
मधेश प्रदेश सभाको बैठक शनिबार बस्ने भएको छ ।
अर्थमन्त्री सञ्जय कुमार यादवले असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गरेपछि स्थगन भएको थियो । प्रदेश सभाका सचिव रञ्जित यादवका अनुसार शनिबार दिउँसो १ बजे बैठक बस्ने भएको छ ।‘ बैठकको एजेण्डा आर्थिक बिधेयक रहेको छ ’ उनले भने, बजेटमाथिको दफावार छलफल र मन्त्रालयगत बिनियोजन शीर्षकमाथि छलफल हुनेछ । प्रदेश सभामा अर्थमन्त्रीले बजेटको पुस्तिका सभासदहरुलाई उपलब्ध गराएपछि बजेट सम्बन्धी छलफल सुरु हुने छ ।
असार मसान्त भित्र बजेट पारित गर्नै पर्ने बाध्यकारी व्यवस्था रहेको छ । प्रदेश सरकारलाई बजेट पारित गर्न समस्या भने छैन् । प्रदेश सभामा सम्मानजनक बहुमत रहेकाले सहज रुपमा नै बजेट पारित हुनेमा सरकार विश्वस्त देखिएको छ । सत्तासीन गठबन्धन दलको दुई तिहाइ भन्दा बढी बहुमत रहेको छ ।तर बजेट पुस्तिका वितरण भएपछि सभासदहरु आक्रोशित हुने सम्भावना पनि व्यापक छ । प्रत्यक्ष निर्वाचित सभासदहरुलाई जनही ३ करोड र समानुपातिक सभासदहरुका लागि जनही १ करोड बजेट विनियोजन भइसकेको छ । तर क्षेत्रगत रुपमा विकासका लागि सभासदहरुले दिएका योजनाहरु बजेटमा समावेश नभएको देखिए सत्तारुढ दलकै सभासदहरु विरोधमा उत्रिने सम्भावना छ । विगतमा पनि सत्तासीन दलका सभासदहरुले नै बजेटको विरोध गरेका थिए ।
सत्तासीन दलका सभासदहरुको विरोधका कारण बजेट पारित गर्न विशेष सहमति हुने गरेको थियो । त्यो यस पटक पनि दोहोरिने सम्भावना छ ।