अपडेट 
२०८० असार २६, मंगलवार ०७:३७

मधेश प्रदेशमा अहिलेसम्म १८.२४ प्रतिशत धान रोपाइँ भएको छ ।

समयमा वर्षा नहुँदा र खोलाहरुमा पानीको सतह घटेका कारण मधेश प्रदेशमा समयमा धान रोपाइँ हुन सकेको छैन् । यस प्रदेशमा अहिलेसम्म कम्तीमा ७० प्रतिशत धान रोपाइ सक्नुपर्ने थियो तर, समयमा वर्षा, खोलामा पानी नहुनु र डिप बोर्डिङ्गबाट समेत पानी आउन छाडेपछि यहाँ धान रोपाइँ हुन सकेको छैन् । केही दिन यतादेखि भएको वर्षाले केही कृषकहरु धन रोपेका छन् तर, अधिकांशको खेतमा पानी नहुँदा वीउसमेत अहिलेसम्म खेतमै रहेको छ ।

मधेश प्रदेशका पर्सामा ७, रौतहटमा १५, सर्लाहीमा १५, धनुषामा १५, महोत्तरीमा १५, सिरहामा २५, सप्तरीमा २५ र बारा जिल्लामा २५ प्रतिशत गरी कुल १८.२४ प्रतिशत धान रोपाइँ भएको कृषि विकास निर्देशनालय नक्टाझिजले जनाएको छ । मधेश प्रदेशको पर्सामा ५४ हजार ७ सय ३२ हेक्टर खेतीयोग्य क्षेत्रफल मध्ये ४७ हजार १ सय ३० हेक्टरमा धान खेती हुँदैछ तर, यस पटक तीन हजार २ सय ९९ हेक्टर खेतमा मात्रै धान रोपिएको छ । त्यस्तै, रौतहटमा ६५ हजार ९ सय ६९ हेक्टर खेतीयोग्य जग्गा मध्ये ३५ हजार हेक्टर धान खेतीयोग्य छ तर यस पटक भने ५ हजार २ सय ५० हेक्टर धान रोपिएको छ । सर्लाहीमा ८४ हजार ६ सय ७८ खेतीयोग्य जग्गा मध्ये ४६ हजार हेक्टरमा धान खेती हुँदै आएको छ यस पटक भने ६९ सय हेक्टर खेतमा मात्रै धान लगाइएको छ ।

धनुषामा ६७ हजार ३ सय ५२ हेक्टर खेतीयोग्य जग्गा छ जसमा ५८ हजार हेक्टरमा धान खेती हुँदै आएको छ तर यस पटक भने ८७ सय हेक्टर खेतमा मात्रै धानबाली लगाइएको छ । त्यस्तै महोत्तरीमा ६७ हजार तीन सय ५२ हेक्टर खेतीयोग्य जग्गा मध्ये ४७ हजार ५ सय हेक्टर खेतमा धान खेती हुँदै आएको छ तर अहिले सम्म ७१ सय २५ हेक्टर खेतमा मात्रै धान लगाइएको छ ।

सिरहामा कुल ७३ हजार ९ सय १४ हेक्टर खेतीयोग्य जग्गा मध्ये ५४ हजार हेक्टर जग्गा खेती हुँदै आएको छ तर, अहिलेसम्म यहाँ १३ हजार ५०० हेक्टर जग्गामा मात्रै धान रोपिएको छ । त्यस्तै,सप्तरीमा कुल ८१ ह्जार ६ सय ६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा छ जसमा ६८ हजार हेक्टरमा धान खेती हुँदै आएको छ यस पटक भने १७ हजार हेक्टरमा धान खेती लगाइएको छ ।

बारामा ६९ हजार ५ सय १६ हेक्टर खेतीयोग्य जग्गा मध्ये ४६ हजार २० हेक्टर खेतमा धान खेती हँुदै आएको छ तर, यस पटक ११ हजार ५ सय ५ हेक्टर खेतमा धान लगाइएको छ । मधेश प्रदेशमा कुल ५ लाख ७४ हजार ३ सय ६० हेक्टर क्षेत्रफल धान खेतीयोग्य जग्गा रहेको छ भने ५ लाख १ हजार ६ सय ५० हेक्टरमा धान रोपाइँ हुने गरेको छ ।

तर, हालसम्म ७३ हजार २ सय ७९ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता रोशन मेहताले बताए । यता,किसानहरु यस पटक खडेरी पर्ने बताउँछन् । उनीहरुले समयमा पानी नपर्दा धान लगाउन नसकेको अवस्थामा समयमा धान नफल्ने र फलेको पनि राम्रो नहुने उनीहरु बताउँछन् । धानका लागि समयमा बीउ छर्कनु, समयमा रोप्नु र समयमा मल दिनुपर्छ तर, यस पटक भने मौसम अनुकूल नभएका कारण धानको खेती राम्रो नहुने उनीहरु बताउँछन् ।

Comment


Related News

Latest News

Trending News