अपडेट 
२०८० असार २१, बिहीबार ०६:४५

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका लेखापाललाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारको टोलीले बुधबार लेखापाल रोशन कुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई १ लाख २५ हजार घुससहित पक्राउ गरेको छ । उनीहरुले सेवाग्रहीसँग एक लाख २५ हजार रुपैँया घुस लिँदै गर्दा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले जनाएकोछ । कोभिड १९ सम्बन्धी जनचेतनामूलक कार्यक्रमको भुक्तानी प्रयोजनका लागि लेखापाल राउत र कार्यलय सहयोगी यादवले घुस रकम माग गरेको आरोप छ । सम्सी गाउँपालिकाको वडा नम्बर ५ मा सञ्चालन भएको कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रमको भुक्तानी वापत उनीहरुले घुस रकम मागेको अख्तियारको विज्ञप्तिमा उल्लेख गरिएको छ । लेखापाल राउतले घुस मागेको आरोपसहित काम गरेका संस्थाले अख्तियारमा लिखित उजुरी दिएका थिए । यस विषयमा अख्तियारले थप अनुसन्धान गरिरहेको जनाएकोछ । चालु आर्थिक वर्षको भुक्तानी गर्ने अन्तिम ४ दिन बाँकी रहँदा लेखापाल पक्राउ परेपछि सम्सी गाउँपालिकाको सम्पूर्ण आर्थिक कारोबार अवरुद्ध भएको छ ।उपभोक्ता र ठेकेदारहरुको रकम भुक्तानीमा समेत व्यवधान उत्पन्न भएको छ ।अख्तियारले कारवाही गरेको कारण अन्य निकायबाट तत्कालै लेखापाल आउने संभावना समेत कमजोर रहेको छ । लेखापाल राउतलाई अख्तियारको टोलीले आफूसाथ नै लगेको बताइएको छ ।

यस्तै, अख्तियारले जिल्ला प्रहरी कार्यालय, जलेश्वर महोत्तरीका लेखापाल प्रहरी नायब निरीक्षक (सई) बिनोद बिष्ट विरुद्ध बुधवार विशेष अदालत काठमाण्डुमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग २ लाख घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटेको टोलीले बिष्टलाई सेवाग्राहीबाट २ लाख लिइसकेको रकम सहित गत बैशाख २१ गते पक्राउ गरेको थियो । विष्टले भवन निर्माणको म्याद थप र भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस रकम त्यतिबेला माग गरेको अन्ुन्धानको क्रममा खुलेको अख्तियारले जनाएको छ । उनले भ्रष्टाचार कार्य गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(घ) मा उल्लिखित कसुर गरेका थिए । विष्ट उपर २ लाख विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(घ) बमोजिम कैद र विगो बमोजिम जरिवानाको माग दाबी लिइ विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । विशेष अदालतमा मुद्दा दायर भएपछि सई बिष्ट निलम्बनमा परेका छन् ।सार्वजनिक पद धारण गरेका व्यक्ति उपर विशेष अदालतमा मुद्दा दायर भएपछि स्वतःनिलम्बन हुने प्रावधान छ ।

Comment


Related News

Latest News

Trending News