
धार्मिक स्थल गेरुकाधाममा यस पटक शाही स्नान हुने भएको छ ।
जानकी मन्दिरको महन्त रामतपेश्वर दासको नेतृत्वमा आगामी साउन २ गते महोत्तरीको लोहरपट्टी नगरपालिकास्थित गेरुकाधाममा शाही स्नान गरिने छ । यस वर्ष जानकीको डोला र प्रतिमासहित हजारौं साधुसन्त शाही स्नानमा सहभागी हुनेछन् । तीन वर्षमा गेरुका धाममा भव्य मेला लाग्ने गरिन्छ । पुरुषोत्तम मासमा यस वर्ष शाही स्नान हुन लागेको महन्त दासले जानकारी दिए । उनका अनुसार गेरुका धाममा एक महिनासम्म अयोध्याबाट आएको कलाकारहरुले रामलीला र रामनामसँग किर्तन गर्नेछन् । पुराणमा उल्लेख भए अनुसार गेरुकाको दर्शन, स्नान तथा पूजा अर्चना गर्नाले मानवले गरेको पाप नष्ट हुनुको साथै पुण्यको भागी बन्ने गर्छन । जगत जननी जानकीको मुख्य सहेली गेरुका महरानी हो भन्ने कुरा पुराणमा उल्लेख छ । गेरुकाको महत्व बुझेर भारत र नेपालका विभिन्न क्षेत्रबाट लाखाँै भक्तजन गेरुका स्नानका लागि आउने गरेका छन् ।