अपडेट 
२०८० असार २८, बिहीबार ०७:४०

सिरहामा प्रहरी जवान अनु रायलाई हत्कडी लगाएर यातना दिएको घटना बाहिर आएको छ । जिल्ला प्रहरी कार्यालय परिसरभित्रै यातना दिइएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनका भाइ रजनीश रायले प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमन्त राईसँग डियुटि बारे गुनासो गर्दा यातना दिएको आरोप लगाएका छन् । उनका अनुसार अधिक ड्यिुटी गराएपछि उनले हवल्दारसँग गुनासो पोखेका थिए । हवल्दारले उनको गुनासो इन्स्पेक्टर राईलाई सुनाए । त्यसपछि पीडित रायलाई इन्स्पेक्टर राईले बोलाएका थिए । त्यस क्रममा इन्स्पेक्टर राईले गालीगलौज गरेपछि दुवै जनाबीच विवाद भएको पीडितका भाइ रजनीश रायको दाबी छ । सोही कारण क्रूर यातना दिइएको उनले बताए । भिडियोमा जवान राय रोइकराइ गरिरहेका छन् । उनले यस्तो यातना नदिन पटक–पटक आग्रह गरेको र अपराधि नरहेको बोलेको भिडियोमा सुनिन्छ/देखिन्छ । ‘म लफडा गरेको छैन् । म रक्सी खाएको छैन्,’उनले भिडियोमा भनेका छन्,‘तपाईहरु थुन्नु हुन्छ भने म मर्दिन्छु । मेरो लाश पाउनु हुन्छ ।

यस्तो बुटै–बुटले हान्नु भएको छ ।’ उनलाई अन्य प्रहरीले गाली गर्दै चोर भन्दा पनि उसले कसलाई चोर भनेको भनेर प्रश्न गरेका छन् । अन्य प्रहरीले फेरि चर्को स्वरमा कहाँ रक्सी खाएको प्रश्न सोध्दा उनले रक्सी नखाएको र खाएको भए कारबाही गर्नुहोला भनेका छन् । यता, प्रहरीले आफूहरूले कुनै प्रकारको यातना नदिएको प्रतिक्रिया दिएको छ । सिरहाका प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बुले प्रहरीबाट हिर्काउने, पिट्ने जस्ता कुनै काम नभएको दाबी गरे । बरु प्रहरी जवान रायले अमर्यादित क्रियाकलाप गरेको एसपी टेकुनन्द इवालिम्बुको भनाइ छ । आक्रामक रूपमा प्रस्तुत भएर हतियार खोसेर भाग्न खोजेपछि प्रहरीले उनलाई हत्कडी लगाएको उनले बताए । ‘हामीलाई लागू पदार्थ सेवन गरेको जस्तो लाग्छ । मेन गेटमा ड्युटी गर्नेसँग हतियार हुन्छ । उसको हतियार खोसेर भाग्न खोज्यो,’एसपी लिम्बुले जानकारी दिँदै भने,‘पाँच समय मिटर परबाट ल्याउने क्रममा प्रहरीले सम्हाल्न सकेन । उ एकदमै एग्रेसिभ भयो । त्यसपछि हामीले हत्कडी लगायौँ ।’ जवान रायको आचरण पहिलेदेखि राम्रो नरहेको उनले बताए । ‘लागूऔषध, मादक पदार्थ दुइटै प्रयोग गर्दो रहेछ । अनि एकदमै एग्रेसिभ । मर्छु, मार्छु भनेर भाग्न थालेपछि हामीले तुरुन्तै ल्याएका हौँ,’उनले भने,‘उसलाई कस्टडीमा राख्न खोजेको, त्यही पिसाब गर्दिएछ । यातना दिएको भन्ने छँदै छैन । त्यसपछि बाहिर ल्याएर राख्यौं ।’

तर जवान रायको सिरहा प्रादेशिक अस्पतालमा गराइएको मेडिकल परीक्षणमा मादक पदार्थ सेवन नगरेको देखाएको छ । स्वास्थ्य परीक्षणका क्रममा भने रायले मादक पदार्थ सेवन गरेको देखिएको छैन । शरीरमा घाउ चोटपटक लागेको तथा निल डाम पनि देखिएको छैन । मानसिक स्वास्थ्य पनि ठीक देखिएको छ । यस विषयमा प्रहरीले पनि मेडिकल चेकजाँचमा मादक पादर्थ नगरेको देखिएको बताउँछन् । तर उनले लागूऔषध पदार्थ सेवन गरेको एसपी लिम्बुको भनाइ छ । प्रहरीले उनलाई विभागीय कारबाही गर्ने तयारी गरेको उनले बताए । ‘कारबाहीको प्रक्रियामै छ । प्रहरीको आफ्नै कानुन छ, त्यस अनुसार कारबाही हुन्छ,’उनले भने ।

मधेश प्रदेश प्रहरीका प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले घटनामा सत्यतथ्य पता लगाउन छानबिन समिति बनाइएको बताए । प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान कुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइएको उनले बताए । उक्त समिति अविलम्ब प्रतिवेदन दिएपछि दोषीलाई विभागीय कारबाही गरिने उनले बताए ।

Comment


Related News

Latest News

Trending News