अपडेट 
२०८० असार २८, बिहीबार ०७:३८

जनकपुरधाम पहिलो पटक ब्याचलर अफ साइन्स (अनर्स) इन एग्रीकल्चर पढाइ हुने भएको छ ।

बुधबार जनकपुर कम्युनिटी कलेज (जेसीसी) ले ब्याचलर अफ साइन्स (अनर्स) इन एग्रीकल्चरको लागि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ। नयाँ पाठ्यक्रमको लागि सम्बन्धन प्राप्त गरेको सञ्चालक समितिका सदस्य डा. सोहन साहले जानकारी दिए । उनका अनुसार जेसीसी कलेज मधेशमै पहिलो कृषि सम्बन्धी पठ् नपाठनको लागि अनुमति पाएको छ । अनुमति पाएसँगै जेसीसीले आगामी शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्न लागेको छ ।

भदौदेखि शैक्षिक सत्र सुरु हुने र अर्को सातादेखि भर्ना खोलिने डा. साहले बताए । यस वर्ष पाठ्यक्रममा भर्नाका लागि जेसीसीलाई ४८ सिट उपलब्ध गराइएको छ । पूर्वाञ्चल विश्वविद्यालयको योजना महाशाखाका प्रमुख डा. कोमल दुलाल, कलेजको संचालक समितिका अध्यक्ष अमित ठाकुर र सदस्यहरु सोहन कुमार साह, सुरुची लाल,अनिल कुमार साह, आशिष कुमार झा र ज्योत्सना क्रान्तिको उपस्थितिमा सम्बन्धन पत्रमा हस्ताक्षर भएको छ । जेसीसी जनकपुरमा बीएसी एजी कोर्स गर्ने पहिलो कलेज बनेको छ । बिएससी एजी कोर्स चार वर्षे कार्यक्रम हो । जसले कृषिका विभिन्न पक्षहरु जस्तै बाली उत्पादन, माटो विज्ञान, बिरुवा रोगविज्ञान, पशुपालन, कृषि व्यवसाय र बायोटेक्नोलजीलाई समेट्छ । पाठ्यक्रमले विद्यार्थीहरुलाई कृषि र सम्बद्ध क्षेत्रहरुमा करियर बनाउन सैद्धान्तिक ज्ञान र व्यावहारिक सीपहरू प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ । जेसीसीमा बीएससी एजी कोर्सको सुरुवातले जनकपुरधाम र नजिकैका क्षेत्रहरूमा कृषिमा डिग्री खोज्ने विद्यार्थीहरुको पहुँचमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

कलेजले योग्य विद्यार्थीहरुलाई छात्रवृति पनि प्रदान गरिने कलेजको तयारी छ । जेसीसीमा बीएससी एजी पाठ्यक्रमले कृषिमा रुचि राख्ने र नेपालको यस क्षेत्रको विकासमा योगदान दिन चाहने विद्यार्थीहरुलाई आकर्षित गर्ने अपेक्षा गरिएको कलेजका संचालक समितिका अध्यक्ष अमित ठाकुरले बताए । पाठ्यक्रमले विद्यार्थीहरुलाई कृषिमा उच्च अध्ययन र अनुसन्धानका लागि पनि तयार पार्ने उनको भनाइ छ ।गत वर्षदेखि यस कलेजमा प्रविधिक शिक्षा र सूचना प्रविधि सम्बन्धी अध्ययन अध्यापन भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News