
भारतको जयनगर देखि जनकपुरधाम, कुर्था हुँदै पहिलो पटक आइतबार रेल महोत्तरी जिल्लाको बिजलपुरा सम्म पुग्ने भएको छ । जयनगर–जनकपुरधाम–कुर्था सम्मको ३५ किलोमिटरमा १५ महिनादेखि सञ्चालनमा रहेको रेल अब थप १७ किलोमिटर समेत ५२ किलोमिटर लामो दुरीमा सञ्चालन हुने भएको छ ।
दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरा सम्म बिस्तार गर्न लागिएको रेलवेका महाप्रबन्धक निरञ्जन झाले जनाए । तर जग्गाको मुृआब्जा बिबादको कारण तेस्रो चरणको बिजलपुरादेखि बर्दिबास सम्मको रेलवे पूर्वाधार निर्माणको कार्य रोकिएको छ ।
भारतको सहयोगमा नेपालमा हाल एकमात्र जयनगरदेखि बिजलपुरा सम्मको रेल सञ्चालनमा आएको छ ।भारतको रक्सौलदेखि काठमाण्डु सम्मको रेल सञ्चालनका लागि कोँकण क्रम्पनीले डीपीआर तयार गरेको छ । रक्सौल–काठमाण्डु अन्तराष्ट्रीय रेल मार्ग निर्माणको तयारी सुरु भएको छ । एक चरणको सर्वे पुरा भएपछि रेल मार्ग निर्माण प्रकृया अगाडि बढाइएको हो । चाँडै प्रोजेक्टको शिलान्यास गरिने दुबै देशको तयारी छ ।
जयनगरदेखि बिजलपुरा सम्मको ब्रोडगेज लाइनमा डिजेल इञ्जिन सञ्चालनमा रहेपनि रक्सौलदेखि काठमाण्डु मार्गमा इलेक्ट्रिक रेल चल्ने छ । भारतको कोंकण रेलवेका विज्ञ टोलीले सर्वे गरेको थियो । २२ महिनामा सर्वे पुरा भएको बताइएकोछ । कोंकणले सर्वेको प्रतिवेदन भारत सरकारलाई हस्तांतरण समेत गरिसकेको छ । आवश्यक सुझाव र प्रक्रियाको लागि नेपाल सरकारलाई पनि सो सर्वेको प्रतिवेदन दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रतिवेदनको आधारमा काम सुरु गर्ने तयारी थालेको मन्त्रालयका रेलवे बिभागका प्रवक्ता अमन चित्रकारले जनाएका छन् । उनका अनुसार अन्तिम सर्वेमा विभिन्न कोणबाट अध्ययन र समीक्षा भइरहेको छ । सर्वे अनुसार रेल मार्ग निर्माणमा ४ खर्ब नेपाली रुपैयाँ अर्थात साढे २ अर्ब भारतीय रुपैयाँको लागत लाग्ने बताइएको छ । जग्गा अधिग्रहणको मुआब्जा नेपाल सरकारले तिर्ने भएकाले सर्वेमा त्यो रकमलाई समावेश गरिएको छैन् । जग्गा वापत किसानलाई ७ अर्व लाग्ने अनुमान गरिएको छ । सर्वे अनुसार रक्सौलदेखि काठमाण्डुको दुरी १सय ४०.७९ किलोमिटर छ ।
रेल मार्गमां १२ वटा स्टेशन बनाइने योजना छ । करिव ४२ किलोमिटरको ३२ वटा सुरुङ्ग हुने छन् । सानो ठुलो गरी १ सय २४ वटा पुल निर्माण हुने छन् । रेल रक्सौल स्टेशनबाट ४ किलोमिटर पछि नेपालको सीमा वीरगञ्ज हुँदै सीरसिया स्टेशन पुग्नेछन् । नेपालमा वीरगंजबाट सुरु भएर ललितपुरको खोखना अन्तिम स्टेशन रहनेछन् । नेपालले खोखना हुँदै चोभार सुख्खा बंदरगाह सम्म रेल चलाउने भारतसँग प्रस्ताव गरेको छ ।