अपडेट 
२०८० असार २१, बिहीबार ०७:३९

किर्ते कागजात पेश गरी नेपाली नागरिकता लिएको आरोपमा अदालतबाट पक्राउपुर्जी जारी भएपछि सप्तरीको डाक्नेश्वरी नगरपालिका उपप्रमुख मीरा यादव पक्राउ परेकी छन् ।

उनलाई नागरिकतासम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए । सोही मुद्दाका प्रतिवादी उपप्रमुखका पति महेन्द्र यादव भने अझै फरार छन् । डाक्नेश्वरी नगरपालिकाका कृष्णकुमार यादवले उपप्रमुख मीरा दम्पति भारतीय नागरिक रहेको र किर्ते कागजात पेश गरी नेपाली नागरिकता लिएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा आवश्यक कारबाहीका लागि उजुरी दिएका थिए । प्रहरीले मुद्दा नचलाएपछि उनी मुद्दा दर्ताको माग गर्दै उच्च अदालत जनकपुरको राजविराज इजलासमा पुगेका थिए ।

उच्च अदालतको राजविराज इजलासले मुद्दा दर्ता गर्न आदेश जारी गरेपछि उनीहरूविरुद्ध आइतबार नागरिकता कसुरमा मुद्दा दर्ता गरिएको थियो । उपप्रमुख मीरा र उनका पति महेन्द्र भारतको विहार राज्य अन्तर्गत सुपौल जिल्लाको निर्मली थाना अन्तर्गत मझारी ग्रामका बासिन्दा रहेको र किर्ते कागजात पेश गरी नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा यादवले कारबाहीको माग गरेका थिए । सप्तरीको साविक औरही गाविस वडा नम्बर ३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाणपत्र लिएको आरोप उपप्रमुख मीरा दम्पतीमाथि छ ।

मुद्दा दर्ता भएर पक्राउपुर्जी जारी भएपछि उपप्रमुख मीरा एमालेका केही नेता तथा कार्यकर्तासहित हाजिर हुन जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन । प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

Comment


Related News

Latest News

Trending News