अपडेट 
२०८० असार १७, आईतवार ०६:१२

नेपाल र भारतबीचको सम्बन्ध धर्म, संस्कृति, सामाजिक, भाषा, भेष, भूगोलसित जोडिएकाले अटुट रहेको सांसद अजय निषादले बताएका छन् ।

जनकपुरधाममा शनिबार आयोजित नेपाल र भारतका चिकित्सकहरुको एउटा कार्यक्रममा सहभागी हुन शुक्रबार आइपुगेका सांसद निषादले जानकी नेपाल र भारतको साझा धरोहर रहेको बताए । जानकीले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको उल्लेख गर्दै उनले भने,जनकपुरधाममा जानकी मन्दिर दर्शन गर्न भारी संख्यामा दिनहुँ भारतीय पर्यटक आउने गरेका छन् । संसारकै हिन्दूहरुको आस्थाको केन्द्र रहेको जनकपुरधाममा आउन पाउँदा आफूलाई भाग्यमानी ठानेको उनले बताए । नेपालको विकासमा भारतको सदैव सहयोग रहेको चर्चा गर्दै सांसद निषादले दुई देशबीचको सीमा क्षेत्रका धार्मिक, पर्यटकीय स्थलहरुलाई जोड्न पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिए । ‘नेपाल र भारतको सीमा क्षेत्रमा सडक सञ्जाल विस्तारको क्रम तीव्र रुपमा बढेको छ ’ उनले भने, यसले पर्यटकीय स्थलहरुमा विगतको भन्दा भीडभाड बढेको छ । दुबै देशका सरकारले मात्र नभइ सीमावर्ती क्षेत्रका बासिन्दा, राजनीतिकर्मी, व्यवसायी, सञ्चारकर्मीहरुले पनि सीमाक्षेत्रमा देखिने समस्याहरु समाधानका लागि पहल गर्नुपर्ने उनले बताए । भारतीय पक्षबाट समस्या भए समयमै जानकारी पाए समाधानका लागि केन्द्र सरकारसम्म पहल गर्ने उनले विश्वास दिलाए ।

भारतीय जनता पार्टी (भाजपा)बाट विहारको मुजफ्फरपुर लोकसभा क्षेत्रबाट लगातार दोस्रो पटक सांसद बनेका निषाद सीमा क्षेत्रको विकासप्रति सकारात्मक रहेका छन् । उनको पहलबाट कोभीड समयमा पनि कयौं समस्याहरु समाधान भएको थियो । शनिवार बिहान जानकी मन्दिरमा दर्शनपूजाका लागि आएका सांसद निषादले मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवसित विभिन्न विषयमा जानकारी लिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधामको भ्रमणमा आउँदा भारत सरकारको तर्फबाट सहयोग घोषणा गरेको १ सय करोड राशीको योजनाबारे समेत उनले चासो व्यक्त गरेका थिए । भगवान जानकीको जन्मदेखि विवाहसित जोडिएका विभिन्न स्थल र त्यसको विकासबारे जानकारी लिएका सांसद निषादले भारत सरकारबाट विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । सत्तारुढ दल भाजपाका सांसद निषादको सरकारमा बलियो पहुँच रहेको मानिन्छ । उनले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन दुबै देशबीच सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

Comment


Related News

Latest News

Trending News