अपडेट 
२०८० असार २९, शुक्रबार ०७:४४

मनोरञ्जनका साधनमध्ये गीत प्रमुख रूपमा रहेको छ । गीतहरू प्रायः शुभ अवसरहरूमा गाइन्छ । प्रकृतिमा अन्तर्निहित लयात्मकता र रागात्मकताले यहाँको चिन्तन र दर्शनमा पारेको प्रभावका कारणले वातावरणलाई रागमय बनाएको बुझिन्छ । यहाँ प्राचीन काल देखि नै गायनको परम्परा विद्यमान रहेको पाइन्छ , त्यसैले यहाँ उखान प्रचलित छ कि मोन हर्षित त गाबी त गीत अर्थात् मन हर्षित हुँदा गीत गाइन्छ । यी ऐतिहासिक तथ्य हुँदा पनि कालक्रमले आफ्नो गौरवशाली परम्परागत सांस्कृतिक थातिप्रतिको उपेक्षाले विधि व्यवहार , संस्कार लोपोन्मुख चक्रबाट गुज्रिरहेको छ । तर पनि समाज बाँचैकै छ । लोक व्यवहार भइरहेकै छ ।

आज पनि गाउँघरमा वस्ने जनजीवनमा संस्कृतिप्रतिको मोह गएको छैन् । आफ्नो संस्कार र विधि व्यवहारप्रति आशक्ति कायमै छ । लोकसंस्कृतिमै निजत्वको विशिष्ट परम्परा र पहिचान हुने गर्दछ । लोकसंस्कृति अन्तर्गत लोक गीतमा आत्मा बस्ने गरेका कारण जन्मदेखि मृत्यु संस्कार व्यवहारिक स्तरमा सर्बाधिक महत्वपूर्ण रहेको छ । गर्भाधान , पुंसवन , सीमान्तोन्नयन, जातकर्म , नामकरण , निष्क्रमण , अन्नप्राशन , चूडाकरण , करणवेध , उपनयन , वेदारम्भ , समावर्तन , विवाह ,वानप्रस्थ ,संन्यास तथा अन्त्येष्टि सस्कारको विधान मान्य भए पनि संस्कृतिप्रतिको विचलनले गर्दा यसमध्ये पाँचवटा संस्कारको प्रचलन देखा पर्नु चिन्ताको विषय हो । विभिन्न संस्कारका अवसरमा गाइने लोकगीत संस्कारको अभिन्न अंगका साथै जीवनको पनि अभिन्न अंग बनेका कारण लोकगीतका समस्त विशेषता संस्कार गीतमा हुन्छ । तापनि आफ्नो संस्कारप्रतिको संवेदनामा कमी र अन्यको संस्कृतिलाई अनुशरण गर्ने होडबाजीले आफ्नो मौलिक भासलाई बिर्सिदै जानुले संरचनामा नै प्रश्नचिन्ह लागेको र परिणामतः लोप हुने स्थिति विद्यमान देखिएको छ ।

यद्यपि मैथिली आर्यभाषा मध्येको एउटा समृद्ध संस्कृति भएको भाषा हो ।यसकाका कथ्य र लेख्य दुबै परम्परा समृद्ध रहेको इतिहास छ । राजर्षि जनकले जगाएको ज्ञानको ज्योतिले यो धरती सधैं उज्यालो रहेको छ । मैथिली भाषामा लोकगीत , लोकगाथा , लोक नाटक ,लोक कथा , उखान र पहेलीहरूको भण्डार सुरक्षित छ । भूमण्डलीकरणको युगमा मैथिली लोक संस्कृति पनि यसबाट मुक्त हुन छैन् । परम्परागत ज्ञान, सीप र शैली सबै थोक फेरिदै छन् र हराउँदै पनि छन् । यस्ता स्थितिमा लोक संस्कृतिका विविध पक्षलाई प्रकाशमा ल्याउनु आजको आवश्यकता हो । मैथिल समाजमा बालबालिका , युवायुवती , पुरूष र नारी समाजले मैथिली लोकगीतलाई सम्बद्र्धन गर्दै संस्कृतिको हस्तान्तरणमा योगदान गरेका छन् । लोक देवता , शास्त्रीय देवीदेवतासँग सम्बद्ध भक्तिपरक तथा धार्मिक गीतहरू मैथिल समाजमा प्रचलित छन् । विहानै प्रभाती र जगौनीको गायन हुन्छ , भगताहरू कमला , कारिख , भुइयाँ , शीतला माईका गीतहरू करताल र मुजरा बजाउँदै गाउँछन् । शुभ संस्कारका प्रारम्भमा गोसाउनी र हनुमानका गीत गाइन्छ अनि जन्म संस्कारका अवसरमा सोहर गाइन्छ । पसाहनी , मुण्डन र चुमाओनका बेग्लाबैग्लै गीतहरू छन् । उपनयन तथा विवाह संस्कारसँग सम्बद्ध गीतले मैथिल समुदायलाई सुरूचि सम्पन्न बनाएका छन् । ढोल , मुजुरा , सारंगी आदि बाजा बजाउँदै गाइने मैथिली निर्गुन गीतहरूमा संसारको असारता , शरीरको मरणशीलता र आत्माको अमरतालाई रहस्यवादी शैलीमा वर्णन गरिएको पाइन्छ । जीवन संस्कारहरू विभिन्न समुदायमा बेग्लाबैग्लै किसिमले सम्पन्न हुन्छन् ।वसन्त र फागु वा होरी वसन्त ऋतुमा र चैती चैत महिनामा गाइने गीत हुन् । यस्तै कजरी र मलार वर्षा ऋतुमा गाइने गीतहरू छन् ।

बारहमासामा बाह्रै महिनाको , छमासामा छ महिनाको र चौमासामा चार महिनाको वर्णन पाइन्छ । छठ , सामा , चकेवा , झिझिया ,मधुश्रावणी जस्ता पर्वमा गाइने गीतहरू पनि यहाँ छन् । कुनै काम गर्दा श्रम परिहारका निम्ति गाइने गीतलाई श्रम गीत भनिन्छ । महिलाहरूले चरखाले धागो कात्दा गाइने गीत , ओखलमा धान कुट्दा गाइने ओखरी गीत , धान काट्दा गाइने धनकटनी र लगनी गीत जस्ता श्रम गीत गाउँछन् । यी गीतहरू विभिन्न चाडपर्वसँग पनि जोडिएका छन् । उदाहरणका लागि छठ , कृष्णाष्टमी , विजयादशमी , अनन्तपूजा र होलीका अवसरमा गाइने गीतलाई लिन सकिन्छ । संस्कार गीतहरू पनि अत्यन्त समृद्ध छ । जन्म , मुण्डन , व्रतवन्ध , विवाह , गोदना आदि संस्कार हरूमा गाइने विविध गीत मैथिली भाषामा अझै पनि जीवित छन् । नेपालका अन्य क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि विभिन्न गीत र गाथाहरू नृत्यका साथ प्रस्तुत हुन्छन् । रामलीला , रासलीला आदि धेरै नाच यस सन्दर्भमा उल्लेख्य छन् । यिनका साथ मैथिल समाजमा सलहेश र दीना , भद्री , आल्हा रूदल , शिशिर वसन्त , लोरिकायन , सोरठी , बृजभान , गोपीचन , सतीबिहुला , राजा भरथरी जस्ता लोकगाथाहरू पनि छन् र यी मैथिल लोकजीवनमा निकै लोकप्रिय पनि छन् । अतः मैथिल लोकसंस्कृति जीवन्त छ र अन्य लोकसंस्कृति जस्तै यो पनि गतिशील र नित्य परिवर्तनशील पनि छ । कुनै पनि सामाजिक जीवनको संरचनामा केही मौलिक तत्वको महत्वपूर्ण हात हुन्छ जसले सम्पूर्ण जीवन शैलीलाई एउटा निश्चित धारतिर डो¥याइ रहेको हुन्छ , यही नै लोकसंस्कृति हो ।

यो क्रिया अत्यन्त सहज , अकृत्रिम , स्वाभाविक र परम्परागत जीवन शैलीको आडम्बररहित उपस्थापन हुन्छ । संस्कृतिले मानव मात्रको चिनारीलाई स्थायित्व प्रदान गर्दछ , एकसूत्रतामा आबद्ध गर्ने वातावरण पनि निर्माण गर्दछ । यहाँको लोक जीवन नदी संस्कृतिसँग आबद्ध रहदै आएको छ । नदीको तटमा राज्यको स्थापनाले यसका वासीहरूको जीवनमा यसको राम्रो प्रभाव पारेको प्रस्ट हेर्न सकिन्छ । गंगा , हिमालय , नदी तटको तट र विस्तृत नदीहरूको संगम यहाँको वैशिष्टय यसैमा निहित रहेको छ । त्यसले यहाँको जनजीवनलाई अन्न , धन र लोकसंस्कृतिको आधार प्रस्तुत गर्दछ । यो क्षेत्रमा प्राचीनकालमा राजा जनक , मध्यकालको पूर्वाद्र्धमा कर्णाटवंशीय राजाहरूको कृतित्व र व्यक्तित्व तथा मध्यकालमा राजा शिवसिंह र महाकवि विद्यापतिका गीति रचनाको सौष्टवका कारण विश्वविख्यात रहेको तथ्य अनेकौ. ग्रन्थमा उल्लेख छ । भनिन्छ कि प्राचीन इतिहासको वैदिक युगमा प्राच्य संस्कृतिका समस्त उत्तम तत्वहरूको बीजारोपण भएको थियो । यस युगमा विभिन्न प्रकारका साहित्यको सिर्जन भयो , जसमा बौद्धिक विकास एवं आध्यात्मिक प्रगतिका पराकाष्ठाका रूपमा स्थापित अनेक उपनिषद रहेका छन् । यसका कारण त्यस युगमा यहाँका विद्वान ज्ञानका क्षेत्रमा स्वयम्मा एउटा संस्था हुने गरेको मान्यता पनि रहेको छ ।प्राचीन मिथिलाको राजधानी जनकपुरधाम रहेको थियो ।

धार्मिक ग्रन्थहरूमा मिथिलाको माटोलाई श्रीखण्ड झै पवित्र चन्दनका रूपमा, पुण्यभूमिका रूपमा , तपोभूमिका रूपमा र सर्वश्रेष्ठ स्थानकारूपमा उल्लेख गरिएको छ । मिथिला स्वयम् नै मन्दिररूपी विशाल घर हो , जुन माटोमा सर्वेश्वरी जनकनन्दिनी जानकी उत्पन्न हुनु , यहाँका माटोको कण कणमा जानकीले लडिबुडी गरी बालक्रीडा गर्नु , मर्यादा पुरूषोत्तम भगवान राम यहाँ आइ शिव धनुष भंग गरी जानकीसँग विवाह गर्नु , निमि जस्ता प्रतापि र धार्मिक राजाले यसै भूमिको इन्च इन्चमा होमादि यज्ञ लगाउनु , सर्वज्ञ वेदान्तीर प्रजावत्सवल शिरध्वज जस्ता जनकवंशीय राजाले शासन गर्नु विशिष्ट पक्षका साक्षी रहेका छन् । राजा जनकले शासनका क्रममा विभिन्न विधामा चिन्तन मनन गराउने र जनतासँग परामर्श लिने क्षण प्रेरणादायी रहेको छ । माता जानकीलाई मिथिलावासीलै छोरीका रूपमा श्रद्धा प्रकट गर्नु र यहाँका वासीले आफ्ना सन्तानलाई सीता र रामझै स्वकिार गर्नु , सस्कार गीतहरूमा आफ्ना छोरीलाई जानकीको संज्ञा दिइ गीत गायनको परम्परा अहिले पनि कायम रहनु उल्लेखनीय रहेको छ । सबै धामको आत्मा मिथिला नै रहेको दृष्टान्त पनि विद्यमान रहेको छ । नेपाली परम्परामा मैथिल सिद्ध योगी र तान्त्रिकहरूको ठूलो योगदान छ । शिव र पार्वतीको साधना नेपाली जनमानसको एक संस्कार हो , जसमा पनि यहाँका सिद्ध पुरूषको योगदान कम छैन् ।

कुनै पनि समाजको अन्तस्थलमा पस्न सर्वप्रथम उसका प्रचलित लोकगीतहरूतिर नै हेनुृ पर्ने मान्यता पाइन्छ । विषयका दृष्टिले हेर्ने हो भने मैथिली लोकगीतमा विविधता एवं जीवनका अनेक रंगीचंगी पक्षका साथै रीतिरिवाजका अनेक तत्व उपलब्ध छ । प्रार्थना एवं पूजन गीत सम्बन्धी गीतमा गौरी पूजन , शिव पूजन , सीता र रामका विवाह गीत एवं भगवती स्तुति सम्बन्धी गीतहरू छन् ।सीताराम विवाह गीत मिथिलाका युवतीहरूमा धेरै लोकप्रिय छन् । यहाँका नारीहरू नुहाएर फर्किदा अथवा बाटोमा पर्ने मन्दिरमा पूजा गर्न जाँदा वा फूल टिप्न जाँदा सम्मिलित स्वरमा यो गीत गाउने गरेको पनि देखिन्छ । विभिन्न संस्कार कर्म , कर्मानुष्ठान , आध्यात्मिक चिन्तनधारा ,मनोरञ्जनात्मक तथा आवेगात्मक भावधाराहरूको अभिव्यक्तिको संप्रेषण मैथिली लोक साहित्यको सबैभन्दा लोकप्रिय र प्रभावोत्पादक विद्या लोकगीतबाट नै हुँदै आएको छ । लोग्ने मानिसका साथ साथै महिलाले पनि आफ्नो माधुर्यपूर्ण स्वर लहरीबाट यस सांस्कृतिक प्रतीकको रक्षा र पोषण गर्दै आएका पनि छनु । जन जीवनमा सर्वथा छल प्रपञ्चबाट अलग रही निष्ठापूर्वक आफ्नो कर्मानुष्ठानमा तत्पर रही अध्यात्मिक परिचर्यामा संलग्न छ । त्यसको सांस्कृतिक भावधाराको संवाहक एवं रक्षक लोक गीत अन्तर्गत संस्कार गीत नै रहेको छ ।

संस्कार गीतहरूमा समाजलाई जागृत गर्ने सन्देश पनि पाइन्छ । समाजमा विद्यमान बेमेल वा असमतुल विवाहबाट वर वधुको सम्पूर्ण जीवन अशान्त एवं असुखमय हुने सन्देशमूलक गीत पनि प्रचलित रहेको छ । वैवाहिक गीत अन्तर्गत आउने परिछन , कन्यादान , वेदी घुम्ने गीत , कोहवर जाने गीत , सोहर समदाउन गीत गाइने चलन छ । संस्कार गीतमा आफ्नो विशेषता छ , माधुर्य सोन्दर्य छ । यस्तै वेदी परिक्रमा वेलाको बाबु लावा छिरिआउ , दाइृ बिछि विछि खाउ जस्ता गीतको सौन्दर्य एवं सामाजिकताको अनौठो परम्परा छ ।त्यस्तै फगुआ , चोमासा तथा वसन्तको माधुर्यमा जस्तै शुष्क हृदय भएको व्यक्ति पनि एक छिन नडुबी रहन सक्दैन । चोमासा माघ , फागुन , चैत र बैशाखको प्राकृतिक उद्दीप स्वरूपको वर्णन गीत हो । जेठ , असार , साउन र भदौको चोमासामा पनि प्रकृतिको यस्तै स्वरूपको वर्णन हुन्छ । चोमासामा प्रायः विरह र वेदना अभिव्यक्त हुन्छन् त्यसैले यो बढी मार्मिक हुने गरेको छ । कजरी साउनको रिमझिम पानी परेको बेलाको संयोग गीत हो । यसमा उल्लास , आनन्दको अभिव्यक्ति पाइन्छ । सामा चकेवा गीत भाइ र बहिनी बीच हार्दिक स्नेह सम्बन्धको अभिवृद्धि गर्ने ठूलो कडी हो । भाईको उन्नति ,समृद्धि , आयु र सौभाग्यका लागि सामा चकेवा खेल खेलेर बहिनीले शुभकामना व्यक्त गर्छिन । यो गीत पनि त्यही खेलको क्रममा गाइन्छ । भाइबहिनीको असीम स्नेहको यो गीतको लामो परम्परा देखिन्छ ।

भाईटिकाका दिन देखि कार्तिक पूर्णिमा सम्म साँझको खाना खाए पछि अद्र्धरातिसम्म यो गीत बहिनीहरूले गाउने गरेको पाइन्छ । पूर्णिमाका दिन यसको समापन गरिन्छ ।आदिम नृत्य अन्तर्गत विसहरा र वाघिन नृत्य विशेष महत्वपूर्ण छन् । विसहरा नृत्यमा बेंत , धुपदानी र जलकुण्ड विहार स्थल , सर्प र विषको प्रतीकात्मक प्रयोग गरिन्छ । बाघिन नृत्य प्रेम प्रसंगसँग सम्बन्धित भए पनि तान्त्रिक नृत्य हो । मालिन सम्प्रदायकी नायिका कुसुमा बाघिनका रूपमा नृत्य गर्दै सलहेशको नजिक आउने , मनुष्यद्वारा पार्ने उद्यत हुने , अन्तमा सलहेश द्वारा रक्षा भएपछि पुनः सुन्दर युवतकिो रूपमा परिणत हुने यो नृत्य बढी लोकप्रिय छनन् ।यहाँ जट जटिन र झिझिया नृत्यको पनि आफ्नै किसिमको विशेषता छ । झिझिया नृत्य नवरात्री पूजाको अवसरमा गर्ने नृत्य हो । एक कलश देखि पाँच कलशमा अनैकौं प्वाल पारी त्यस भित्र दियो बालेको हुन्छ । कलशमाथिको ढकनामा गुईठामा आगो बाली एक विशेष रूपमा नृत्य गरिन्छ ।

बोक्सीको कुदृष्टिबाट रक्षाका लागि यो नृत्यको चलन पाइन्छ । डोमकच हास्य व्यंग्यले भरिएको नृत्य हो । जन्ती गएका राति दुलहाको घरमा यो नृत्य गृहपतिका नोकर चाकर र परिवारका स्त्रीगणबाट प्रस्तुत गरिन्छ । यसमा प्रेम प्रसंग पनि देखाइन्छ ।यसलाई पहाडी समुदायमा हुने रत्यौलीको संज्ञा पनि दिइन्छ । शिशुको जन्म पश्चात मुस्लिम समुदायले गीत गाएर नाच्ने नृत्य पमरिया पनि यहाँ लोकप्रिय रहेको छ । यी तथ्यहरुले संस्कृतिको मोह , विशेषतालाई उजागर गरे पनि युवा युवतीमा परिवेश , परिस्थिति , संरचना , समस्याले संस्कृतिप्रति विचलनको अवस्था छ । उनीहरुमा यसप्रति आकर्षण भन्दा पनि विकर्षण दृश्यगोचर हुन्छ , जसलाई भविष्य सन्दर्भमा शुभ मान्न सकिदैन ।

Comment


Related News

Latest News

Trending News