अपडेट 
२०८० असार ३१, आईतवार ०७:४२

जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशको वीरगञ्जमा प्रशिक्षण केन्द्र स्थापनाको तयारी गरेको छ । वीरगञ्जमा पार्टीको नाममा रहेको ५ कठ्ठा क्षेत्रफलमा प्रशिक्षण केन्द्र बनाउने पार्टीको कार्यकारिणी समितिले निर्णय गरेको छ ।

कार्यकारिणी समितिको शनिबार बसेको बैठकमा वीरगञ्जमा पार्टीको नाममा रहेको ५ कठ्ठा जमिनको बारेमा पनि छलफल भएको थियो । वीरगञ्जको सो जमिन तत्कालीन मधेशी जनअधिकार फोरमको नाममा रहेको छ । त्यसलाई जसपाको नाममा ल्याउने निर्णय भएको छ । सो जमिन जसपाको नाममा आइसकेपछि त्यहाँ पार्टीको प्रशिक्षण केन्द्र खोल्ने निर्णय भएको कार्यकारिणी सदस्य गोविन्द चौधरीले बताए । विधान अधिवेशनबाट तयार गरिएको पार्टीको विधानलाई बैठकले अनुमोदन गरेको छ ।

असार १० गतेदेखि १२ गतेसम्म काठमाण्डुमा भएको विधान अधिवेशनमा विधानको मस्यौदामाथि छलफल भएको थियो । छलफलमा उठेका विषयलाई समेटेर अन्तिम रुप दिन पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा समिति बनाइएको थियो । सो समितिले विधानलाई अन्तिम रुप दिइ शनिबार बसेको कार्यकारिणी समितिको बैठकमा पेस गरेको थियो । त्यसलाई छलफलमार्फत अनुमोदन गरिएको चौधरीले बताए । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह जसपाबाट निर्वाचित छन् । निवर्तमान मेयर विजय सरागवी पनि जसपाबाट नै निर्वाचित भएका थिए ।

Comment


Related News

Latest News

Trending News