
निर्वाचनका बेला गरिएको सार्वजनिक प्रतिबद्धता पुरा गर्दै सोमबार रुपनी गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ ।
निर्वाचनका बेला रुपनी गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका बनाउने, किसानको बिद्युत महसुल, निःशुल्क गर्ने, स्वास्थ्य प्रयोगशालाको संचालन लगायत जनहीतका धेरै समस्या समाधान गर्ने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवार बनेका दिनेश कुमार यादवले प्रतिबद्धता गरेका थिए । निर्वाचित भएपछि प्राथमिकताको आधारमा क्रमिक रुपमा प्रतिबद्धता पुरा गर्दै गएका अध्यक्ष यादवले सोमबार एकै दिन गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा मात्र गरेनन् । जनस्वास्थ्य प्रयोगशलाको शुभारम्भ तथा किसानले खेतीपातीका लागि प्रयोग गरेको बिद्युत महसुलको पनि हालसम्मको एकमुष्ट रकम पालिकाको तर्फबाट विद्युत प्राधिकरणलाई बुझाएका छन् ।
गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहले गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरे । पालिकालाई पूर्णखोप सुनिश्चित बनाउन स्वास्थ्यकर्मीदेखी कर्मचारी महिनौ दिन गाउँको वडा वडामा खटेको अध्यक्ष यादवले बताए । पूर्णखोप सुनिश्चित गर्न १२ महिनादेखी २३ महिनासम्मका सम्पूर्ण बालबालिकालाई खोपको पूरा मात्रा लगाइएको प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादवले बताए । स्थानिय स्वास्थ्य केन्द्र र खोप क्लिनिक मार्फत बालबालिकालाई खोप लगाइएको उनको भनाई छ । बालबालिकालाई नियमित खोप लगाउने कार्य भइरहेको घोषणा सभामा अधिृकत जामुन कुमार दासले जानकारी गराए ।
घोषणासभामा मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्रा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव लगायतले सम्बोधन गर्दै पालिकाको अभियानको प्रशंसा गरे ।