अपडेट 
२०८० असार १९, मंगलवार ०८:०१

लामो समयदेखि रौतहटको विभिन्न स्थानबाट विद्युत् ट्रान्सफर्मर चोरी गर्न सक्रिय रहेको एउटा गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । जिल्लाको विभिन्न खुला एकान्त स्थानमा जडान रहेको विद्युत् ट्रान्सफर्मर अनेक उपकरणको सहयोगले लगातार चोरी गर्ने गिरोहका ४ जनालाई अनुसन्धानको आधारमा इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका ६ पोठीयाहिका ४२ वर्षीय अशोक साह, कटहरीया १ भासेढवाका ४६ वर्षीय रामलाल महतो, सोही ठाउँका ३६ वर्षीय का वीरेन्द्र राय यादव, ३७ वर्षीय सुखल महतो रहेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर अरविन्द कुमार साहले बताएका छन् । उनीहरूको साथबाट प्रहरीले एक थान मोटरसाइकल, एक थान स्कुटी, एक थान आइफोन,र ३ थान अन्य कम्पनीको मोबाइल बरामद गरेको छ। आरोपिहरूको बयानको आधारमा प्रहरीले गरुडा नगरपालिका ४ का लक्ष्मीप्रसाद चौधरीले आफ्नै घरमा सञ्चालन गरेको कवाडी पसलमा प्रहरीले छापा मारेको थियो । त्यसक्रममा विद्युत् ट्रान्सफर्मरमा प्रयोग हुने तामाको तारलगायतको सामग्री ठूलो मात्रामा बरामद गरेको छ । तामाको तारको चुडी १५ थान (१७६) किलोग्राम, तामाको कवायल रोल १५ थान (१२९) किलोग्राम, खुला तामाको तार ७१ किलोग्राम बरामद भएको इन्स्पेक्टर साहले बताए । कवाड पसल सञ्चालक चौधरी भने फरार रहेका उनले जानकारी दिएका छन् ।

पक्राउ परेका चारैजना माथि चोरी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत रौतहटबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाले जनाएको छ । पछिल्लो दुई वर्षदेखि रौतहटमा यस्ता चोरको गिरोह सक्रिय भएर दर्जनौँ स्थानबाट विद्युत् ट्रान्सफर्मर चोरी गरिसकेका छन् । पक्राउ परे पनि सामान्य चोरी मुद्दा चलाउँदा कैयौँ आरोपि अदालतबाट धरौटीमै छुट्ने हुँदा ट्रान्सफर्मर चोरी नियन्त्रण हुन नसकेको प्रहरीको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News