अपडेट 
२०८० असार २८, बिहीबार ०७:३२

भ्रष्टाचार मुद्दामा विशेष अदालतले सप्तरीको बलान विहुल गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष रुवी गुप्तासहित ९ जनालाई दोषी ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्तासहित ९ जना विरुद्ध ०७९ वैशाख ४ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बलान विहुल गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको दाबीसहित आयोगले मुद्दा दायर गरेको थियो। फिल्डमा देखिएको भन्दा नापी कितावमा बढी देखाएर भुक्तानीको लागि कागजात पेश गरेको पाइएपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

आर्थिक वर्ष ०७५/०७६ को विनियोजित रकममध्ये बलान विहुल गाउँपालिका वडा नम्बर ४ को अधुरो वडा कार्यालय भवन निर्माण सम्पन्न भइ सेवाप्रवाह भइरहे पनि कामभन्दा बढी भुक्तानी भएको आयोगको दाबीलाई विशेष अदालतले पनि उचित ठहर गरेको छ। विशेषले बलान विहुल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेशकुमार यादव, योजना शाखा प्रमुख रमेश मरिक यादव, प्राविधिक शाखा प्रमुख सवइन्जिनियर सन्तोषकुमार रजक र सहलेखापाल सुभाष चन्द्र लाललाई पनि दोषी ठहर गरेको छ। फिल्डमा नभएको/नगरेको कामको मूल्यांकन गरी गलत कार्य सम्पन्न प्रतिवेदन तयार गरेको अख्तियारको दाबी थियो। अख्तियारले उनीहरुसँग १० लाख ५ हजार ४९७ रुपैयाँ बिगो दाबी गरेको थियो। बलान विहुल गाँउपालिका वडा नं. ४ वडा कार्यालय भवन निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सुशीलकुमार यादव, कोषाध्यक्ष रम्भादेवी यादव र सचिव शिवशंकर मण्डलले फिल्डको कार्यभन्दा बढी मूल्यांकन गरी कार्यसम्पन्न भयो भनी सम्झौता विपरीत कार्य गरी भुक्तानी माग गरेको अख्तियारले विषेश अदालतमा पेश गरेको मिसिलमा उल्लेख गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News