अपडेट 
२०८० असार २६, मंगलवार ०८:१०

वीरगञ्ज महानगरपालिकाले शहरको मुख्य नालामाथि नै बनाइएको हरिखेतान बहुमुखी क्याम्पसको भवनसहितको संरचना डोजर लगाएर भत्काएको छ । शहरको मध्य भाग भएर बग्ने ४० फिटे नाला माथि नै क्याम्पसले निर्माण गरेको भवनसहितको संरचना सोमबार महानगरपालिकाले डोजर लगाएर भत्काएको छ ।

नाला अतिक्रमण गरी बनाइएको संरचना हटाउन सोमबार दिउँसो मेयर राजेशमान सिंह आफैं डोजर लिएर पुगेका थिए । क्याम्पसको संरचना मुख्य नालामाथि निर्माण हुँदा नाला सफाइमा अवरोध भएकाले निर्माण गरिएका भवनसहितका संरचना हटाउन महानगरले डोजर प्रयोग गरेको छ । नालामाथि बनेको संरचना आफै हटाउन क्याम्पस प्रमुख भगवान यादव र सञ्चालक समितिका अध्यक्ष सुनिल खेतानलाई गत शुक्रबार महानगरपालिकाबाट खटिएको टोलीले निर्देशन दिएको थियो । तर महानगरको निर्देशनलाई अटेर गरिएपछि मेयर सिंह दुई वटा डोजर लिएर आफै पुगेका थिए ।

जिल्ला हुलाक कार्यालयदेखि मुख्य नाला सफाइ गर्दै आएको महानगरपालिकाले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै नाला सफाइलाई निरन्तरता दिँदै आएको छ । हरिखेतान क्याम्पस पछाडिसम्मको मुख्य नाला यसअघि नै सफाइ गरिसकेको छ । तर मुख्य नाला माथि नै निर्माण गरिएका क्याम्पसको संरचना नहट्दा मुख्य नाला सफाइमा अवरोध भएपछि क्याम्पसको संरचना तत्काल हटाउन महानगरपालिकाले गत शुक्रबार क्याम्पस प्रशासनलाई निर्देशन दिएको थियो ।

यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाइसकिएको छ । वीरगञ्जमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्काे नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउँ हुँदै दक्षिणतिर बगेको छ । गीता मन्दिरदेखि आदर्शनगर हरिखेतान क्याम्पस सम्मको क्षेत्रमा मुख्य नालाको दुबैतर्फ अतिक्रमण गरेर संरचना बनेका छन् ।

आदर्शनगरको क्लासिक होटल र कर्पोरेट डेभलपमेन्ट बैंकको भवन पनि नाला माथि नै निर्माण गरिएको छ । अहिले क्लासिक होटल पछाडिसम्मको मुख्य नालामा बनेका संरचना हटाउँदै नाला पूर्ण रुपमा सफाइ गरिसकिएको छ । राष्ट्रिय वाणिज्य बैंक पछाडितर्फ पनि हरिखेतान क्याम्पससम्मको क्षेत्रमा पर्ने मुख्य नालामा परेका संरचना हटाउँदै नाला सफाई गरिसकिएको छ ।

महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन पटक पटक ताकेता गर्दा पनि अटेर गरिएपछि महानगरपालिका आफैले डोजर लगाएर हटाउँदै नाला सफाइलाई तीव्रता दिँदै आएको छ । वर्षौँदेखि मुख्य नाला सफाइ नहुँदा वीरगञ्ज शहर वर्षातको समयमा डुबानमा पर्दै आएको छ । यस पटक मुख्य नाला पूर्ण रुपमा सफाइ गर्न महानगरले सबै उपाय अवलम्बन गरेको मेयर सिंहले बताए ।

Comment


Related News

Latest News

Trending News