अपडेट 
२०८० असार ३०, शनिबार ०७:५६

जयनगर– जनकपुरधाम–कुर्था रेल सेवा विस्तार आइतबारदेखि हुने भएको छ ।

भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहा नगरपालिकाको विजलपुर ासम्म रेल सञ्चालन हुने भएको छ । झण्डै २४ वर्ष पूर्व महोत्तरी जिल्लाको बिग्ही नदीमा रहेको रेलको पुल बाढीमा क्षतिग्रस्त भएपछि सेवा बन्द भएको थियो । भारतमा शासक रहेको अंग्रेजले महोत्तरी जिल्लाको जंगलबाट साखुको काठ ढुवानीका लागि सञ्चालन गरेको रेल भारतको जयनगरदेखि महोत्तरीको बिजलपुरा सम्मको ५१ किलोमिटर दूरीमा सञ्चालन गरिएको थियो । रेल सेवा थप १७ किलोमिटर दूरीमा सञ्चालनका लागि शुभारम्भ गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जनाएका छन् । उनका अनुसार रेल शुभारम्भको लागि नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला आउन लागेका छन् ।

सोमबारदेखि विजलपुरादेखि जयनगरसम्म रेल सेवा नियमित सञ्चालन हुने उनले बताए । जयनगरबाट जनकपुरधामको कुर्थासम्म गत ०७८ चैत २० गतेदेखि ३५ किलो मिटरमा रेल सञ्चालन हुँदै आएको छ । यसअघि न्यारोगेज रेल्वे पनि विजलपुर ासम्म सञ्चालनमा थियो । कुर्था विजलपुरा खण्डमा रेल सेवा सञ्चालन भएपछि ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुग्नेछन् । रेल्वे विजलपुरासम्म सञ्चालनमा आउने भएपछि सञ्चालनको समयमा हेरफेर भएको झाले बताए । अब महोत्तरीको बिजलपुराबाट विहान ७ः३० बजे रेल जयनगरका लागि खुल्नेछ ।

जयनगर हँुदै जनकपुरधामबाट साँझमा बिजलपुराका लागि रेल्वे प्रस्थान हुनेछ । कुर्थादेखि बिजलपुरासम्म दुईवटा स्टेशन र दुईवटा हल्ट छन् । अहिले पुरानै जनशक्तिलाई व्यवस्थापन गरी सेवा विस्तार गरिएको उनले बताए । एक सय १४ जना नेपाली र २० जना भारतीय विभिन्न पदमा कार्यरत छन् । निर्माण कार्य सम्पन्न भएको कुर्थाबाट बिजलपुरासम्मको रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनी लिमिटेडका महाप्रबन्धक दीपक कुमारले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जकुमार झालाई हस्तान्तरण गरेका थिए । रेल्वे ट्रयाक निर्माण सम्पन्न भएर हस्तान्तरण भइसके पनि बिजलपुराबाट बर्दिबाससम्मको रेलमार्ग निर्माणमा जग्गा अधिग्रहणमा समस्या देखिएको छ । जग्गाधनी र रेलवे कम्पनीबीच मुआब्जाको विवाद समाधान हुन सकेको छैन् ।

रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोही अनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । वि.सं २०७८ चैत १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि जयनगरबाट कुर्थासम्म नियमित रेल सेवा सञ्चालन भइरहेको छ । जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ । यात्रुको चाप बढ्दै गएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । रेलवे सञ्चालनको १५ महिना बितिसक्दा पनि मालवाहक बोगी जोडिएको छैन् । यात्रुलाई मात्र ओसारपसार गरेर रेल मुनाफामा नआउने बताइन्छ । स्थानीय व्यवसायीहरुले रेलमा मालवाहक बोगी जोड्न पटक–पटक माग गरे पनि रेलवे कम्पनीले वेवास्ता गर्दै आएको छ ।रेल सञ्चालनबाट जनकपुरधाम आउने भारतीय पर्यटकको संख्या बढे पनि व्यवसायीहरुका लागि मालवाहक बोगीको व्यवस्था नहुँदा अपेक्षित लाभ लिन नसकेको बताइन्छ ।

रेल कम्पनीले मालवाहक बोगीको व्यवस्था नगर्दा यस भेगका ब्यवसायीहरुका लागि मालढुवानीमा सहुलियत नभएको जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ललित साहले बताए ।‘बिगतमा यस भेगका व्यवसायीहरुका लागि भारतबाट मालसमान ढुवानीको प्रमुख साधन रेल थियो’ उनले भने, तर १५ महिना भइसक्दापनि मालवाहक बोगीको व्यवस्था नहुँदा व्यवसायीलाई माल ढुवानी महँगो भएको छ ।

रेलवेका प्राविधिकहरुका अनुसार हालको रेलमा मालवाहक बोगी जडान हुन सक्दैन् । यात्रु ढुवानीका लागि मात्र बनाइएको रेल भएकाले मालवाहक बोगी जोड्न नमिल्ने भारतीय प्राविधिकहरुको कथन छ । ‘मालवाहक बोगी अहिलेको रेलमा जोडन सकिदैन्’ ईञ्जिनियर विनोद ओझाले भने, मालवाहक बोगीका लागि अर्को ईञ्जिन र बोगीहरु भएको रेल हुनुपर्छ ।

Comment


Related News

Latest News

Trending News