अपडेट 
२०८० असार १७, आईतवार ०६:०३

रौतहटको मौलापुर नगरपालिकाको वडा नम्बर ४ पतौरामा दाइजोका लागि डब्बल मर्डर भएको छ । आमा र अवोध छोरीको हत्यापछि परिवारका सदस्यहरु फरार भएका छन् ।

पतौरामा शुक्रबार राति आमा र छोरी घरमा मृत फेला परेका छन् । पतौरा गाउँकी २४ वर्षीया कविता देवी साह र उनकी २० महिनाकी छोरी आरुही राति घरमै मृत अवस्थामा भेटिएकी छन् । अवोध बालिकालाई सिलिंग पंखामा झुण्डयाएर हत्या गरिएको र कविता देवीलाई घरमा बन्द गरी जलाएर हत्या गर्ने प्रयास गरिएको स्थानीयहरुले जनाएका छन् । मृतक कविताको टाउकोको अगाडिको भाग फुटेको छ । हात र खुट्टा जलेको छ । तर उनले लगाएकी लुगा(मेक्सी)मा आगोले छोएको छैन् ।

प्रहरीका अनुसार कविताको लुगा राखिएको ट्रंकको ढक्कन खोलिएर कपडामा आगो लगाइएको छ ।मृतक कविताको छाला आगोको तापले सिकुरेको प्रहरीस्रोतले जनाएका छन् । प्रहरी स्रोतका अनुसार बालिकालाई हत्या गरी पंखामा झुण्डयाइएको र आमालाई घरभित्रै आगोमा जलाएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । आरुहीको शव पंखामा झुण्डिएको र कविताको शव घरबाट बाहिरिने सिँढीमुनिको बरण्डामा फेला परेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी उमाशंकरप्रसाद यादवले बताएका छन् । मृतक कविता देवी साहलाई घरबाट घिसारेर बाहिर ल्याइएको र आरुहीको शव पंखामा नै झुण्डिएको अवस्थामा छाडिएको थियो । उनका अनुसार मृतक कविताका पति धीरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन् ।

कविताकी सासु मैना देवी र जेठानी निशा देवी लाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ । घटना पश्चात मृतकका श्रीमान धीरेन्द्र साह, उनका बुवा नागेन्द्र साहलगायत परिवारकासदस्यहरु फरार भएका छन् । ‘मृतकका जेठानी र सासुलाई सोधपुछका लागि ल्याएका छौं,’ डीएसपी यादवले भने, ‘मृतकका श्रीमान् अहिलेसम्म फेला परेका छैनन्, उनको खोजतलास गर्दैछौं ।’‘घटनाका बारेमा तत्कालै केही भन्ने अवस्था छैन्’ उनले भने, अनुसन्धानपछि विस्तृत जानकारी प्राप्त हुनेछ । तीन वर्षअघि विवाह गरेकी कवितालाई उनका श्रीमानले पटक–पटक दाइजोका लागि यातना दिने गरेको उनका पिता विजयशंकर साहले बताए । ‘बिहे भएपछि दाइजोका लागि मेरी छोरीलाई चरम यातना दिने गरिएको थियो’ साहले भने, अन्ततः छोरी र नातिनीको हत्या नै गरिएको छ । ‘बिहेपछि दाइजोमा सुनको औठी र सिक्री दिन सकिएको थिएन’साहले भने,ज्वाइँ धीरेन्द्रले धेरै पटक छोरीलाई यो विषयमा कुटपिट गरेको थियो । आखिरमा दाइजोकै लागि छोरी र नातिनीको हत्या गरेर ज्वाइँ र सम्धी फरार भएका छन् ।

घटनाको निष्पक्ष छानबिन गर्दै अपराधिहरुलाई कडा सजाय दिनुपर्ने उनले माग गरेका छन् । रौतहट जिल्लाकै माधवनारायण नगरपालिकाको वडा नम्बर ५ मिठुअवा गाउँमा कविताको माइती हो । घटनाबारे स्थानीयहरुले जानकारी दिएपछि मृतकका पिता विजयशंकर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर आएको बताए । तर मृतक छोरी र नातिनीको शव धेरै बेरपछि मात्र हेर्न पाएको दुखेसो पोखे । छोरीलाई ज्वाइँले पटक पटक कुटपिट गर्दै अनेक प्रकारको यातना दिने गरेको आरोप उनले लगाएका छन् । ‘बेलाबेलामा कविताले ज्वाइँ धीरेन्द्र साहले नगद, पलङ, सुनको आँैठी र सिक्री माग्ने गरेको बताउने गरेकी थिइन् ’ उनले भने, दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको छ । अबेर रातिसम्म शवको पोष्टमार्टम हुन सकेको छैन् । आमा छोरीको शव प्रादेशिक अस्पतालमा राखिएको छ ।

मृतकका श्रीमान, ससुरा लगायत परिवारका अधिकांश पुरुष सदस्य फरार रहेका र सासु, जेठानी पक्राउ परेकाले पोष्टमार्टमका लागि कानुनी प्रक्रियामा समस्या देखिएको बताइएको छ । कविताकी वृद्ध हजुरआमा सासु भने घरमा नै रहेकी छन् । मृतकका पिता साह भने अस्पतालमै रहेका छन् । आमा र छोरीको हत्याको खबरले कविताको माइतीमा शोक छाएको छ ।विजय शंकरको ५ छोरी मध्ये कविता चौथो नम्बरमा थिइन् ।

Comment


Related News

Latest News

Trending News