
मकवानपुर प्रहरीले १ सय ९० किलो गाँजासहित १२ जना पक्राउ गरेको छ । प्रहरीले १४४ किलो लागुऔषध गाँजासहित ६ जना र अरु ४७ किलो लागुऔषध गाँजासहित थप ६ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले सवारी जाँचको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट १९० किलो गाँजासहित त्यसमा संलग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
चितवनबाट वीरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश-०१-०२५ च ३३८४ नम्बरको कार र प्र २-०३-००७ प ४७५४ नम्बरको मोटरसाइकललाई शंका लागि सुरक्षा जाँच गर्दा रातोमाटे चेकपोष्टमा ४७ किलो लागूऔषध गाँजा फेला परेको हो ।
पक्राउ पर्नेमा कारमा सवार पर्सा जिल्ला वीरगंज महानगरपालिका-१४ का ४२ वर्षीय कन्हैयालाल महतो, २६ वर्षीय बिनोद मण्डल, बीरगंज–१८ का २० वर्षीया दुसमेना खातुन र २१ वर्षीया पुजा कुमारी मण्डल र मोटरसाइकलमा सवार पर्सा जिल्लाको पटेरवा सुगौली गाउँपालिका–४ का २५ वर्षीय विनय चौधरी र पर्सा जिल्लाको बीरगंज महानगरपालिका-१४ का ३९ वर्षीय विनोद पासवान रहेको प्रहरीले जनाकारी दिएको छ ।