अपडेट 
२०८० श्रावण ३, बुधबार ०७:२७

रामायणलाई हामी हिन्दुहरूले अति पवित्र ग्रन्थको रूपमा लिने गर्दछौं । रामायण हाम्रालागि अति पुण्यदायक, मोक्षदायक, आनन्ददायक ग्रन्थ हो । यस ग्रन्थलाई जति चोटी पढे पनि अझ पढ्न र हेर्न मन लागि रहन्छ । जति सुन्यो, जति पढ्यो प्रत्येक पटक नयाँ कुराले हाम्रो मानस पटलमा स्थान लिन पुग्दछ । मानव जीवनलाई सरल, सरस तथा आदर्श बनाउन रामायणले मूल भूमिका खेलेको छ । त्यसैले होला, प्रत्येक हिन्दुका घर–घरमा कम्तीमा एउटा रामायणका पुस्तक अवश्य भेटिन्छ । यसैको शिक्षाबाट मानिसहरू आफूलाई दानवीय जीवनबाट अलग गरेका हुन्छन् ।

रामायणको कुरो गर्दा सबै रामायणको मूल स्रोत वाल्मीकीय रामायणलाई लिने गरिन्छ । सृष्टिकालमा भगवान ब्रह्माजीको आज्ञानुसार वाल्मीकि मुनिले शतकोटी (सय करोड) प्रमाण भएको श्लोकले युक्त भएको रामायण लेखेर भगवान शंकरजीलाई सुनाउन शिवलोक पुग्नुभयो । वाल्मीकि मुनि शिवलोक जानु भएको खबर पाएर रामायण सुन्न स्वर्ग, मत्र्य र पाताल तीनै लोकका देव, मनुष्य तथा नागहरू कैलाशमा पुगे । बाल्मीकिजीले शंकर भगवानसँग बिन्ती गर्दै भन्नुभयो कि ब्रह्माजीको आज्ञा अनुसार हजुर कहाँ भेट चढाउन आएको छु भन्दा भगवान शिवजीबाट वाचन गर्नुहोस् आज्ञा भए अनुसार उक्त रामायण वाचन गरियो । सबैले उक्त रामायण सुनिएको केही भाग मत्र्यलोकमा ऋषिमुनिरूलाई प्रदान गरी मनुष्यलाई सुनाइ प्रचार गर्न जिम्मा लगाउनु भयो । यसैलाई हामीले वाल्मीकि रामायण भन्दछौं । यो रामायण संस्कृत भाषामा लेखिएको हुनाले सबैका लागि पढन सजिलो नहुनाले विभिन्न भाषाका विद्वानहरू आ– आफ्ना भाषामा अनुवाद गरी पढ्न सजिलो बनाएका छन् । यसै मध्येको भानुभक्त आचार्यद्वारा नेपाली भाषामा लेखिएको रामायणलाई हामी भानुभक्तीय रामायण भन्दछौं । भानुभक्तजीले रामायण बाहेक अन्य पुस्तकहरू समेत लेखेर समाजसम्म पुर्याउनु भयो ।

आज वहाँकै बारे दुई शब्दले स्मरण गर्दा आफूलाई खुशी लागेको छ । भानुभक्त आचार्यका विभिन्न कृतिहरूमा प्रश्नोत्तर माला (१९१०), भक्तमाला (१९१०), बधू शिक्षा (१९१९), रामगीता (१९२५) जस्ता काव्यकृतिहरू प्रकाशित छन् । यस्तै वहाँका अन्य कृतिहरूमा कान्तिपुरी नगरी, बालाजी वर्णन, भोलि भोलि जस्ता उहाँका दुइ दर्जनभन्दा बढी फुटकर कविताहरू पनि रहेका छन् । उहाँले रामायणको बालकाण्ड वि.सं. १८९८ देखि लेखेर पुरै रामायण १९१० मा पूरा गर्नुभएको थियो । उहाँका फुटकर कविताहरूमा समाजका विकृति विसंगतिप्रति प्रहार गरी सुधारको सन्देश पाइन्छ । उहाँका फुटकर कृतिहरू अध्यात्मिक तथा नैतिक चेतनाले भरिएका छन् । भानुभक्त आचार्य नेपाली भाषाका आदिकवि हुनुहुन्छ । आदिकविको अर्थतिर जाँदा पहिला प्रभावशाली कवि हुँदो रहेछ । उदाहरणको रूपमा संस्कृत भाषाका वाल्मीकि, नेपाली भाषाका भानुभक्त तथा मैथिली भाषाका विद्यापतिलाई लिन सकिन्छ । उहाँहरू रामचरित्रलाई आ–आफ्ना भाषामा लेखेर जनतालाई प्रभावित गरेका थिए ।

भानुभक्त आचार्य वि.सं. १८७१ देखि १९२५ अवधिमा नेपाली साहित्यका क्षेत्रमा आदिकविका रूपमा चर्चित भए । रामायण लोकभावनामा आधारित भएकाले वहाँको प्रसिद्धि नेपाली भाषाभाषीको माझमा मात्र सीमित नरही अन्य भाषाभाषीहरू माझ पनि पुगेको देखिन्छ । भानुभक्तको जन्मतिर जाँदा श्रीकृष्ण आचार्यका नाति तथा धनञ्जय आचार्यका छोरा हुनुहुन्छ । वहाँको जन्म वि.सं. १८७१ आषाढ २९ गते तनहुँको चँुदीरम्घामा पिता धनञ्जय आचार्य र माता धर्मावती देवीका पुत्रका रूपमा भानुभक्तको जन्म भएको थियो । वहाँले आफ्नै बाजे श्रीकृष्ण आचार्यबाट संस्कृत भाषाको साधारण शिक्षा पाउनु भएको थियो । पछि वहाँ कासीमा बस्दा बाँकी अध्ययन पुरा गर्नुभयो । उहाँले ‘आध्यात्म रामायण’ को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गर्नु भएको थियो । भानुभक्तले लेखेका रामायण अहिले पनि नेपालीहरूको घर–घरमा स्वर तथा लयका साथ पाठ गर्ने गरिन्छ । कतिपय समिक्षकहरू भानुभक्तीय रामायणलाई अमौलिक ठान्दछन् तर यसलाई हुबहु अमौलिक भन्न मिल्दैन ।

जे भएपनि संस्कृतबाट नेपालीमा रूपान्तर गर्नु त्यसबेला सजिलो थिएन । यस रामायणमा पनि राम र सीताको आदर्श कथा छ । यसको कथा अध्यात्म रामायण तथा वाल्मीकि रामायणमा पनि पाइन्छ । हामी जनकपुरबासी आदिकवि भानुभक्त आचार्यलाई अलिकति मिठो सम्बन्ध बनाएर सम्मान गर्छौ किनभने जनकपुरकी छोरी जगतजननी सीता मैयालाई आफ् नो रामायण मार्फत तमाम नेपाली भाषाभाषी कहाँ पुर्याउनु भयो । यस उपकारलाई जनकपुरबासी मात्र होइन पूरै मिथिला क्षेत्रमा बसोवास गर्ने मानिसहरू उहाँप्रति श्रद्धाभाव राख्छन् । पंचायत कालमा जनकपुरमा मात्र होइन पूरै तराईका शहरी क्षेत्रका चौकहरूमा राजपरिवारका सदस्यहरूका सालिकका साथै साहित्यकारहरुका सालिकहरू निर्माण गरिएका थिए । तराईका जनता पहाडीशासकसँग आफ्ना अधिकार माँगको लडाइमा धेरै मधेशी युवाहरूलाई गोली ठोकी हत्या गरेका थिए । यसको आक्रोसमा तराईमा निर्मित ती सालिकहरु मध्ये अधिकांश सालिकहरू तोरिए, फोरिए । त्यसैबेला आदिकवि भानुभक्त आचार्यका सालिक पनि तोडियो । अहिले पनि तोडिएका सालिकहरूका ठाउँमा नयाँ सालिक निर्माण गर्न सकिराखेका छैनन् । यसको सबैभन्दा नजिकको उदाहरण भानुचौक हो ।

जसको भानुचौक नाम भएपनि भानुभक्तको सालिक ठड्याउन सकेका छैनन् । केही दिन अगाडि जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा भानुभक्तको सालिक निर्माण गरी त्यहाँ पुनस्र्थापना गर्ने निर्णय भएपनि तराई मधेशका पार्टी कार्यकर्ताहरूले रोक्न अगाडि बढे र आजसम्म रोकिएको रोकियै छ । हुनत भानुभक्त एउटा साहित्यकार हुनुहुन्छ । उहाँलाई यस्तो अपमान गर्न कुनै हिसाबले सुहाउँदैन । म आजभन्दा अढाइ वर्ष पहिले विद्यापति पुरस्कार कोषका अध्यक्ष थिएँ । त्यसबेला हाम्रा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेस भट्टराई हुनुहुन्थ्यो । वहाँ मलाई के भनुहुन्थ्यो भने इलाम तथा संखुवासभामा विद्यापतिको सालिक स्थापना गराउँदै छौं । कति बन्यो वा बनेन थाहा भएन तर पहाडको सेन्टीमेन्ट हेर्दा मलाइ लाग्छ त्यो विद्यापतिको सालिक निर्माण योजनासम्मको पन्ना भै थन्कियो कि ! अहिले पनि तराई मधेशका जनतालाई शासकहरूले रैतीकै रूपमा हेरिरहेका छन् । सरकारको काम हो सबै क्षेत्रका जनतासँग निचउच्चको व्यवहार हुनुहुँदैन । सानासाना नियुक्तिदेखि लिएर ठूल्ठूला नियुक्तिमा तराई–मधेशको संख्या प्रायः न्यून नै रहन्छ । यसरी तराई मधेशको जनतालाई दोस्रो दर्जाको नागरिक सरह गर्ने व्यवहारलाई शुद्धीकरण नगरुन्जेलसम्म तराई मधेशको जनताभित्र रहेको आक्रोस मेटिदैन । सरकारबाट पाउने सामान्य सुविधा पनि पहाडी मूलका मान्छेलाई बाँटी मात्र तराईलाई हेर्ने गरिन्छ ।

यस्तो भेद राजनीतिक हिसाबले ठीक होइन्, कुनै वर्ग विशेषलाई होच्याएर देशको शासन चलाउँदा देशमा अमनचैनको वातावरणमा नकारात्मक प्रभाव परिरहन्छ । अहिले देशमा गणतान्त्रिक लोकतन्त्र त भन्छौं तर अहिले पनि यस्ता वर्गसँग विभेद राख्दा भोली व्यवस्थामाथि नै प्रश्नचिन्ह उठ्न बेर लाग्दैन । मूल रूपमा भानुभक्त आचार्य प्रति तराईमा बस्ने मानिसहरूमा नकारात्मक भावना छैन । कुनै पनि साहित्यको स्रष्टालाई अपमान गर्नु कदापि ठीक होइन । फेरि पनि भानुभक्त त हाम्रै देशका आदिकवि हुनुहुन्छ । वहाँ प्रति अनाहक कुरा त अझ सुहाउँदैन । नेपाली भाषामा रामायण लेखेर वहाँले हामीलाई सम्मानै गर्नु भएको रहेछ । जुन नेपाली भाषाभाषीलाई रामायण बारे थाहा थिएन वहाँले घर–घरसम्म पु¥याएर जनकपुर बारे प्रत्येकको मनमा आदरसम्मान बढाउनु भएको छ । यसले गर्दा के तराई, के पहाड, के हिमाल पूरै देशका बासिन्दाहरू जनकपुरधामको तीर्थयात्रा पूरा नगरी तीर्थ पूरा हुँदैन भने मानसिकतालाई अगाडि बढाउनु भएको रहेछ । अहिले विश्वको कुनै ठाउँमा बस्ने नेपालीहरू भानुभक्तीय रामायणलाई श्रद्धासाथ राखेको देखिन्छ र कम्तिमा एकचोटी जनकपुरधामसम्म आएर पुण्यको लाभ लिने गर्छन । भानुभक्त वास्तवमा एउटा दूरदर्शी कवि थिए । वहाँले नेपाली साहित्यमा गरेका प्रयास तथा परिश्रम प्रत्येक नेपालीको मन आदरको भावनाले ओतप्रोत हुन जान्छ । यहाँलाई सर्वप्रथम आदिकविको पगरी दिने व्यक्ति मोतीराम भट्टनै हुनुहुन्छ । उहाँको भनाइ अनुसार गोर्खा भाषामा भानुभक्तभन्दा पहिले पनि धेरै कवि भए तर कविताको मर्म जानी भाषापद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन् ।

त्यस्तै सूर्यविक्रम ज्ञवालीको सम्पादकत्वमा प्रकाशित स्मारक ग्रन्थमा पनि जुद्धशमशेरले आदिकवि भन्ने तोक लगाइदिएका छन् । यसलाई महाकवि लक्ष्मी प्रसाद देवकोटाले समेत ‘प्रथम ध्वनी’ को संज्ञा दिनु भएको थियो । यसै कुरालाई साहित्यकार बालकृष्ण समले समेत समर्थन गर्नु भएको थियो । यसरी वहाँ बारे आदिकविको सम्वन्ध लिएर केही टिम्काटिप्पणी भए पनि वहाँ आदिकवि रहेकोमा कुनै विवाद रहेको देखिँदैन । व्यावहारिक तथा पारमार्थिक दुबै पक्षमा अत्यन्त उपयोगी भएको रामायण जस्ता महाकाव्यमा मर्यादापुरूषोत्तम दशरथनन्दन श्रीरामचन्द्र तथा सतीशिरोमणि जनकनन्दनी सीताजी जस्ता अत्यन्त अनुकरणीय व्यक्तित्वहरूका जीवनचरित्र संस्कृतमा रहेको बाल्मीकीय रामायणलाई सरल भाषामा भाषानुवाद गरी श्रीराम र सीताको चरित्रलाई घर–घरमा पु¥याइ आदर्शशिक्षा लिन उत्साहित गर्नु भयो । आफ्नो समयलाई चिन्ने कमै मानिस हुँदो रहेछन् । यी कमै मध्येका एउटा थिए भानुभक्त आचार्य । वहाँ समयलाई बुझेर रामकथामा आधारित रामायण लेख्नु भएकोले नै नेपालीभाषाका पहिलो कवि (आदिकवि) को उचाईमा पुगे । कवि लेखकहरू त्यति बेलापनि धेरै थिए । तर युग जन्माउने कवि लेखक कमै छन् । यस्तो युगलाई जन्माउने आदिकवि भानुभक्त आफ्ना कृतिका माध्यमबाट सदैब भूत, वर्तमान तथा भविष्यसम्म बाच्नु भएको छ, बाचि रहनु हुनेछ । हाम्रो जनकपुरधामलाई विश्वमै बस्ने नेपाली माझ राम र सीताका चरित्रलाई आफ्ना महाकाव्य रचनाद्वारा पु¥याउनु भएका भानुभक्तलाई मिथिलाबासी कहिले पनि भुल्ने छैनन् र सधैं याद गरिरहने छन् ।

अहिलेको सबै क्षेत्रमा हराएको नैतिकतालाई कसरी बहाल गर्न सकिन्छ यसबारे सरकारले सोच्ने बेला आइसकेको छ । हाम्रा शिक्षाका पाठ्यक्रममा यस्ता महापुरूष बारे केही कुराहरू समावेश गरेर रामायणको ज्ञान पु¥याउँदा नैतिन चरित्रमा सुधार हुने थियो कि ! कुनै पनि साहित्यकारले आफ्नो भाषा जस्तै अन्य भाषाको सम्मान गर्नुपर्छ भने कुरा बुझेका हुन्छन् । तराई मधेशमा च्याउ जस्तै उम्रेका भाषाहरू कसरी नियन्त्रण गर्न सकिएला बिचारणीय पक्ष रहेछ । तराई मधेशका मूल भाषाहरू मध्ये मैथिली, भोजपुरी र अबधि बाहेकका भाषाहरू थिएनन् । एउटा ह्रस्व र दीर्घमा परिवर्तन हुँदैमा भाषा कसरी फरक हुन सक्छ ? यसरी हाम्रा तराई मधेशका भाषाहरू कमजोर हुदै गए र पहाड र हिमालमा बोल्न भाषाहरू बलिया हुँदै गएका छन् । अन्तमा भानुभक्त नेपाली भाषाका साहित्यकार मात्रै होइनन् । रामायणलाई सरल नेपाली काव्यमा संस्कृतबाट अनुवाद गरेर नेपालीका घरघरमा पु¥याउने कामका साथै नेपाली मातृ भाषाभाषी क्षेत्रमा बसोवास गर्नेसँग जनकपुरलाई समेत जोडेको हुनाले बहाँलाई कोटी कोटी सलाम । इतिश्री ।

Comment


Related News