अपडेट 
२०८० असार २०, बुधबार ०८:१०

मिथिला चित्रकलामा प्रतीकहरूको प्रयोगले मिथिलाको सम्पूर्ण सांस्कृतिक जीवन परिलक्षित भएको पाइन्छ । मैथिलहरूले हजारौं वर्ष पहिलेबाट उत्सवका लागि चित्रकलालाई विकसित पारेको देखिन्छ । चित्रहरू तान्त्रिक प्रतीकहरूले परिपूर्ण रही जीवनको तान्त्रिक विचारधाराको प्रतिनिधित्व गरिरहेका छन् । कोहवर , अरिपन र पौराणिक कथामा आधारित दृश्य मिथिला चित्रकलामा जनप्रिय रहेका छन् । कोहवरमा वासनात्मक मुद्रा , अरिपनमा शास्त्रोक्त क्रिया पद्धति एवं घरेलु धार्मिक उत्सवहरूका लागि पवित्र ठाउँको प्रतिनिधित्व पनि गरिरहेको छ ।

चित्रहरू पुरातन शैलीको भए तापनि स्पष्टरूपले भाव र प्रतीकमा श्रेष्ठ छन् । चित्रमा मुख सधैं पाश्र्व दृश्यमा हुन्छन् भने आँखा अगाडिबाट देखिने हुन्छन् । खुट्टाहरू तिर्यक , लामा चुच्चे नाक र ठूला आँखा भएका अनुहारले मंगोलियन प्रभाव निर्मित नदेखाइ आर्य सन्ततिको बोध गराउनु यसको उत्कृष्टता मानिन्छ । आज–भोलि पनि मिथिलाका नारीहरू कुनै धार्मिक काम र उत्सवमा आफ्ना घर , भित्ता एवं आँगन चित्रहरू बनाउँछन् ,बनाइएका चित्रहरू प्राचीन र मध्यकालीन चित्रहरूको जस्तै साधारण हुन्छन् तथा तत्कालीन समयको मिथिलाको पुरातन परम्परालाई जीवित रूपमा देखाउँछन् । मूल रूपमा यो कला नारी वर्गसँग सम्बद्ध छ । यो आश्चर्य तर सत्य हो कि पुरूष वर्गले अपवाद रूपमा नै कला साधनामा भाग लिएका छन् । मिथिलाको संस्कृति लोकवैदिक संस्कृति हो । यसको कला परम्परा लोक वैदिक संस्कृतिकै उपज हो , चित्रकला पुस्ताले अर्जित गरेको सम्पत्ति हो र युगानुरूप नयाँ आयाम थपिदै गएका छन् । विषय– वस्तु , रङ्गमा परिवत्र्तन आए पनि मौलिक संस्कार र प्रवृत्ति अझ पनि त्यसै रूपमा सुरक्षित छ ।

यस कलाको सांस्कृतिक महत्वसहितको इतिहास हर्षवर्धन ( ई. ६०३–६४३ ) को समयमा रचित हर्षचरित र नैषद्ध चरित ग्रन्थहरुमा उल्लेखित ग्रहवर्माको कोहवर भित्ति चित्रमा देवता र कामदेवको चित्र तथा अरिपनहरको चर्चा पाइन्छ । कालिदासको महाकाव्य मेघदूतमा पनि काव्यका चरित्र नायक नवविवाहित यक्षको कोहवर घरको प्रवेश द्वारको भित्तिमा कमल शंखका चित्र बनाएको उल्लेख छ । त्यतिखेर विवाहका लागि वरवधुको वरण गरे अनुसार वरको अनुपस्थितिमा वरको प्रतीक फलक ( काठ÷हातीदांत ) बनाएर पडाउने वा मगाएर हेर्ने र यज्ञ वरको चित्र राखेर विवाह गर्ने प्रचलन रहेको पनि तत्कालीन साहित्यमा चर्चा भएको पाइन्छ ।यस कलाको प्रशंसात्मक चर्चा चौधौं शताब्दीका विद्वान त्योतिरीश्वरले पनि वर्ण रत्नाकर नामक पुस्तकमा गरेका छन् तर यसको परम्परालाई हेर्ने हो भने, अझ प्राचीन कालको हिन्दु सभ्यता र संस्कृतिको स्वर्णिम युगको इतिहासका पानालाई पल्टाउनु पर्ला जस्तो लाग्छ । यसमा सेतो रंग अर्बा चामलको पीठो , सिन्दुरी रंग सिन्दूर र बाख्रीको दूधको मिश्रण , नीलो रंग वनस्पति नील , रातो रंग कुसुम फूल , पीत रंग डोका , घोंघाबाट चूनामा वरगदको दूध मिश्रण , हरियो रंग सीमी वा बेलको पात र कालो रंग जौ का खरानी र गाईको गोबर वा बेलको गुंदको मिश्रणको चलन रहेकोमा वर्तमानमा रसायनिक रंगले प्रश्रय पाएको छ । प्राकृतिक रंगहरुमा स्थायीत्व हुन्छ भने रसायनिक रंगमा स्थायीत्वको अभाव देखिएको छ ।

प्राकृतिक रंगहरु घरैमा बनाउने चलन थियो । यसका विषयवस्तुहरूमा मुख्यतयाः लौकिक , पारलौकिक र प्रतीकात्मक पक्षहरूलाई समेटिएको पाइन्छ । लौकिक विषयवस्तु अन्तर्गत धार्मिक ,सांस्कृतिक र काल्पनिक विषयवस्तुमा प्राकृतिक दृश्यहरू नदी , पहाड , बगैंचा , लहरा , कदम , कटहर , चरा , माङ्गलिक वस्तुहरूको साथै सजावटका विभिन्न चित्रहरू र पारलौकिकमा देवीदेवताका सुन्दर चित्रहरू पर्दछन् । प्रस्तुत शिव , विष्णु , लक्ष्मी ,सरस्वती , रामसीता , राधाकृष्णका चित्रमा मानवीय भाव , स्नेह एवं ममताको प्रतीकात्मक अभिव्यक्तिको बोध गराउँछ । त्यस्तै प्रतीकात्मक विषय अन्तर्गत विभिन्न वनस्पति, प्राणीलगायत चराचुरूङ्गीको बाहुल्यता पाइन्छ । धार्मिक अनुष्ठान र लोकाचारमा आधारित यो कला जीवनको अभिन्न अङ्ग हो । यस कलामा समान्यतः सात किसिमको रङ्गको प्रयोग देखिन्छ । प्राकृतिक र घरेलु उपकरणबाट तयार गरिएको रङ्गले भिन्दा भिन्दै वस्तुहरूको भावलाई उजिल्याउने गरेको छ जो पुस्तौं पुस्तादेखि आमसमुदायमा स्थापित हँुदै आएको छ । त्यसकारण पूजाआजा ,चाडपर्व अन्य संस्कारहरू उपनयन , विवाह जस्ता अवसरमा कुन– कुन प्रतीकको प्रयोग गर्नेबारे एउटा परम्परा नै बसेको पाइन्छ । मिथिला चित्रकलामा लौकिक अन्तर्गत जीवन र प्रकृतिलाई आधार बनाइ वस्तुसत्तात्मक र धारणात्मक प्रतीक परिलक्षित हुने गरेको छ । मिथिला चित्रकलामा प्रतीक संयोजन अत्यन्त कलात्मक रूपमा गरिएको पाइन्छ ।

कलामा संयोजन गरिएका हात्तीलाई शुभ , वैभव र नारी जातिको प्रतीकका रूपमा मानिएको छ भने घोडालाई सूर्य, बल र पुरूष जाति, गाईलाई पवित्रता र मातृत्वका प्रतीक मानिएको छ ।त्यस्तै सुगालाई गुरू र मित्रता , माछालाई उत्पादनशक्ति र नारी जातिको प्रतीक मानिएको पाइन्छ । अन्य जीवजन्तुमा कछुवालाई विष्णु भगवान , पुरुष वर्ग र दीर्घायु , हाँसलाई सौन्दर्य तथा संसारका कठिनाई पार गर्दै जाने र ज्ञानका प्रतीक मानिएको छ भने युगल जोडी हाँसलाई प्रणय र सुखद् दाम्पत्य जीवनको संकेतका रूपमा लिइएको छ । मिथिला चित्रकलामा मयुरलाई नृत्य ,सौन्दर्य एवं प्रेमको निवेदक र अनारलाई सौन्दर्यको प्रतीक मानिन्छ । त्यस्तै कदमको फूललाई प्रेमको र कमल फूललाई कोमलता , अनुराग , सौन्दर्य, नारीको शरीरका साथै लक्ष्मीको संकेत प्रदान गरी वैभवलाई औल्याएको हुन्छ । त्यस्तै बाँसलाई वंश वृद्धि र पुरूष जातिको प्रतीकका रूपमा मानी चित्रहरूमा अङ्कित गरिएको पाइन्छ । सरसता , समरसता एवं संवेदनशीलतासहितको यो प्रतीकात्मक परम्परा मैथिल संस्कृतिको एउटा यस्तो शिल्प हो जो मैथिलहरूको जीवनशैलीमा यसको दखल नङ– मासुजस्तो देखिन्छ । चित्र तथा मूर्ति बनाइएको घर शून्य हुँदैन भन्ने प्रचीन मान्यताका आधारमा चित्रका अलङ्कारिक अंशका गुणग्राहक तत्वलाई महत्व दिएर त्यसलाई आफ्नो संस्कृतिको आत्माका रूपमा चिरस्थायी बनाएको पाइन्छ । मैथिल संस्कृतिमा विवाहको चतुर्थीको विधि नहुन्जेलसम्मको भित्ते चित्र पनि रङ्गाउने गरिन्छ । यसमा केटाकेटी र घोडाको चित्रद्वारा प्रतीकात्मक रूपमा यौन शिक्षा प्रदान गर्ने जमर्को गरिएको हुन्छ ।

मिथिला लोक चित्रकलाले वंशगत शिल्पगत तथ्य अन्तर्गत संसार स्वर्गीय र मानवीय कुराको गठ बन्धन जस्तो हो भन्ने भावभूमिमा प्रतीकात्मतालाई आत्मसात गर्दे समाजलाई एक सूत्रमा आबद्ध गर्ने द्योतकसमेत मानिएको छ । मैथिल महिला जुन हातले चित्र बनाउँछन् तिनीहरू तिनै हातले भित्तामा उस्तै कलाकृतिको पनि सिर्जना गर्दछन् । तिनै हातले सिकी ,मोथी ,मुञ्ज आदिका अनेक शिल्पी सामग्री पनि रङ् गीन चित्रावली समान रचना गर्दछन् । ती कलाहरूमा जीवन ,प्रकृति र कल्पनालाई विषय वस्तुगत रूपमा संयोजित गर्दा कसै कसैले प्रकृतिको निरीक्षण गर्ने चेष्टा गरेका हुन्छन् भने कसैले जीवनको गतिशीलता र कसैले काल्पनिक भावनालाई गीतात्मक रूपमा संप्रेषण गर्न खोजेको पाइन्छ ।मिथिला चित्रकलामा जानेर–नजानेर धार्मिक आस्थाका आधारमा वैज्ञानिक तथ्य पनि पर्याप्त छन् । देवीदेवता , सूर्य ,चन्द्र ,तारा , नवग्रह , पृथ्वी, सर्प, जलाशय ,माछा, विच्छी आदिको धार्मिक महत्वसँगै वातावरण सँगसमेत सम्बन्धित छ । तिनीहरूको चित्र बनाएर पूजा गर्नु धार्मिक मान्यता अनुसार डरबाट मुक्ति र सुरक्षित रहनु पनि मानिन्छ । भित्ती र भूमिबाट कागत र कपडामा नियमित प्रयोजनमा सीमित मिथिला चित्रकला विश्वका सामुने कला पारखी र प्रेमीलाई आनन्द दिन पनि सफल तथा लोकप्रिय भएको छ ।

मिथिला चित्रकलाले विदेशी कलाप्रेमीका पर्व र समारोहमा शुभकामना आदान प्रदान गरी जित्न सफल भएको पनि देखिन्छ ।मिथिला चित्रकला समाजको जीवन दर्शनको प्रतीक भएकाले यसलाई पाठ्यक्रममा राखी जीवन्त राख्नु पर्दछ ।

Comment


Related News

Latest News

Trending News