
भारतको जयनगरदेखि महोत्तरीको बिजलपुरासम्म रेल सेवा आइतबारदेखि सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेसँगै जयनगरदेखि विजलुरासम्म रेल सञ्चालनमा आएको छ ।
गत २०७८ चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म सञ्चालन हुँदै आएको थियो । सोही रेल सेवा करीब २४ वर्षपछि सोमबार देखि महोत्तरीको बिजलपुर ासम्म यात्रुसहित सञ्चालन हुने छ । बिगही नदीको पुललाई बाढीले बगाएपछि सेवा अवरुद्ध भएको थियो । रेल सेवाको उद्घाटन गरिए पनि यात्रु सोमबारदेखि बोक्ने बताइएको छ । कुर्थाबाट बिजलपुर ासम्मको निर्माण कार्य सम्पन्न भएको रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय इरकन इन्टरनेशनल कम्पनीले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । रेल उद्घाटन पश्चात कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यात्रुवाहक मात्रै नभएर चाँडै कार्गो रेलसेवा सञ्चालनमा ल्याउने बताए । जयनगर विजलपुरा रेल सञ्चालन यातायात क्षेत्रको नयाँ छलाङ भएको उनले बताए । रेल सञ्चालनले यो क्षेत्रको सामाजिक आर्थिक सुधार हुने उनले विश्वास व्यक्त गरे । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जकुमार झाले जयनगरबाट कुर्था हुँदै बिजलपुर ासम्म रेल सञ्चालन सुरु भएसँगै कुर्थाबाट बिजलपुरासम्म दैनिक एक पटक रेल सञ्चालन गरिने बताए ।
कुर्थाबाट जयनगर– ३५ किलोमिटर रेल्वे मार्गमा दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको थियो । सेवा विस्तार भएर विजलपुरादेखि जनकपुरधाम एक पटक र जनकपुरधामदेखि जयनगर तीन पटक जाने छन् । विजलपुरादेखि जयनगरसम्म ५२ किलो मिटर रेल मार्ग छ । दुई चरणको निर्माण कार्य सम्पन्न भइ रेल सेवा सञ्चालनमा आए पनि तेस्रो चरणको काम थालनी हुन सकेको छैन् । जग्गाको मुआब्जा विवादको कारण काम अगाडि बढन नसकेको बताइएको छ । मुआब्जाको टुंगो लागेपछि इरकनले भौतिक पूर्वाधार निर्माणको कार्य थाल्ने छ । रेल सञ्जाललाई नेपालमा विस्तार गर्ने बारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोही अनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो ।
जयनगर कुर्था खण्डमा रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन र हल्ट रहेका छन् । जयनगरबाट कुर्थाको बीचमा परवाहा, बैदेही, महिनाथपुर, खजुरी र इनर्वा छन् भने अब विजयपुरासम्म थप दुई हल्ट र दुई स्टेशन थपिएका छन् । पिपराढी, लोहारपट्टी, सिग्याही र भंगहामा स्टेशन तथा हल्ट राखिएको छ ।