
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी ३ स्थित महुली पुलमा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै एक राउन्ड हवाइ फायर गरेको छ ।
हरेक वर्ष वर्षातमा महुली नदीको बाँध भत्किएर बस्तीमा पस्ने गरेको र यस वर्ष पनि बाँध कटान हुन थाले पनि स्थानीय सरकार लगायत सम्बन्धित निकायले बाँध नियन्त्रणमा चासो नदिएको भन्दै स्थानीय बासिन्दाहरूले प्रदर्शन गर्दै आएका छन् । आक्रोशित स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत पोर्ताहाको महुली पुल नजिकै बुधबार दिउँसो सडक अवरुद्ध बनाएका थिए । सडक खुलाउन गएका प्रहरी र बन्दकर्ताबीच झडप भएको छ । राजमार्ग खुलाउन प्रहरीले लाठीचार्ज गर्नुका साथै हवाई फायर समेत गरेको छ । सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले भने राजमार्ग खुलाउन सामान्य बल प्रयोग गर्नुका साथै सटगनबाट एक राउण्ड हवाई फाइर गरिएको र अहिले राजमार्ग सञ्चालन भएको बताएका छन् ।