अपडेट 
२०८० असार २२, शुक्रबार ०६:३०

कमलेश ठाकुर

धनुषा, विदेह नगरपालिका ५ मुडिवाकी चाँदनी पासवान कक्षा ९ मा पढ्दै छिन् । तीनकौरिया स्थित जनता नमुना प्राविधिक मावि गिद्धा बेलापट्टीमा उनी अध्यनरत छन् । पढेर चाँदनी चाँद जस्तै चम्किन चाहन्छिन् । सरकारी जागिर गर्ने उनको ‘लालसा’ छ । तर, उनको ‘ लालसा’ पूरा गर्न जन्मदर्ता बाधक बनिरहेको छ ।

जन्मदर्ता नहुँदा यही असार १५ गतेदेखि उनी विद्यालय जान सकेकी छैनन् । पढ्न जान नपाउदा उनी निरासका साथै भविष्य सम्झेर चिन्तित छिन् । पढ्न नसके पुर्वज जस्तै कष्टकर जीवन हुने उनको बीलौना छ ।‘ पढेर सरकारी जागिर गर्ने रहर छ । तर, रहर पूरा होला जस्तो छैन्,’उनी भावुक हुँदै भनिन्,‘घरको अवस्था पनि दयनीय छ । बुवालाई वास्तै छैन् ।’ जन्मदर्ता लिएर मात्रै विद्यालय आउन विद्यालयका प्रधानाध्यापक पवन मण्डलले भनेको उनले मधुरो स्वरमा सुनाइन् । ‘जन्मदर्ता नभएपछि पढेर के काम ? जन्मदर्ता भएपछि मात्रै विद्यालय आउनु,’उनले प्रधानाध्यापक मण्डलको कुरा उद्धृत गर्दै भनिन्,‘जन्मदर्ता बनाउन जाँदा कागजात मिलेन भन्छन् । वडा सचिवले हुँदैनन् भन्छन् ।’ प्रधानाध्यापक मण्डलले भने शिक्षाबाट बञ्चित नगरिएको बताए । जन्मदर्ता नहुँदा पछि कठिनाइ हुने भएकाले जन्मदर्ता बनाउन सुझाब मात्रै दिएको मण्डल बताउँछन् । अगाडि पढ्नको लागि जन्मदर्ता अनिवार्य रहेको उनको भनाइ छ । तर, अब यसपालि उनको कक्षा ९ मै भर्ना हुने सम्भावना निकै कम रहेको उनले बताए । ‘सरकारले अनलाइन इमिस (विद्यार्थीको लिस्टिङ्ग) फर्म माग्छन् । त्यसमा जन्मदर्ता अनिवार्य चाहिन्छ,’उनले भने,‘यसपालि इमिस नम्बर भर्न १५ गतेसम्म नै शिक्षा विभागले समय दिएको थियो । अहिले बन्द ग¥यो । त्यसकारण यसपालि कक्षा ९ मै पढ्न कठिनाइ हुन सक्छ ।’ अर्को वर्ष हुने नभए यसपालि कक्षा ११ को भर्ना बेला इमिस खुल्दा गर्न सकिने उनले बाटो देखाए ।

बसाइ सराइमा समस्या

चाँदनीको बुवा छठु पासवान र आमा पवन देवी पासवान सर्लाही,लालबन्दीका बासी हुन् । लालबन्दीमा जीवन सहज नभएपछि छठु विदेह नगरपालिका ५ मुडिवा ससुराली गाउँमै बस्न थाले । चाँदनीको जन्म मुडिवामै भएको छ । तर, लामो समयदेखि उनको बुवा आमाले बसाइ सराइ गराएन् । चाँदनी अहिले १४ वर्षकी भइन् । जन्मदर्ता नुहँदा शिक्षाबाट बञ्चित हुने भएपछि उनको बुवा छठु गत बैशाख २४ गते बसाइ सराइ गराए । तर निरक्षर छठुले गराएको बसाइ सराइमा श्रीमती पवन पासवान, जेठी चोरी चाँदनी, आँशु, अल्का र छोरा आशिष पासवानको नाम छैन् । त्यसकारण चाँदनीसहित उनको बहिनी र भाइको जन्मदर्ता बनिरहेको छैन् । चाँदनीको आमा पवन देवी पासवानसँग विवाहदर्ता भए पनि नागरिकता छैन् । बुवा छठु पासवान मजदुरीका लागि अहिले भारत गएका छन् । बसाइ सराइमा कर्मचारीको गल्तीले आफूहरुको नाम छुटेको चाँदनीको आमा पवन देवी पासवान बताउँछिन् । ‘हामी अनपढ छौं । कर्मचारी त पढेको छ, सहि र सबै कुरा लेखिदिनुपथ्र्यो नी,’उनले भनिन्,‘ अव यो सच्याउन जाँदा चाँदनीको बुवा यहाँ छैन् । मलाइ टेरेकै छैन् ।’

वडाध्यक्षलाई वेवारिसे हुने डर

वडाध्यक्ष राधेश्याम गोइतले चाँदनीको जन्मदर्ता बनाउन केही कानुनी जटिलता रहेको बताए । उनका अनुसार बसाइ सराइमा पनि नाम छैन् । आमाको नागरिकता छैन् । बुवा अहिले नेपालमा छैन् । त्यसकारण केही कठिनाइ देखिएको उनले बताए । यद्यपि शिक्षाबाट बञ्चित नहोस् भनेर जन्मदर्ता बनाउन तयार रहेको उनले प्रतिबद्धता जनाए । तर,पछि कठिनाइ हुनसक्ने उनको आकलन छ । ‘म नै सूचकमा बसेर शिक्षाको लागि जन्मदर्ता बनाइ दिन्छु,’उनले भने,‘तर त्यो समयमै सच्याउनुपर्छ । सच्याइएन भने पछि कठिनाइ हुन सक्छ । सँधै त्यो बच्चा वेवारिसे हुने डर छ ।’ जन्मदर्ता नसच्याए नागरिकतामा पनि कठिनाइ हुने उनले बताए । विदेह नगरपालिकाका शिक्षा संयोजक संतोष कुमार यादवले पालिकामा १३ वटा सामुदायिक विद्यालय रहेको बताए । यी विद्यालयहरुमा करीब १२ हजार विद्यार्थी पठनपाठन गरिरहेका छन् । जसमध्ये पच्चास प्रतिशत दलित समुदायकै विद्यार्थी छन् । र, दलित समुदायमै जन्दर्ताको समस्या देखिएको छ । चाँदनीको परिवार प्रतिनिधिमूलक छन् । यस्ता कयौं विद्यार्थी जन्मदर्ता अभावमा शिक्षाबाट बञ्चित भएका छन् । यसको लेखाजोखा नपालिकासँग छ, न अन्य कुनै सरोकारबला निकायसँग । तर, जन्मदर्ता अभावमा शिक्षाबाट बञ्चित भएको घटना निकै कम रहेको शिक्षा संयोजक सन्तोषको दावी छ ।

कानुनी व्यवस्था के छ ?

जन्मदर्ता सम्बन्धी ऐनको दफा १८ र नियमावलीको नियम १६ को उपनियमम अनुसार आमाबुवाको अनुपस्थितिमा पारिवारको १८ वर्ष पुगेको व्यक्ति सूचक बस्न पाउने व्यवस्था गरेको छ । सो नभए प्रचलित कानुन बमोजिमको संरक्षकले त्यस्तो बालबालिकाको जन्मदर्ता बनाउन सक्नेछन् । यी व्यक्ति पनि नभए स्थानीय तहको सम्बन्धित वडाध्यक्षले सूचक बसी दिनुपर्ने व्यवस्था छ । जन्मदर्ता बनाउन सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, अस्पतालबाट जन्मेको प्रतिवेदन र घरमा जन्मेको भए खोप दिएको प्रमाण जस्ता कागजात लिएर जन्मदर्ता बनाउने प्रावधान राखेको छ । यस्तै,विदेशी भएमा राहदानीको प्रतिलिपि, वडामा बसोबास गरेको सिफारिस र बुवाआमाको ठेगान नभए सो सम्बन्धी प्रहरी प्रतिवेदनको आधारमा जन्मदर्ता बनाइ बालबालिकाको पहिचान दिनुपर्ने कानुनी व्यवस्था रहेको छ । सरकारले दिगो विकासको लक्ष्य पूरा गर्न ०२४ सम्म सबै नागरिकलाई जन्मदर्तालगायत कानुनी पहिचान अनिवार्य गरेको छ । सरकारको लक्ष्य पूरा गर्न सरकारसहित केही संस्थाहरुले जन्मदर्ता बनाउन काम गरिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News