अपडेट 
२०८० असार २१, बिहीबार ०९:४५

प्रदेश सरकारले मधेश प्रदेशमा रहेको १ सय ३६ पालिका मध्ये १ सय ३३ पालिकामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।

मधेश प्रदेशमा बाँकी रहेको पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका, पोखरी तथा सर्लाहीको मलंगवा नगरपालिकामा प्रयोगशाला सञ्चालन गर्ने तयारीमा रहेको र चाडै सञ्चालन गर्ने प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका निर्देशक डा. श्रवण कुमार मिश्रले जानकारी दिए । प्रयोगशालाका लागि जग्गा सहितको भवन सम्बन्धित पालिकाले प्रदान गर्ने गरेको छ भने प्रयोगशालाको लागि दुई जना प्रशिक्षित जनशक्ति तथा उपकरणसहितका सञ्चालनका लागि आवश्यक पर्ने अन्य सामानहरू प्रदेश सरकारले उपलब्ध गराउने गरेको निर्देशक डा. मिश्रले बताए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले वायोम्याट्रीक, हेमाटोनोलोजी एनलाईजर, माईक्रोस्कोप, कलोरी मिटर अन्य उपकरण, फ्युज, दराज, फ्रिज र केमिकलसहितको सामाग्रीहरू प्रदान गरेको छ ।

यसैगरी विद्युत् सप्लाई बन्द नहोस् भन्नका लागि यूपियससहितको ब्याट्री, एसीसहितका सामानहरू प्रदान गरिरहेको छ । अब पालिका स्तरमा खोलिएको प्रयोगशालाबाट ४६ प्रकारको परीक्षण हुने भएको छ । हरेक स्वस्थ व्यक्तिले वर्षको एक पटक अनिवार्य रुपमा स्वास्थ्यको परीक्षण गर्न आवश्यक भएको प्रयोगशालाका निर्देशक डा.मिश्रले बताए । रोग लाग्नबाट जोगिन तथा शरीरको अवस्थाका बारेमा समयमा जानकारी पाउनका लागि स्वास्थ्यको परीक्षण गराउन आवश्यक रहेको चिकित्सकहरूले पनि सल्लाह दिने गरेको छ । पालिका स्तरमा नै न्यूनतम शुल्कमा स्वास्थ्यको परीक्षण भएपछि सर्वसाधारणलाई राहत मिल्ने विश्वास प्रदेश सरकारको रहेको छ ।

अब ४६ प्रकारको स्वास्थ्यको परीक्षण पालिकामा नै हुने भएको छ । अहिले मधेश प्रदेश सहित देशमा नै बढेको उच्च रक्तचाप, मधुमेह, हृदय रोग जस्ता नसर्ने रोगका बारेमा समयमा जानकारी पाउन तथा अनिकालमा ज्यान जान नदिनका लागि स्वास्थ्य परीक्षण आवश्यक भएको मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादवले बताए ।त्यस्तै,बुधबारदेखि जनकपुरधाम उपमहानगरपालिकामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ ।

Comment


Related News

Latest News

Trending News