अपडेट 
२०८० असार ३१, आईतवार ०७:५४

केही दिन यता भारतीय नोट राखेका सर्वसाधारण समस्यामा परेका छन् । विगतमा सहजै साटिने भारतीय रुँपैया अहिले स्थानीय बजारमा व्यापारीहरुले लिन नमानेपछि उनीहरु समस्यामा परेका छन् । केही व्यापारीले भारतीय नोट स्वीकार गर्न तयार भए पनि १० देखि २० प्रतिशतसम्म घटाएर लिने गरेको पीडितहरुले गुनासो पोखेका छन् ।

राजविराज ७ स्थित हाट बजारमा किनमेल गर्न भारतीय नोट लिएर पुगेकी राजविराज ५ की सुधा झाले पीडा पोखिन, ‘बजारमा व्यापारीले भारु साट्न मान्दैनन् ।’ कोही कोही व्यापारीले स्वीकार गरे पनि ५ सय भारतीय नोटको ७ सय नेपाली मात्र मूल्यांकन गर्ने गरेको उनको कथन छ । उनले बजारमा कतै नसाटिएपछि बाध्य भइ ५ सय दरका भारतीय नोट वापत ७ सय नेपाली रुपैयाँको किनमेल गरी घर फर्किएको गुनासो पोखिन् । जब कि ५ सय भारतीय रुपैयाँको नेपाली मोल ८ सय रुपैयाँ पर्दछ । भारतको पटनाबाट घर फर्किएका राजविराज ७ का रुपेश साहले आफूसँग भएको १५ हजार भारुलाई नेरु बनाउन एक व्यवसायीलाई ८ सय रुपैयाँ अतिरिक्त शुल्क (बट्टा) तिर्नु परेको बताए । “पहिला नेरुबाट भार साट्दा थप शुल्क ब्यहोर्नु पथ्र्याे, अहिले भारुबाट नेरु बनाउदा थप शुल्क तिर्नुपर्ने अवस्था छ, भारतको मधुवनीबाट प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती दर्शनका लागि आएका मधुवनी नगरपालिकाका निवर्तमान मेयर विजय चौधरीले भने, “सय, दुई सय र पाँच सयको नोट मात्र बोकेर भारतीय पर्यटकीयहरु नेपाल आउने गरेका छन् । सटहीमा समस्या भएपछि नेपालको पर्यटन क्षेत्रमासमेत असर पु¥याउने देखिन्छ ।” उनले यसबारे नेपाल र भारत दुबै देशका उच्च अधिकारी छलफलमा बसेर निकास खोज्नुपर्ने धारणा राखे ।

यस्तो समस्या झा, साह र चौधरीको मात्र होइन् । भारतीय नोट राखेका सबैको साझा समस्या बनेको छ । राजविराज ६ का सुखराम मंडलले आफूसँग ५ सय दरका रहेका ५ हजार भारतीय रुपैयाँ साट्न नगरका सबै बैंक पुगे पनि कसैले साट्न नमानेको गुनासो गरे । “भारतीय सरकारले २ हजार दरका नोटमाथी प्रतिबन्ध लगाएको सुनेको छु, उनले भने, तर यहाँ त सय, दुई सय, पाँच सय दरका नोट पनि कारोबार हुन बन्द गर्नु बुझि नसक्नु भएको छ ।” कुनै बेला भारु नोट माग्नेको भीड थेगि नसक्नु थियो, राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारीले भने, “तर अहिले भारु साटेर नेपाली रुपैयाँ लिन आउनेको भीड लाग्ने गरेको छ ।” हिजो आज सय, पाँच सयको भारतीय नोट साटि दिन सर्वसाधारणबाट निकै दबाब र आग्रह आउन थालेको भए पनि अहिले भारतीय नोट सटही काउन्टर बन्द गरिएकाले सो सेवा प्रदान गर्न नसकिएको उनको कथन थियो । विगतमा अवैध कारोबारीले सयकडा ७ देखि ९ रुपैयाँ बट्टा लिएर भारु नोट दिने गरेकोमा अहिले सोही अनुपातमा बट्टा लिइ भारतीय नोट लिएर नेपाली नोट दिने गरेको समेत सर्वसाधारणले गुनासो गरेका छन् । भारुलाई नेरुमा सटही गर्दा अतिरिक्त शुल्क तिर्न बाध्य बनाइएको भन्दै सर्वसाधारणले अविलम्ब यसको ठोस समाधान खोज्न सरकारसँग माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News