
धनुषाको शहीदनगर नगरपालिकाले आगामी आर्थिक वर्षका ०८०/०८१ का लागि ५८ करोड ३८ लाख ९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।
आइतबार नगरपालिका नगर प्रमुख दिनेश प्रसाद यादवले ९ औं नगर सभामार्फत आर्थिक वर्ष ०८०/०८१ का लागि उक्त अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका छन्। चालु आर्थिक वर्षमा राजस्व बाँडफाँट ९ करोड र नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १२ करोड ९४ लाख प्राप्त हुने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। त्यस्तै,संघीय सरकारबाट हस्तान्तरित विभिन्न कार्यक्रम लागि सशर्त अनुदानबाट २५ करोड ३ लाख, संघीय सरकारबाट विशेष अनुदानबाट १ करोड ५० लाख, संघीय सरकारबाट समपूरक अनुदान ८० लाख प्राप्त हुने अनुमान गरिएको छ।
प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ९६ लाख ९ हजार, प्रदेश सरकारबाट विशेष अनुदान ३० लाख, प्रदेश समपूरक अनुदानबाट २० लाख, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ४० लाख, नगरपालिकाको आन्तरिक आम्दानीबाट १ करोड र आन्तरिक स्रोतको राजस्वबाट २५ लाख प्राप्त हुने अनुमान गरिएको छ। प्राथमिक स्वास्थ्य केन्द्र यदुकूहालाई सौन्दर्यकरण गर्न आवश्यक बजेट छुट्ट्याउने आगामी नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ज्येष्ठ नागरिकसँग नगर प्रमुख कार्यक्रमलाई व्यवस्थित बनाउँदै आवश्यक कार्यक्रम संचालन गरिने छ। कृषि भूमिमा बाह्रै मास सिन्चित गर्न ’सिँचाइ मे लगानी किसान मे खुसीयाली’ नारालाई सार्थक बनाउँदै डिप, ट्युबवेल, स्यालो ट्युबवेल तथा सिँचाइ आयोजनालाई प्रदेश सरकारसँग समन्वय गरी संचालन गरिने नगरपालिकाले लक्ष्य राखेको छ ।