अपडेट 
२०८० असार २०, बुधबार १४:३६

बाढी पहिरोका कारण तीन वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । सडक विभागका अनुसार १३ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।

विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् ।

मेची राजमार्ग अन्तर्गतको केचना–चन्द्रगढी, चारआली, इलाम, फिदिम, गणेशचोक, ताप्लेजुङ, ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको छ ।

यस्तै तमोर करिडोर अन्तर्गत चतरा–मूलघाट, माझीटार, अमरापुरडाँडा, गणेश चोकखण्ड पनि अवरुद्ध छ ।

कोशी राजमार्ग अन्तर्गत रानी–विराटनगर, इटहरी, धरान, धनकुटा, हिले, लेघुवाघाट, तुम्लिङटार, खाँदबारी, नुम–किमाथांका सडकखण्ड पनि अवरुद्ध रहेको छ ।

एकतर्फी सञ्चालनमा रहेका सडकमा पाल्पाको तानसेन–रिडी, कोरला र डुम्रे–बेशीसहर, चामे सडकखण्ड, सिद्धार्थ राजमार्गको बेलहिया, भैरहवा–बुटवल, वर्तुङ, राम्दी, स्याङ्जा, पोखरा खण्ड, म्याग्दीको नौनीबगर गुईथे र काभ्रे, लमजुङ खरखरे भीर, संखुवासभाको मुडे र दोभान, पाल्पाको हिउँदे खोला र ढुङ्गाखानी, दैलेखको दहिखोलालगायत रहेका छन् । बन्द सडक खुलाउने प्रयास भैरहेको पनि विभागले जनाएको छ ।

यसैबीच काठमाण्डौ जोड्ने मुख्य लाइफलाइनका रुपमा रहेको मुग्लिन–नारायणगढ सडकमा अहिले नियमित रुपमा गाडी चलिरहेका छन् ।

अस्तिदेखि यो सडकमा पहिरो खसेको छैन । तर, पहिरोको जोखिम कायमै रहेकाले यात्रा सडकको अवस्था बारे बुझ्न र सावधानी अपनाउन सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।

 

Comment


Related News

Latest News

Trending News