अपडेट 
२०८० असार २३, शनिबार ०६:१७

जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशको इतिहास लेखनका लागि यहाँको भाषा, संस्कृति र साहित्यको खोज आवश्यक रहेको बताएका छन् ।

शुक्रबार महोत्तरीको बर्दिबास–४ माईस्थानमा मधेशको इतिहास लेखनसम्बन्धी दुईदिने अन्तराष्ट्रिय गोष्ठीको शुभारम्भ गर्दै उनले यी विषय मधेशको इतिहास लेखनमा अपरिहार्य तत्व रहेका उल्लेख गरे । मधेश प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले यस क्रममा पूर्व मेचीबाट पश्चिम महाकालीसम्मको मधेशका सबै जातजाति, भाषाभाषी र संस्कृतिको प्रामाणिक तथ्य खोज्न अनुरोध गरे । “हाम्रो विगतका जे– जस्ता उत्पीडन र शोषणका घटना छन्, ती जस्ताको त्यस्तै खोजिउन्, लेखिउन्”, अध्यक्ष यादवले भने, “यिनमा कोच, मिथिला, लुम्बिनी (अवध) र पश्चिम थारूका प्राचीन परम्परा कुनै नछुटुन् ।” उनले इतिहास लेखनका क्रममा मधेशका विभिन्न क्षेत्रमा फरक–फरक भाषा र चालचलनको खोजी गर्न पनि विज्ञहरूसँग आग्रह गरे । उनले इतिहास नलिए भविष्य सुनिश्चित नहुने भएकाले इतिहासकारहरुलाई सत्य तथ्य र आधार सहितको इतिहास लेख्न आग्रह गरे ।

कार्यक्रममा अधिकारकर्मी तथा राजनीतिक विश्लेषक विजयकान्तलाल कर्णले इतिहास लेखनका लागि अभिलेख, शिलालेख, ताम्रपत्र, प्राचीन मुद्रा र जनश्रुतिहरू प्रामाणिकताका मुख्य आधार हुने औँल्याए । यसैगरी भारतीय प्राज्ञ अयोध्यानाथ झाले नेपालको मधेश भू–भाग र भारतको बिहारका रीतिथिति, संस्कृति, भाषा, लवाइखुवाइ र रहनसहन मिल्दाजुल्दा रहेका हुँदा यी सबैको खोजी हुन आवश्यक रहेको बताए । मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी ‘ भ्रमर’को अध्यक्षतामा भएको दुईदिने कार्यक्रममा ‘ मधेशको इतिहास–गण्डकी पश्चिम कञ्चनपुरसम्म’, ‘मधेशको इतिहास–गण्डकी पूर्वदेखि कोशी पश्चिमसम्म’, ‘मधेशको इतिहास– पूर्व मेचीबाट कोशीसम्म’, ‘ मधेश प्रदेशको साहित्य, संस्कृति’ र ‘मधेश प्रदेशको भाषा/कला’सम्बन्धी कार्यपत्र प्रस्तुत गरिने प्रतिष्ठानका सदस्यसचिव रामहृदय यादवले जानकारी दिए । कार्यक्रममा नेपालको मधेश र सीमावर्ती भारतका इतिहास, पुरातत्व, संस्कृति, भाषा, सभ्यता लगायतका क्षेत्रमा कार्यरत प्राज्ञहरू सहभागी रहेको प्रतिष्ठानले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News