अपडेट 
२०८० असार १७, आईतवार ०९:०३

बाढी पहिरोका कारण मुग्लिन–नारायणगढसहित देशका पाँच वटा सडक पूर्ण रुपमा बन्द भएका छन् ।

१० वटा सडक एकतर्फी मात्रै सञ्चालनमा रहेका सडक विभागले जनाएको छ । विभागका अनुसार मेची राजमार्ग र तमोर करिडोरमा पर्ने पाँचथरको हेवाखोला क्षेत्रमा सडक बन्द छ ।

यस्तै, कोशी राजमार्ग अन्तर्गत संखुवासभाको हाइटारमा र बेनी जोमसोम सडक अन्तर्गत म्याग्दीको तातोपानी क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध छ ।

यस्तै, तानसेन–रिडी–कोरला, डुम्रे–बेशीसहर–चामे, कोशी राजमार्गका रानी–विराटनगर–इटहरी–धरान–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदवारी–नुम–किमाथांका तथा तानसेन–रिडी–कोरला सडक एकतर्फी सञ्चालन भइरहेको छ।

त्यसैगरी, सिद्धार्थ राजमार्गको बेलहिया–भैरहवा–बुटवल–वर्तु–राम्दी–स्याङ्जा– पोखरा र कर्णाली राजमार्गको जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खेलाल–हिल्सा सडक एकतर्फी छ ।

सडक विभागले वर्षाको बेला सडक बन्द भए तत्काल खुलाउने तयारी गरेको भने पनि त्यसो हुन सकिरहेको छैन ।

पहाड र ठूलाठूला ढुंगा खस्दा सडक खुलाउन समस्या भइरहेको छ । विभागका उपमहानिर्देशक रामहरि पोखरेलले  सडक खुलाउनका लागि विभिन्न ठाउँमा दुई सय ४२ वटा उपकरणहरु तयारी अवस्था राखेको बताउनु भएको छ।

देशमा ८० वटा राजमार्ग छन् । यसमध्ये कतिपय राजमार्ग वर्षाको बेला सञ्चालन हुने अवस्थामा छैनन्।

नियमित गाडी चलिरहेका राजमार्ग अवरुद्ध भइहाले समयमै खुलाउन सडक डिभिजन कार्यालयलाई तयारीका साथ राखिएको विभागको दाबी छ ।

यसैबीच, पहिरोको कारण मुग्लिन–नारायणगढ सडकको यात्रा कष्टकर बनेको छ । गएराति  ११ बजेदेखि तुइन खोला पुल नजिकै पहिरो झरेपछि सडक फेरि बन्द भएको छ ।

पहिरो पन्छाउने तयारी भइरहे पनि सडक कतिबेला खुल्छ भन्ने टुंगो नरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सडकमा गाडीको लामो लाइन छ । सडक खुलेको एकिन नभइ यात्रा शुरु नगर्न पनि प्रहरीको आग्रह छ ।

संघीय राजधानी काठमाण्डौको ‘लाइफ लाइन’ मानिएको मुग्लिन–नारायणगढ सडकको यात्रा पहिरोका कारण कष्टकर र अनिश्चित बनेको छ ।

ठाउँ ठाउँमा बारम्बार पहिरो झर्दा सडक बन्द हुने र खुल्ने कुनै टुंगो हुन छाडेको छ । पहिरो पन्छाएर केहीबेरमा सडक खुलाए पनि केहीबेरमै बन्द हुँदा यात्रु र चालक हैरान हुँदै आएका छन् ।

गएको बिहीवार यता यो सडक मुस्किलले १५ घण्टा मात्रै सञ्चालनमा आएको छ । केही वर्ष जोखिम घटेको मुग्लिन–नारायणगढ सडकमा पछिल्लो समय फेरि समस्या बढेको छ ।

यस अघि झण्डै ३० ठाउँको पहिरो नियन्त्रण भएको भए पनि पछिल्ला वर्ष नयाँ ठाउँमा पहिरो देखिएको र तीमध्ये केही निकै जटिल रहेका सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ ।

सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार अहिले समस्या देखिएको तुइनखोला नजिकको पहिरो नयाँ हो ।

Comment


Related News

Latest News

Trending News