अपडेट 
२०८० असार २०, बुधबार ०८:१९

झण्डै डेढ वर्षदेखि नेपाल रेल बीमा बिना नै संचालनमा रहेको छ । नेपाल सरकारले रेलको लागि चाहिने आवश्यक बजेट उपलब्ध नगराउँदा रेल बीमा बिना नै जयनगर कुर्था संचालन हँुदै आएको छ । गत ०७८ चैत १२ गते देखि रेल नियमित रुपमा संचालनमा रहेको छ । भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलो मिटर दूरीमा दैनिक दुई पटक सचालन हुँदै आएको दुई वटा रेलको बीमा बजेट अभाव हुन नसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । एक पटकमा हजारभन्दा बढी यात्रु लिएर रेल गुडिरहेको छ ।

दुवै रेलको बीमाको लागि चालु आर्थिक वर्षमा १५ लाख र गत आर्थिक वर्षमा ३० लाख रकम विनियोजन गरिएको थियो । जब कि एउटै बोगी सहितको रेलको बीमा गर्नलाई ९० लाख रुपैयाँ चाहिन्छ । यस हिसाबले दुबै रेलको बीमाका लागि १ करोड ८० लाख रुपैयाँ खर्च हुन्छ । इन्सुरेन्सको लागि गत आर्थिक वर्षमा ३० लाख रकम विनियोजन गरिएको थियो, नेपाल रेल्वे कम्पनीका इन्जिनियर रवीन्द्र साहले भने,‘ रकम अपुग भएपछि इन्सुरेन्स गराउन सकिएन ।

चालु आर्थिक वर्षमा पनि बीमाको लागि १५ लाख मात्रै रकम विनियोजन गरिएको छ । हामीले थप बजेट माग गरेका थियौ । तर थप बजेट अहिले सम्म आएन ।’ उनले आगामी आर्थिक वर्षमा बीमाका लागि रकम विनियोजन गर्ने भनेर मन्त्रालयबाट आश्वासन आएको बताए । रेलको बीमा नभए पनि रेल दुघर्टनाग्रस्त हुँदा त्यसमा सवार यात्रुलाई नेपाल रेलको ऐन अनुसार मृतकका परिवारजनले ७ लाख क्षतिपूर्ति वापत पाउने व्यवस्था रहेको उनले बताए । तर रेलमा कुनै प्रकारको समस्या भएको खण्डमा अनावश्यक खर्चको भार पर्ने उनले बताए । गत पुसमा वैदेही स्टेशनमा नेपाली रेलमै किचिएर यात्रु मृत्यु भएको थियो । रेल खुल्न लागेपछि उनी टिकट नै नलिइ रेलमा चढ्ने क्रममा रेलबाट लड्दा किचिएर धनुषा नगराइन नगरपालिकाका ३५ वर्षीय पूर्ण सदाको मुत्यु भएको थियो । उक्त घटनाको छानबिनको लागि नेपाल रेल्वे कम्पनीद्वारा छानबिन तथा मृतक परिवारलाई क्षतिपूर्तिको लागि छानबिन समिति गठन गरिएको थियो । तर छानबिन समितिले मृतकको टिकट नलिइ रेलमा चढेको भन्दै मृतक परिवारलाई क्षतिपूर्ति दिएन ।

दैनिक हजारभन्दा बढी यात्रु रेल मार्फत ओहोरदोहर गरे पनि रेलको बीमा नगराउँदा यात्रुहरु पनि असुरक्षित रहेका छन् । करोडौँ घाटामा रहेको नेपाली रेलमा भविष्यमा कुनै प्रकारको मानवीय घटना भएको खण्डमा पीडित परिवारलाई कसरी क्षतिपूर्ति दिन्छ भनेर सर्वसाधारणले चिन्ता व्यक्त गर्ने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News