अपडेट 
२०८० असार १९, मंगलवार ०७:५५

सर्लाहीको हरिवनमा विद्यालयको गेट भत्किदा एक बालकको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

सोमबार बिहान हरिवन नगरपालिका–९ नयाँ रोडमा रहेको ज्ञान ज्योति आवासीय इङ्लिस बोर्डिङ स्कूलको गेट भत्किँदा च्यापिएर सोही विद्यालयमा अध्ययन गर्ने बागमती–४ जिरायतका आकाश बलका ४ वर्षीय छोरा आयुष बलको मृत्यु भएको छ । सोही घटनामा परेर अर्का बालक ७ वर्षीय आदित्य पनि गम्भीर घाइते भएका छन् । बिहान विद्यालय पुगेका उनीहरू गेटबाट भित्र जाँदै गर्दा स्कुलको फलामे गेट लडेको थियो । सोही क्रममा दुवै जनालाई फलामे गेटले किचेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । घटना लगतै उपचारको लागि दुवै जनालाई नमुना अस्पताल हरिवन पु¥याएको थियो । सोही क्रममा ४ वर्षीय आयुषको उपचारको क्रममा मृत्यु भएको छ । अर्का घाइते बालकको वीरगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

यसैबीच,बालकको मृत्यु भएपछि आफन्त एवं स्थानीय बासिन्दाले महेन्द्र राजमार्गमा चक्काजाम गरेका छन् । सोमबार दिउँसो साँढे ४ बजेदेखि हरिवन नगरपालिका–९ नयाँ रोड स्थित महेन्द्र राजमार्गमा टायर बालेर मृतक बालकका आफन्त एवं स्थानीय बासिन्दाले अवरोध गरेका छन् । पीडित परिवार एवं आफन्तजनलाई सम्झाइ बुझाइ राजमार्गको अवरोध हटाउने प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । पीडित परिवार एवं आफन्तले विद्यालय सञ्चालकको लापरबाहीले आफ्नो बालकको मृत्यु भएको भन्दै दोषीमाथि कारबाही तथा उचित क्षतिपूर्तिको माग राख्दै महेन्द्र राजमार्गमा चक्काजाम गरेको छ । हरिवनको नमुना अस्पतालमा रहेको मृतक बालकको शव समेत परिवारजनले नबुझेको तथा विद्यालयमासमेत सामान्य तोडफोड भएको स्थानीयले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News