
सांस्कृतिक पर्व मधुश्रावणी सुरु भएको छ । तिथिका हिसाबले साउन महिनाको कृष्ण पक्षको मौना पञ्चमीदेखि प्रारम्भ भइ शुक्ल पक्षको तृतीया तिथिका दिन समापन हुने गरेको छ । यस पटक मलमास परेका कारण पर्वको अवधिमा हेरफेर भएको छ । साउन महिना आध्यामिक महिना हुनुका साथै धर्मग्रन्थहरुमा साउन महिनालाई मधुमासको रुपमा स्वीकार गरिएको छ ।
वर्षा ऋतुमा सर्पको आगमन र विचरणले मानव जीवन त्रस्त हुनुका साथै नागनागिन प्रकृतिका प्रतीक हुनुले यो पर्व मुख्यतः शिव पार्वती तथा नागनागिनको पूजामै केन्द्रित रही मनाइने चलन छ ।सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने सुनाउने परम्परा छ । सामान्यतः तेह्र दिनसम्म ( तिथिको गणनामा थपघट हुँदा पर्वको अवधिमा पनि हेरफेर हुने गरेको ) मनाइने भए पनि यस वर्ष मलमासका कारण ४४ दिनसम्म लम्बिन गएको छ । यस पर्वमा मैथिल पुत्री विभिन्न गीत गाउदै श्रीमानले ल्याए वा पठाएको फरिया , घोघट लगाएर सखीहरूसँग फूलवारीमा फूल टिप्दै लोकाचारलाई रागात्मक धरातलमा उभ्याउने गर्छिन् । अवधिका हिसाबले सबैभन्दा लामो समयसम्म अनुष्ठान गरिने यो पर्व वर्षभरिकै ठूलो पर्व हो । पर्व अवधिभर प्रत्येक दिन गौरी तथा नागनागिनको पूजा गरी शिव पार्वती , नागसँग सम्बन्धित कथा सुन्ने सुनाइने गरिन्छ । यस क्रममा कतिपय कथा शिव पार्वतीको वैवाहिक , रोमाञ्चक प्रसंग एवं ठठयौली आदिले भरिएको कारण जीवनमा श्रीमानप्रतिका् स्नेह सौहार्दतालाई प्रगाढ बनाउनेतर्फ लक्षित छ । सर्पको आमा विसहरा र उनका वंशका बारेमा कथाहरु श्रवण गर्नु नाग पूजाको भावलाई उजागर गर्दछ । मैथिल समुदायका ब्राह्मण ,कायस्थ ,देव र सोनार जातिमा यो पर्व मनाइने गरिएको पाइन्छ ।
धार्मिक दृष्टिले मधश्रावणी पर्व शैव धर्मसित सम्बन्धित बुझिन्छ । शिव आशुतोष र मनोवाञ्छित फल प्रदान गर्ने देवताका रूपमा रहेका छन् । यसका साथै यस पूजामा तन्त्रको पनि प्रभाव रहेको देखिन्छ । तान्त्रिक दृष्टिले शिवको महत्वपूर्ण मानिन्छ । तन्त्रशास्त्रलाई शिवप्रणीत भनिन्छ । गौरीलाई शिवकी शक्तिका रूपमा मिथिलामा स्वीकार गरिएको छ । प्रत्येक सधवा महिलाले गौरपुज्न गर्दा शिवसहित गौर्ये नमः जस्ता मन्त्र उच्चारण गर्ने गर्दछिन । गौरीलाई सौभाग्यप्रदायिनी देवी मानिएको छ । गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा वंशलाई समाप्त पार्ने प्रवृत्तिको जीव मानिएकाले यस पर्वमा गौरी तथा नाग–नागिनको विशेष पूजा आराधना गर्ने गरिएको पाइन्छ । वैदिक भावनानुकूल र सांस्कृतिक परम्परामा आधारित यो पर्वको उद्देश्य सुखी एवं दीर्घ दाम्पत्य जीवनका लागि गौरीका दाम्पत्य जीवनका प्रसङ्गका माध्यमले जीवनलाई सुखी बनाउने र मनकामना पूर्णका लागि उत्पे्ररित गर्नु रहेको छ । ।
मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान श्रीराम जस्ता पति पाइन् भन्ने धार्मिक आस्था पनि देखिन्छ । वाल्मीकि रामायणका अनुसार गौरी पूजनका लागि सीताले फूल टिप्ने क्रममा रामसँग भेंट भएको थियो । यो पर्व कहिलेदेखि सुरू गरिएको हो भन्न सकिने तथ्थ नरहे पनि शिव पुराणको प्रसङ्ग अनुसार मधुश्रावणी नामक नवविवाहिता शिवलाई आफ्नो पतिलाई कुष्ठरोग भएको व्यथा सुनाउदा शिवले तिनलाई यस प्रकारको व्रत गर्न सुझाव दिए । उहाँको सुझाव अनुसार उनले व्रत गरेपछि पति निको भइ स्वस्थ भए । त्यसै दिनदेखि प्रत्येक नवविवाहिताले यसलाई वैधव्य रक्षार्थ अनुपालन गर्दे परम्परागत रूपमा मनाउदै आएको बुझिन्छ ।मधुश्रावणी पर्व दार्शनिक दृष्टिकोणबाट महत्वपूर्ण रहेको मानिन्छ । यस पर्व अन्तर्गत भनिने कथाहरूमा सृष्टितत्व , पृथ्वीको जन्म आदिको बयान हुनुका साथै जीवन , प्रारब्ध , कर्मफलको भाग ,पुनर्जन्म लगायतका गम्भीर विषयहरूलाई लोकथाको माध्यमले सुनाइने गरिन्छ । श्रावण वर्षातको महिना हो । यतिवेला जताततै हरियाली हुन्छ । वनमा मयुर पनि यसै मौसममा प्रणय सम्बन्धमा लीन हुन्छन् ।
वर्षायाम प्रगाढ प्रणय सम्बन्धलाई अपिल गर्ने मौसम मानिन्छ । यस्तो बेला नवविवाहिता जोडीबीच रतिरागदेखि भावनात्मकरूपमा एकाकार गराउनु पर्वको मुख्य पक्ष रहेको हुन्छ । तसर्थ यो पर्व नवविवाहिताका लागि विशेष हुने गरेको छ । पर्वमा एकदिन महादेव गौरीसँग सरोवरमा जलक्रीडा गर्दा, आफ्नो स्खलित भएको वीर्य पुरैन कमल को पातमा राखेको र त्यही वीर्यबाट पाँच नागकन्या बिसहराको जन्म भएको कथा प्रचलित छ । तलाउमा जलक्रीडाका बेला जन्मेका यी छोरीसँग शिवजीको प्रेम हुनु स्वाभाविक थियो । महादेवको नित्य छोरी भेट्न जाने र घण्टौं छोरीहरूसँग खेल्ने गरेका र यो वृत्तान्त थाहा नपाएकी गौरीलाई पतिप्रति शंका बढेपछि पिछा गरेको कथा छ । एकदिन छोरीहरूसँग खेलिरहेका पतिलाई देखेर क्रोधित भएकी गौरीलाई शिवले सबै कुरा बताएपछि क्रोध शान्त भएको प्रसंग छ । पार्वतीलाई खुसी तुल्याएपछि शिवले साउन महिनामा यी नागिनको पूजा गर्नेलाई सर्पको भय नहुने वरदान दिएबाट मधुश्रावणी पर्वमा विषहराको पूजा विधान सुरु भएको लौकिक जनविश्वास छ । देवी गौरी दाम्पत्य जीवन सुखद बनाउने र सबै मनोकामना पूरा गर्ने मानिएकीले उनको पूजाअर्चना नवविवाहिताले यसै अभीष्टका लागि सुरु गरेका मिथिला लोकसंस्कृतिमा रहेको छ ।
यस पर्वको सबभन्दा आकर्षक, प्रारम्भिक तथा कलात्मक पक्ष भने लोकगीतको लयसँगै ‘अरिपन’ लेख्नु, रोचक लोककथा सुन्नु सुनाउनु र ‘फूललोढव’ अर्थात् फूल संकलन गर्नु हो । पूजाको पूर्वसन्ध्यामा पूजा गरिने निर्धारित कोठालाई सफासुग्घर गरी गोबर माटोले भुँइ लिपी अरिपन लेखिन्छ । ‘चौकोर’ अरिपनभित्र चन्द्र, सूर्य, नवग्रह, जोडी नाग, पुरहैर– पातिल, कलश, कलात्मक माटोको हात्ती राखिने ठाउँ छुट्याइन्छ । यसैगरी लोककथासँगै जोडिएको कुशमावती, पिङला, चनाइ, लिली, साठी, गौरी, एक अर्कोमा लटपटिएको जोडी नाग, मैनाको पात आफ्नो निश्चित रूपाकारमा सविस्तार लेखिन्छ । कमलको फूलमा भगवती गौरीको पदचिन्ह वा गौरीयन्त्र लेखिएको हुन्छ । मधुश्रावणी पर्व विवाह भएको पहिलो वर्ष मनाइने हुँदा प्रायः विवाहको समयमा प्रयोग गरिएको कोबर घरलाई प्रयोगमा ल्याइन्छ । कोबर घरका भित्तामा लेखिएको कोबर, नैनाजोगीन, गौरी पुजाको माटोको हात्ती, कलश, पुरहैर–पातिल आदि सरसामान विवाहको एक वर्षसम्म सुरक्षित राखिएको हुन्छ । तसर्थ मधुश्रावणी पर्वको समयमा प्रयोगमा ल्याइन्छ ।
सूर्यास्त हुनुपूर्व ‘बटगवनी’ बाटोमा गाउने गीत गाउँदै घरबाट निस्किने मैथिलानीहरूको यो टोली नजिकको बाग बगैँचा वा फूलबारीमा पुगी विभिन्न जातिका फूलपात र बुट्यान संकलन गर्छन् । संकलित फूल– पातलाई आकर्षक ढंगले डालामा सजाउँछन । यसक्रममा मधुर लोकगीतको अटूट निरझरनी प्रवाहित भइरहन्छ । समूहमा ‘फूललोढी’ मा निस्केका नवयौवना नवविवाहिता मिथिलानी साउने झरीमा रुझ्दै, आपसी हास परिहासमा मस्त र यसबेलामा गाइने प्रणयगान स्वाभाविक रूपमा वरपर हुने सबैको ध्यान त्यसतर्फ खिचिन्छ । भर्खरै विवाहित जोडीको प्रणय सम्बन्ध प्रगाढ बनाउने कामनाभित्रको ‘फूललोढी’ विधिमा निस्केका मिथिलानीको त्यही विषय भाव समेटिएका लोकगीतले समृद्ध लोक परम्पराको पुष्टि गर्छ ।साँझपख पूजास्थलमा मैनाको पातमा विभिन्न प्रकारका आकृतिहरू लेखिन्छ । पूजा सुरु हुने दिनको पूर्वसन्ध्यामा ठूलो आकारको चारओटा मैनाको पातमा विभिन्न रङको संकलित फूल, चन्दन, गाजल, सिन्दुर, अरुवा चामलबाट तयार पारिएको पिठारको प्रयोग गरी नाग लेखिन्छ । महादेव, गौरी, नागनागिनको प्रतिमा स्थापित गरी विभिन्न प्रकारको नैवैद्य ९प्रसाद० अर्पण गरी गोसाउनी ‘भगवती गीत’ सँगै पूजा प्रारम्भ गरिन्छ, यस व्रतमा खास गरी महादेव, गौरी, बिषहराको पूजा अर्चना गरिन्छ । मधुश्रावणी पर्वमा निर्धारित कथावाचिका महिला पुजारी पण्डिताइनबाट प्रत्येक दिन नवविवाहितालाई मधुश्रावणी व्रत कथा सुनाइन्छ । योक्रम पूजा अवधिसम्म जारी रहन्छ । पर्वमा नवविवाहिता मिथिलानी आफ्ना सखीहरूबीच भर्खरै सुरु भएको दाम्पत्य जीवनका कौतुहलता, पतिले देखाउने वास्ता र रतिरागसम्मका अनुभव साटासाट हुन्छन् ।
माइतबाट बेहुली भएर पति घर गएदेखि मधुश्रावणी मनाउन माइत आए बीचका अन्तरङ अनुभव व्रतालुले सुनाउँदा विवाहयोग्य उमेर पुगेकी सखी रोमाञ्चित हुने गर्छिन । यस पर्वमा मौनापञ्चमी एवं विसहराको जन्म कथा , मनसा र मङ्गला गौरीको कथा , पृथ्वीको उत्पत्ति ,समुद्र मन्थन ,सतीको पवित्रताको कथा , शिवको पारिवारिक कथा , गङ्गा उत्पत्ति , गौरीको जन्म र कामहरूको कथा , गौरीको तपस्या , गौरी विवाहका जन्तीको कथा , कार्तिक र गणेशको जन्म , सन्ध्या र लीलीको विवाह , सुकन्या , बालबसन्त र गोसाउनीको कथा , राजाश्रीकर र गणेशद्वारा सुहाग मन्थनको कथा श्रवण गरिन्छ । यस पर्वको सामाजिक दृष्टिले पनि महत्व रहेको छ । यसका कथाहरूमा महादेवको पारिवारिक जीवन सम्बन्धी कुराहरू , विवाह, गौरी र महादेवको दाम्पत्य जीवन विषयक प्रसङ्गका साथै अनेक विषय समाज र परिवारमा ईष्र्या ,द्वेष सेवा , सहिष्णुता , सहयोग , समर्पण , काम वासना , मनोरञ्जन , दाम्पत्य पे्रम , पारिवारिक कर्तव्यबोध लगायतको वर्णन गरिएको पाइन्छ । यस पर्वमा नागदेवताका विशेष रूपमा पूजा गरिन्छ । मिथिलामा नागलाई विषहराका अछु , कछु , महानाग , श्रीनाग र नागश्री गरी पाँच बहिनीको स्वरूपमा विशेष विधिपूर्वक पूजा गरिएको पाइन्छ । विषहरालाई महादेवको सन्ततिसरह मानिएकाले यसको पूजनबाट एकातिर सर्पको भय नरहने र अर्कोतिर महादेव पनि प्रसन्न हुने विश्वास रहेको छ ।
समाजमा कन्यादान गर्दा कन्याको उमेर प्रायः किशारोवस्थाको रहने एवम् त्यस उमेरकी बालिका पारिवारिक र समाजिक विधि व्यवस्थाका विषयमा पटु नरहने हुनाले समाज वा परिवारकी प्रौढ महिलाद्वारा कथाको माध्यमले यस्ता गम्भीर र अत्यावश्यक कुराहरू बारे ज्ञान प्रदान गरिनु अन्यन्त महत्वपूर्ण मानिन्छ । यस पर्वमा महिला वर्गको मात्र सहभागिता रहने भएकाले नवयौवना बालिकालाई जीवनोपयोगी शिक्षा उपयोगी तरिकाले दिइने गरिन्छ , जसबाट ऊ मानसिक र ्शारीरिक रूपले समेत गृहस्थ जीवनयापनका लागि तयार हुन सकोस् ।
पर्वको अन्तिम विधि टेमी विधि हुन्छ । यसमा बेहुलीको आँखा छोपि घुँडा र खुट्टा डाम्ने गरिन्छ ।
सामान्य अर्थमा यो विधि अव्यवहारिक , अन्धविश्वासी , रूढिवादी परम्परामा आधारित भएको देखिए पनि एउटा खास धार्मिक ,सांस्कृतिक मान्यता प्रतीक मानिएको छ । सो विधि डाम्दा हुने पीडा जतिकै दाम्पत्य जीवनमा पर्न सकिने दुःख , कष्ट ,पीडा खप्ने हुनुपर्दछ भन्ने अर्थमा अथ्र्याएको पाइन्छ ।