
प्रदेश र स्थानीय तहवाट चालु आर्थिक बर्षमा भएको कामको भुक्तानी आइतबार राति १२ बजे सम्म मात्र हुने भएको छ ।
अहिले सम्बन्धित निकायहरुका लेखा अधिकृतहरु चेक काट्नमा व्यस्त छन् । सरकारले अनलाइन भुक्तानी गर्ने प्रावधान ल्याएपछि अनलाइन चेक काटिने गरिएको छ । मुलुक भरका सवै पालिका र प्रदेशको भुक्तानी एउटै सर्भरबाट गरिने भएकाले दैनिक जसो सर्भर डाउन रहेको उनीहरु बताउँ छन् । इन्जिनियरहरु अहिले मूल्यांकन, कागजात तयारी लगायतका काममा व्यस्त देखिएका छन् भने लेखा अधिकृतहरु धमाधम चेक काट्न व्यस्त छन् । उपभोक्ताहरुको दवावका कारण उनीहरु अहिले कार्यालयमा बस्न समेत छाडेका छन् ।
रौतहट लगायत मधेश प्रदेशका अधिकांश पालिकाका लेखापालहरुले नियम विपरीत कार्यालय बाहिरबाट धमाधम चेक काटिरहेको पाईएको छ । कानुन अनुसार कुनै प्रकारको भुक्तानी दिनका लागि सम्बन्धित पालिकाको कार्यालयबाट नै चेक काटनुपर्ने प्रावधान छ तर अधिकांश पालिकाका लेखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरु कानुनलाई लत्याउँदै कार्यालय भन्दा बाहिर गोप्य स्थानमा बसेर यतिखेर धमाधम चेक काट्ने काम गरिरहेको गुनासो बढेको छ । प्रत्येक आर्थिक वर्षको असार मसान्तमा जिल्लाका अधिकांश पालिकाका लेखा प्रमुख र प्रशासकीय अधिकृतहरु कार्यालयमा विभिन्न होटल तथा गोप्य स्थानमा लुकेर अनाधिकृत रुपमा चेक काट्ने गरेका छन् ।
कार्यालयमा चेक काट्दा लेखा प्रमुख र प्रशासकीय अधिकृतहरुलाई उपभोक्ता समिति वा अन्य व्यक्तिसंग सोचे अनुसारको कमिसनका लागि बार्गेनिंग गर्न एवं कमिसन लिन अप्ठयारो हुनेगर्दछ तर कार्यालयभन्दा बाहिर गोप्य ठाउँमा लुकेर चेक काट्दा बार्गेनिंङ्ग गर्न एवं कमिसन लिन सहज हुने भएकोले जिल्लाका अधिकांश पालिकाका लेखा प्रमुख र प्रशासकीय अधिकृतहरु कार्यालयभन्दा बाहिर लुकेर चेक काट्ने गरेका छन् ।