
कमलेश ठाकुर
धनुषाको मिथिला नगरपालिका– ७ का राहुल कुमार यादव स्नातकमा अध्ययनरत विद्यार्थी हुन् । उनी पढाइसंगै जागिर तथा व्यवासय गर्न चाहन्छन् । तर नागरिकता अभावमा उनले दुबै काम गर्न हिच्कीचाइ रहेका छन् । नागरिकता नहुँदा दुबै काम सफल हुन नसक्ने उनको चिन्ता छ । यही असार ७ गते सर्वोच्च अदालतले नागरिकता ऐन २०६३ को संशोधन विधेयकमाथि परेको रिटमा यसअघि दिएको आदेशलाई निरन्तरता नदिने आदेश दिएको थियो । यी खबर सुनेर राहुलका परिवारजन खुशी भएलगत्तै उनले चिनेजानेकासँग नागरिकता प्राप्त गर्ने विधि र कागजात बारे जानकारी लिए । त्यही दिन अनलाइनमार्फत जिल्ला प्रशासन कार्यालय धनुषाबाट उनले टोकन पनि लिए । यही असार १० गते उनलाई टोकनमार्फत समय दिइएको थियो । उनी आफ्नो बुवालाई लिएर सबै कागजातसहित दिइएको मितिमा कार्यालय पुगे । तर, काम हुन सकेनन् ।
उनी जिल्ला प्रशासन कार्यालय धाउन थालेको एक साता वितिसक्यो । उनले अनलाइनमार्फत लिएको टोकनको म्यादसमेत नाघिसक्यो । तर, उनको काम भने अझै हुन सकेको छैन् । हुने/नहुने कुनै टुङ्गो पनि छैन् । कारण, २०६३ माघमा खटिएको नागरिकता टोलीले उनको आमा सरिता देवी यादव र बुवा ठकाइ प्रसाद यादवको नागरिकतामा गल्ती गरिदिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल बताउँछन् । उनका अनुसार राहुलको आमाबुबाको नागरिकता संशोधन गरेर मात्रै उनले नागरिकता पाउने छन् ।‘केही कारणले नागरिकताको किसिममा गल्ती देखिएको छ । त्यतिबेला नै उनको आमाबुवा वंशज नागरिकता पाउनुपर्ने थियो,’सिडिओ दाहालले भने,‘नागरिकताको किसिममा गल्ती देखिएको छ । त्यसलाई संशोधन गर्नुपर्छ ।’ ०६३ मा खटिएको नागरिकता टोलीका अधिकारी धुव्र प्रसाद गजुरेलले ०६३ माघ ८ गते जारी गरेको नागरिकतामा उनको आमा र बुवा दुबैलाई जन्मसिद्ध नागरिकता दिएका थिए । उनको हजुरबुवा जयविर यादवको जन्मसिद्ध हुँदा हुँदै उनको बुवा ठकाइ यादवलाई पनि जन्मसिद्ध नै नागरिकता दिएको देखिन्छ । उनको आमा सरिता यादवको माइती पक्ष वंशज भए पनि टोलीले उनलाई जन्मसिद्धनै दिए । ‘कर्मचारीले त्यतिबेला मेरो आमाबुबालाई वंशज नागरिकता दिनुपर्ने थियो, दिएनन,’उनले भने,‘अहिले बिना कारण मेरो रोकेर राखेको छ । कर्मचारीकै गल्तीको कारण १७ वर्षदेखि म अनागरिक भएर बसेको छु,केही गर्न पाएको छैन् ।’ अहिले पुनः धनुषाको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले उनलाई आमाबुवाको नागरिकताको किसिम संशोधन गरी वंशज बनाउनुपर्ने बताउँदै आएका छन् । तर त्यसको लागि गृह मन्त्रालयमा जिल्ला प्रशासन कार्यालय धनुषाले राय मागेको छ । जवाफ आइ नसकेको हुनाले दिने/नदिने वा के गर्ने विषयमा निर्णय लिन नसकेको दाहालले बताए ।
प्रजिअ दाहालले धनुषामा हालसम्म एक सय बढी यस्तो समस्या भएको फाइल आएको बताए । सोही कारण सबै फाइल कार्यालयमा राखिएको छ । गृह मन्त्रालयलाई राय पठाइएको छ । उताबाट जवाफ नआएसम्म दिन नमिल्ने उनको भनाइ छ ।
साक्षरको गल्ती, निरक्षरलाई सजाय
लक्ष्मीनियाँ गाउँपालिका ४ का रामसहाय दासको आमा सिकिलिया देवी र बुवा रामप्रवेश दास निरक्षर छन् । रामप्रवेशको बुवाआमा जन्मसिद्ध नागरिक छन् । तर ०६३ कै टोलीमा सिकिलिया देवी र रामप्रवेशले पनि जन्मसिद्ध नागरिककै आधारमा नागरिकता पाए । ‘हामीलाई थाहा नै थिएनन् । बस नागरिकता भए पुग्छ भन्ने लागथ्यो । जन्मसिद्ध नागरिकको सन्तानले नागरिकता पाउन यस्तो झमेला हुन्छ ? कहाँ थाह थियो,’रामप्रवेशले भने,‘तर कर्मचारीले गरेको गल्तीको सजाय हामीले पाइरहेका छौं । यो अन्याय हो ।’ नागरिकता नहुँदा रामसहाय दास ऋणमा डुबेको दाबी गर्छन् । नागरिकता भएपछि व्यापार व्यवसाय वा पासपोर्ट बनाएर विदेश गएर ऋण तिर्ने उनको योजना थियो । आमाबुवा निरक्षर भए पनि नागरिकता बनाउने साक्षर कर्मचारीको गल्तीले अनागरिक बन्नु परेको उनको बिलौना छ ।
राहुल र रामसहाय यस्ता समस्याका प्रतिनिधिमूलक पात्र छन् । उनी जस्तै दैनिक युवाहरु पढाइ र काम छोडर कार्यालय जान्छन् । तर, रितै हात फर्कन्छन । अधिवक्ता रिंकु कुमारी यादवले जन्मसिद्धको सन्तानले टोलीमा वंशज नागरिकता नै पाउने पर्ने दावी गर्छन् । ०६३ को टोलीमा व्यापक त्रुटि भएको उनको ठहर छ । ‘नागरिकमा जनचेतना अभाव र हतारहतार लिनुपर्ने मनसाय देखिन्थ्यो,’उनले भने,‘त्यतिबेलाको कर्मचारीहरुमा पनि अनुशिक्षण अभाव थियो । अहिले त्रुटिहरु बाहिर आउँदा त्यो कुरा पुष्टि हुन थालेको छ ।’ वंशज नागरिकको एक जनालाई जन्मसिद्ध दिएको घटना उनले सुनाए । तीन वर्षअघि उक्त व्यक्तिलाई अदालतबाट वंशज नागरिकता दिइएको उनले बताए ।
नियामावली अभाव
मिथिला नगरपालिका वडा नम्बर ४ का मनोज कुमार यादवको बुवा महेन्द्र यादवको मृत्यु भइसकेको छ । ०५७ असोज १५ गते नागरिकता नहुँदै उनको निधन भएको थियो । नागरिकता टोलीले ०६३ सालमा उनको आमा राजकुमारी यादवलाई जन्मको आधारमा नागरिकता दिएको थियो । तर, उनको सन्तान मनोजलाई अहिले नियामावली नआएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले तत्काल नागरिकता नदिने भन्दै आएका छन् ।
यस विषयमा धनुषा प्रमुख जिल्ला अधिकारी दाहालले गृह मन्त्रालयले नियामावली नबनाएको हुनाले दिन नसकिएको बताए । ‘यसमा केही समस्या छैन् । मन्त्रालयले आमाको नामबाट नागरिकता दिने नियामावली नबनाएको हुनाले हामीले आमाको नामबाट नागरिकता वितरण सुरु गरेका छैनौं,’उनले भने,‘नियामावली बनाएपछि आमाको नामबाट पनि नागरिकता दिन्छौं ।’