अपडेट 
२०८० असार १८, सोमबार ०६:२३

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्र कुमार यादवविरुद्ध नागरिकता समबन्धी कसूरमा आइतबार अदालतमा मुद्दा दर्ता भएको छ ।

उच्च अदालत जनकपुरको राजविराज इजलासमा परमादेशपछि उपप्रमुख मिरा र उनका पति महेन्द्र विरुद्ध आइतबार जिल्ला अदालत सप्तरीमा नागरिकता सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । डाक्नेश्वरी नगरपालिकाका कृष्णकुमार यादवले उपप्रमुख मिरा दम्पत्ति भारतीय नागरिक रहेको र किर्ते कागजात पेश गरी नेपाली नागरिकता लिएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा आवश्यक कारबाहीका लागि उजुरी दिएका थिए । प्रहरीले मुद्दा नचलाएपछि उनी मुद्दा दर्ताको माग गर्दै उच्च अदालत जनकपुरको राजविराज इजलास समक्ष उच्च अदालतबाट परमादेशका लागि गएका थिए ।

उच्च अदालतको राजविराज इजलासले मुद्दा दर्ता गर्न परमादेशको आदेश जारी गरेपछि उनीहरु विरुद्ध नागरिकता कसूरमा मुद्दा दर्ता गरिएको छ । ‘आइतबार मुद्दा दर्ता भएको छ, केही प्रमाण जुटाइसकेपछि पक्राउ पुर्जीको प्रक्रिया अघि बढाउने प्रहरीको भनाइ छ,’ निवेदक कृष्णकुमार यादवले भने । उपप्रमुख मिरा र उनका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको निर्मली थाना अन्तर्गत मझारी ग्रामका बासिन्दा रहेको र किर्ते कागजात पेश गरी नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा यादवले कारबाहीको माग गरेका थिए । सप्तरीको साविक औरही गाविस वडा नम्बर–३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाणपत्र लिएको आरोप उपप्रमुख मिरा दम्पतिमाथि छ ।

Comment


Related News

Latest News

Trending News