अपडेट 
२०८० असार २७, बुधबार ०७:०९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लेखा अधिकृतलाई घुस रकमसहित मंगलबार नियन्त्रणमा लिएको छ ।

सिरहा र मोरङबाट दुई जना लेखा अधिकृतलाई घुस रकम सहित अख्तियारले पक्राउ गरेको छ । सडक डिभिजन कार्यालय,लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई १ लाख घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने वापत उनले सेवाग्राहीसँग घुस रकम माग गरेका थिए । सेवाग्राहीले दिएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले अधिकृत पोखरेललाई १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यस्तै,मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई पनि अख्तियारले पक्राउ गरेको छ । नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि उनले सेवाग्राहीसँग २ लाख घुस रकम माग गरेका थिए । अख्तियारको इटहरी कार्यालयबाट गएको टोलीले अधिकृत ढकाललाई २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नगरपालिकाको कार्यालयबाट पक्राउ गरेको छ । उनीमाथि पनि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

चालु आर्थिक वर्षको अन्तिम भुक्तानीको चेक काट्ने समय असार २४ गते मध्यरातिसम्म रहेको थियो ।भुक्तानीका लागि चेक बनाएर ठेकेदार र उपभोक्ता समितिबाट कमिशन लिएर मात्र चेक दिने गरिएको गुनासो बढेको छ । भुक्तानीका लागि कमिशन दिन नचाहने उपभोक्ता र ठेकेदार हरुले अख्तियारमा उजुरी दिएर कर्मचारीलाई पक्राउ गराउन थालेका छन् । उच्चस्रोतहरुका अनुसार उजुरी परेका निकायहरुमा अख्तियारको टोलीले निगरानी बढाएको छ । लेनदेनमा लेखा प्रमुख र प्राविधिक कर्मचारी बढी पर्न सक्ने बताइएको छ । उपभोक्ता र ठेकेदारबाट लेनदेनको काम लेखा र प्राविधिकहरुसित हुने गरेकाले उनीहरुमाथि नै बढी उजुरी परेको स्रोतले जनाएका छन् । असार महिनामा धमाधम लेखा प्रमुखहरु पक्राउ पर्न थालेका छन् । यसअघि महोत्तरीको सम्सी गाउँपालिका र सिम्रौनगढ नगरपालिकाका लेखा प्रमुख पक्राउ परेका थिए ।

Comment


Related News

Latest News

Trending News