अपडेट 
२०८० असार २६, मंगलवार ०७:२५

कामकालागि विदेशिएका नेपालीलाई सुन भरियाको रुपमा प्रयोग गरी तस्करी गर्ने सुन व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

विदेशबाट अवैध सुन ल्याउने धन्धामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कतारबाट वैदेशिक रोजगारीबाट फर्केका ५ जनासहित १२ जनालाई पक्राउ गरेको छ । विदेशमा काम गरी फर्किनेहरुलाई सुन खरिद गराएर मगाउने र भारतमा तस्करी गर्ने केही सुन तस्करहरु सकृय रहेको खुलेको छ । विदेशबाट फर्किने क्रममा सुन किनेर ल्याउने कामदारहरुबाट विमानस्थलमा नै सुन संकलन गरी भारततर्फ पठाइने गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेकाहरुले सिरहा जिल्लाको लहान नगरपालिका वडा नम्बर ४ कुम्हार टोलका रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको सुन बोकेर ल्याएको प्रहरीलाई बयान दिएको जनाएको छ । शिवसुन्दरले अवैध सुन ल्याउनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाहरुलाई परिचालन गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले लहान बजारमा ‘आई पे रेमिट ’ मार्फत मनी ट्रान्सफरको काम गर्दै आएका छन् । राउतले ४१ वटा बैङ्क खातामार्फत १ अर्ब ९३ करोडको कारोबार गरेको केसीले जनाए । अवैध सुन कारोबार गरेर सम्पत्ति आर्जन गरेका शिव सुन्दरविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ । राउतलाई प्रहरीले लहानबाट नै पक्राउ गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी केसीले जनाए ।

सिनामंगलमा बी हिमालयन स्पायर होटल सञ्चालन गर्दै आएका विनोद कुमार साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी सुन संकलनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । लहानमा रहेर कारोबार गर्दै आएका राउतका काठमाण्डुमा विनोद साह र उनकी पत्नी सञ्जु कुमारी साह मुख्य ‘ एजेन्ट’ छन् । सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर–२ घर भएर हाल सिनामंगलका २८ वर्षीय साह र उनकी २५ वर्षिया पत्नी सञ्जु कुमारी साहले कतारबाट मजदुरले ल्याउने सुन सङ्कलन गरेर राउतलाई पठाउने गरेका थिए । साहले पछिल्लो केही वर्षमा ४१ करोड ५४ लाख कारोबार गरेको भेटिएको एसएसपी केसीले बताए । सिनामंगलमा विनोद र पत्नी सञ्जुले होटल चलाएका छन् । ‘होटल हिमालयन स्पायर’ नामको होटल उनीहरूले सुन कारोबार गरेर खरिद गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसएसपी केसीले बताए । डा. केसी भन्छन्, ‘कतारबाट सुन पठाउन लगाउने र नेपालमा ल्याएपछि मजदुरलाई न्यूनतम रकम दिएर गिरोहले नाफा खाने गरेको देखिन्छ, त्यो चक्रलाई हामीले तोड्न खोजेका छौँ ।’ सिक्रीको आकारमा सर्टको कलर र जुत्तामा लुकाएर ५ जनाले ल्याएको र गाल्ने ठाउँमा बेचेको सहित ८ सय २८ ग्राम प्रहरीले बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा विदेशबाट आउँदा सानो सानो मात्रामा सुनको तस्करी भइरहेको गोप्य सूचनाको आधारमा निगरानी बढाउँदा पछिल्लो पटक विदेशबाट आउने ५ जनाको साथबाट ८ सय २८ ग्राम सुन बरामद भएको प्रहरीको कथन छ । यसरी सुन पटक पटक आउने गरेको प्रहरीले जनाएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा,सिरहा नगरपालिका–१७ का २४ वर्षीय धर्मदेव यादव, कपिलवस्तुको सुद्धोधन नगरपालिका–६ का २३ वर्षीय धर्मप्रसाद मुराउ रहेका छन् । यस्तै, धनुषाको जनकपुरधाम–५ का ३४ वर्षीय पिधी पञ्जियार, बाँकेको राप्ती सोनारी ५ का ३६ वर्षीय लालबहादुर वली, सप्तरीको बलानबिहुल–२ का २७ वर्षीय किसुनलाल साहु तेली, सोही नगरपालिका–१ का २५ वर्षीय विनोदकुमार साह र सोही नगरपालिका–६ का २२ वर्षीय आशाराम यादवलाई पनि प्रहरीले पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। सप्तरीको बोदिबर्साइन–१ का २८ वर्षीय रामेश्वर साह, सिरहाको लहान–४ का लेलेन्द्रकुमार राउत, सिरहाको धनगढी–३ का २३ वर्षीय देवनारायण यादव, सर्लाही बरहथवाका ५६ वर्षीय गुमिक साहलाई प्रहरीले सार्वजनिक गरेको छ । यस्तै सुन संकलन गर्ने क्रममा पक्राउ पर्नेमा विनोद साह रहेका छन् । विदेशबाट सुन लिएर आएका ५ जनासित सुन संकलन गर्न साह बिमानस्थलमा पुगेका थिए । यसैगरी सञ्जु कुमारी शाह दुर्गा प्रसाद यादव र देवानन्द साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । यस्तै प्रहरीले सिरहाका मोहन कुमार यादवलाई पनि पक्राउ गरेको छ । उनले शिव सुन्दर राउतको खातामा रकम हाल्ने र झिक्ने गरेको देखिएको प्रहरीले जनाएको छ । आरोपीहरू विरुद्ध ‘सङ्गठित तस्करी’ विरुद्धको कसुरमा अनुसन्धान गरिने एसएसपी केसीले जनाए ।

केही महिनादेखि सुन तस्करीमा भएको भारी वृद्धिले भारतीय रुपैया सीमावर्ती क्षेत्रमा नेपालीको भन्दा कमजोर भएको छ । सीमावर्ती क्षेत्रमा ठूलो दरका भारतीय रुपैयाँको चलनचल्ती निकै घटेकोछ । नेपालबाट तस्करी भएर भारत जाने सुनको भुक्तानी भारतीय ठूलो दरको नोटबाट हुने भएकाले सीमावर्ती क्षेत्रमा भारतीय रुपैया (भारु)को अवमूल्यन भएको छ । सरकारी स्तरमा भारतीय मुद्राको विनिमय दर यथावत रहे पनि चलनचल्तीमा निकै घटेको छ । प्रहरी उच्च स्रोतका अनुसार पर्सा, धनुषा र सिरहा जिल्ला सुन तस्करीको हब नै बनेको छ । सुन तस्करीका लागि धनुषा र सिरहा सर्वाधिक सुरक्षित मानिएको प्रहरी स्रोतले जनाएका छन् ।

एकजना सुन तस्करका अनुसार हुण्डी र तस्करीबाट अलिसकेका जनकपुरधामका एकजना कुख्यात सुन तस्करका सन्तानहरु अहिले अत्यधिक सक्रिय देखिएका छन् । नेपालबाट भारतको नयाँदिल्ली, कोलकत्ता, मुम्बइसम्म सुन तस्करीको नेटवर्क रहेको बताइन्छ । सुन तस्करी बढेसँगै भारतीय रुपैयाको दबाब तस्करी हुने सीमावर्ती क्षेत्रमा बढ्नु स्वभाविक भएको व्यवसायीहरु बताउँछन् । विगतमा पनि सुन तस्करी बढेको बेला भारतीय रुपैया सीमावर्ती क्षेत्रमा सहज र सस्तो दरमै उपलब्ध हुने गरेको बताइन्छ । भारतमा २ हजार दरको नोट अगस्त महिनासम्म मात्र चल्ने भएकाले सुन तस्करीबाट आउने सो रुपैयालाई तत्काल नै नेपाली मुद्रा बनाउनुपर्ने बाध्यताले भारतीय रुपैयाको अवमूल्यन भइरहेको व्यवसायीहरुको कथन छ ।

गत वर्षको फागुन मसान्तसम्म सयकडा ३ रुपैया सम्म महँगो रहेको भारु अहिले त्यो भन्दा बढी महँगो नेपाली रुपैयाँ भएको छ । भारतबाट नेपाली रुपैया भित्र्याउने क्रममा बेलाबखत प्रहरीले बरामद गरेपनि त्यो कारोबार भारी परिमाणमा भइरहेको छ । सीमावर्ती भारतीय बजारमा भारुको भन्दा नेपाली रुपैयाको माग अत्यधिक देखिन्छ । नेपालमा सामान खरिद गर्दा सयकडा ३ रुपैयाँसम्म मूल्यमा कमी गरेको देखिन्छ । सेलाइसकेको सुन तस्करी पछिल्लो ४ महिनादेखि मौलाएको छ । व्यवसायीहरु भन्छन्–भारुलाई भारी अवमूल्यन गर्ने गरी सुन तस्करी बढेको छ । यस्तो परिमाणमा विगतमा सुन तस्करी नहुने गरेको उनीहरुको कथन छ ।

Comment


Related News

Latest News

Trending News