
राष्ट्रिय एकता अभियान सम्मेलन आयोजक समितिले नेकपा एमालेकी नेतृ रेखा झालाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ।
समितिका संयोजक विनय यादवले झा विरुद्ध सोमबार उजुरी दर्ता गराएका छन्। झाले सामाजिक सञ्जाल फेसबुकमा राष्ट्र विरोधी पोष्ट राखेकाले उजुरीमा कारबाही गर्न माग गरिएको छ । नेपाललाई ब्रिटिस सम्राज्यको अंग देखाउने तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान नेपालको नक्साबाट गायव पार्ने काम झाले गरेको जनाइएको छ।
अभियानले यस अघि विज्ञप्ति जारी गरेर पनि झालाई कारबाही गर्न माग गरेको थियो । नेपाललाई ब्रिटिश सम्राज्यको हिस्साको रूपमा झुठो चित्रण गर्न शेयर गरेको नक्सालाई तुरुन्तै हटाइ माफी माग्न अभियानले आग्रह गरेको थियो। ‘नेपाल कुनै पनि सम्राज्यको दासत्व कहिल्यै स्वीकार नगरेको एक मात्र अविच्छिन, स्वतन्त्र, प्राचीन देश भएकोले आफ्नै समृद्ध र गौरवशाली इतिहास छ । हाम्रा हिन्दू पुर्खाहरूले नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षा गर्न वीरतापूर्वक पुस्तौंदेखि रगत बगाउँदै आएका छन् । नेपालको स्वाधीनतामा आँच पुर्याउने गलत सूचना प्रचार गर्नु हाम्रा पूर्वजहरुको बलिदानको अपमान हो।’– विज्ञप्तिमा भनिएको थियो। विज्ञप्तिमा सन् १७९२ मा लर्ड कर्नवालिसको पालामा नेपाल ब्रिटिस साम्राज्यको एक हिस्सा रहेको देखाउने एमाले पूर्व सांसद झाले शेयर गरेको नक्सा ऐतिहासिक तथ्यको नियोजित तोडमडोठ भएको बताइएको थियो। ‘त्यस नक्सामार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै पुख्र्यौली बसोवास रहेको ‘कोशी क्षेत्र’ नै नेपालको भाग नरहेको प्रस्तुत गरी हाम्रो देशको सिमाना नै बिगार्ने प्रयत्न गरिएको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ–‘यस्ता भ्रामक राष्ट्रघाती कार्यहरूले हाम्रो इतिहासलाई धोका दिने मात्र होइन, ओलीको राष्ट्रिय अखण्डताप्रतिको अटल अडानलाई समेत कमजोर तुत्याउँछ ।’