
संसद अवरुद्ध हुँदा मिटरब्याजीलाई कारबाही गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएपछि मिटरब्याजी पीडित आन्दोलित भएका छन् ।
जिल्लाभरबाट बिहीबार राजविराज भेला भएका मिटरब्याजी पीडितहरुले ०८० बैशाख २० गते सरकारद्वारा ल्याइएको अध्यादेश अविलम्ब पारित गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । मिटरब्याजी पीडित संघर्ष समिति सप्तरीको अगुवाइमा स्थानीय शिवमन्दिर प्राङ्गणबाट निस्केको जुलुस, ०८० बैशाखमा सरकारले ल्याएको अध्यादेश हुबहु पारित गर, मिटरब्याजी (सुदखोर साहुमहाजन) लाई पक्राउ गर, मिटरब्याजी पीडितलाई न्याय देउलगायतका नाराबाजी गर्दै पीडितहरुले प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा मिटरब्याजी पीडितलाई न्याय दिन सरकारले ल्याएको अध्यादेश पारित गर्न नदिन एमाले अध्यक्ष ओलीसहित एमालेका सांसदहरुद्वारा संसद अवरुद्ध गरिएको भन्दै अध्यक्ष ओली र एमाले विरुद्ध पनि चर्को नाराबाजी गरिएको थियो । मिटरब्याजी पीडितहरुले एमाले र अध्यक्ष ओलीकै कारण आफूहरुको पक्षमा आउन लागेको अध्यादेश निष्क्रिय भएको भन्दै एमाले विरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
मिटरब्याजी पीडित संघर्ष समितिका अध्यक्ष तैयव अलीले ऐन नियम विपरीत मनोमानी ढंगले ऋण लगानी र ब्याज असुली गर्ने मिटरब्याजीका कारण हजारौं सोझासाझा, गरीब, विपन्न नागरिकको उठिबास भएको र त्यस्ता प्रवृतिलाई एमालेले संरक्षण दिएको आरोप लगाए । मिटरब्याजी समस्या समाधान गर्न ल्याइएको अध्यादेश पारित हुने अन्तिम दिन एमालेले संसद अवरुद्ध गर्दा कानुन निष्क्रिय बन्ने खबरले आफूहरु अन्यायमा परेको भन्दै मिटरब्याजी पीडितहरुले अविलम्ब सो अध्यादेश पारित गर्न पीडितहरुले माग गरेका छन् ।