन्द्रनिगाहपुरका प्रमुख डीएसपी एकनारायण कोइरालाले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।