अपडेट 
२०८० असार २७, बुधबार ०७:२३

मैथिली भाषा,साहित्य कला विधामा योगदान दिने पाँचजना स्रष्टालाई नेपाल विद्यापति मैथिली पुरस्कार कोषले मंगलबार पुरस्कृत गरेको छ ।

दुई लाख नगद सम्मानपत्रसहितको भाषा साहित्य पुरस्कार अयोध्यानाथ चौधरीलाई प्रदान गरिएको छ । एक लाख नगदसहित नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार रमेश कुमार यादवलाई प्रदान गरिएको छ । यसैगरी, १ लाख रकमको पाण्डुलिपि पुरस्कार महेन्द्र कुमार मिश्रलाई प्रदान गरिएको छ । यसैगरी १ लाख धन राशिको कला संस्कृति पुरस्कार गायक डा.आभाष लाभ र अभिनेता वैद्यनाथ पटेललाई प्रदान गरेको छ । दुबै जनालाई ५०–५० हजारको दरले रकम प्रदान गरिएको छ । सबै पुरस्कारमा सम्मानपत्र तथा दोसल्ला रहेको छ ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले महाकवि विद्यापति मैथिली साहित्यको क्षेत्रमा गरेको योगदान चीरकाल पर्यन्त स्मरणीय रहने बताए । उनले विद्यापतिको रचनाहरूले नेपाल भारत बीचको सम्बन्धलाई मजबुत बनाउनुका साथै तराई मधेश तथा पहाडलाई जोड्ने काम गरेको बताउँदै महाकवि हामी नेपालीका महाकवि पनि रहेको बताए । उनले मल्ल कालमा काठमाण्डु उपत्यकामा मैथिली भाषाको सर्वाधिक प्रभाव भएको बताउँदै मल्ल राजाहरूले कैयन लोकप्रिय मैथिलीका नाटकहरूको रचना तथा प्रदर्शन गराउने गरेको बताए । उनले विद्यापतिको जन्म तत्कालीन मिथिला क्षेत्रमा भएको बताउँदै अहिले उक्त क्षेत्र भारतमा परे पनि मिथिलाको धेरै क्षेत्र नेपालमा पनि रहेकाले उनी नेपालका महाकवि भएको बताए । मन्त्री किरातिले विद्यापतिका कतिपय पाण्डुलिपिहरू अहिले नेपालको राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित रहेको बताए ।

मधेश प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले विद्यापतिका रचनाहरू अहिले मिथिलामा मान्छेको जन्मदेखि मृत्युसम्म प्रयोग हुने गरेकाले उनी महाकविका साथै जनकवि भएको बताए । उनले मैथिली भाषाको विकासका लागि घर घरमा विद्यापतिको जन्म हुन आवश्यक भएको बताए । नेपाल विद्यापति मैथिली पुरस्कार कोषका अध्यक्ष रामबाबु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कोषका सदस्य सचिव ध्रुव कुमार मण्डल र सदस्य सुधा कर्णले आ–आफ्नो धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News