अपडेट 
२०८० श्रावण ४, बिहीबार ०७:५५

नेपाल इन्जिनियर्स एशोसिएशन मधेश प्रदेशले निषेधित क्षेत्रमा प्रदर्शन गर्दा प्रहरीले लाठी चार्ज गरेको छ । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसर भित्र प्रवेश गरी बुधबार इन्जिनियर हरुले प्रदर्शन गरेका छन् । उनीहरुले ६१ औं इन्जिनियर दिवसका अवसरमा आफ्ना मागहरु प्रति ध्यानाकर्षण गराउन प्रदर्शन गरेका थिए ।

मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारद्वारा मिल्सएरियादेखि मधेश भवन तर्फ जाने रेलवे क्रसिंगदेखि मधेश भवनको पश्चिमतर्फको सीमासम्म र त्यसको उत्तर, पूर्व समेतको चारकिल्लालाई निषेधित क्षेत्र घोषणा गरिएको छ । मधेश भवन परिसरको चारैतर्फको सडकमा विरोध प्रदर्शन, आन्दोलन गर्न निषेध गरिएपनि इन्जिनियरहरुले मधेश भवन परिसरमा प्रवेश गरी नाराबाजी गर्दा प्रहरीले लाठीचार्ज गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । तर, इन्जिनियरर्स एशोसिएशनका पदाधिकारीहरुले मुख्यमन्त्री कार्यालयमै पुगेर प्रदर्शन गरेका थिए । उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा माग्दै नाराबाजी गरेका थिए । सुरुमा मुख्यमन्त्री कार्यालय अगाडि रेलवे ट्रयाक भन्दा तल प्रदर्शनकारीहरुले प्रहरी कम हुँदा बल प्रयोग गरी कार्यालयभित्र प्रवेश गरेका थिए ।

मुख्यमन्त्री सरोज कुमार यादव प्रदेश बाहिर रहेको बेला उनको कार्यालय परिसरमा प्रवेश गरी इन्जिनियर हरुले निषेधित क्षेत्रको उल्लंघन गरेका छन् । त्यसपछि प्रहरीहरुले बल प्रयोग गर्दै उनीहरुलाई निकालेका थिए । विभिन्न ‘प्ले कार्ड’सहित प्रदर्शन र चर्को नारावाजी गरेपछि ठूलो संख्यामा प्रहरी पुगेर उनीहरुलाई बाहिर निकालेका थिए । प्रदर्शन गर्न पुगेका इन्जिनियर र प्रहरीबीच धक्कामुक्की समेत भएको थियो । प्रहरीले प्रदर्शनलाई थप उग्र हुन नदिन लाठी चार्जसमेत गरेका थिए । प्रदर्शनकारीहरुलाई निषेधित क्षेत्र बाहिर सामान्य बल प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जनाए । ‘इन्जिनियरहरुले निषेधित क्षेत्रमा प्रदर्शन गर्न हुँदैन्थ्यो’ उनले भने, प्रवुद्ध वर्गले नै कानुन हातमा लिएपछि केही बेर समस्या भएको थियो । कलकारखानामा स्वदेशी इन्जिनियरलाई नियुक्त गर्नुपर्ने, विदेश पलायन रोक्नुपर्ने, इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने, सेवाकालीन तालिमको व्यवस्था गर्नुपर्ने, स्तरवृद्धि गर्नुपर्ने, न्यूनतम सातौं तह कायम गर्नुपर्ने लगायतका माग इन्जिनियरहरुले राखेका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसन मधेश प्रदेशले तत्कालीन मुख्यमन्त्री लालबाबु राउत र वर्तमान मुख्यमन्त्री यादवलाई समेत पटक–पटक माग पूरा गर्न ध्यानाकर्षण गराएको दाबी गरेका छन् । मधेश सरकारले आफूहरुको माग पूरा गर्न चासो नदेखाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको इन्जिनियर सतिश यादवले बताए । शान्तिपूर्ण ढंगले प्रदर्शन गरिरहेको बेला प्रहरीले लाठीचार्ज गरेको यादवको कथन छ ।‘माग राखेर शान्तिपूर्ण रुपमा संस्थागत विरोध प्रदर्शन गर्दा प्रहरीले लाठीचार्ज गर्नु गलत हो’ उनले भने, हाम्रो माग सम्बोधन नभए अझै सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने छौ । मधेश सरकारको प्रदेश लोकसेवा आयोग छ । तर इन्जिनियरका लागि अहिलेसम्म विज्ञापन गरेका छैनन् । विज्ञापन नगरेकाले इन्जिनियरले प्रदर्शनका क्रममा ‘प्रदेश लोकसेवा आयोग खारेज गर कि विज्ञापन गर’ नारासमेत लगाएका थिए । मधेश प्रदेशसहित नेपालमा बेरोजगार इन्जिनियर हरुको संख्या अत्यधिक रहेको छ । स्वदेशमा काम नपाएर केही विदेशिएको बताइन्छ । देशमा निजी क्षेत्रले स्वदेशी इन्जिनियरहरुलाई प्राथमिकतामा नराखेको कारण पनि बेरोजगारको संख्या बढेको छ ।

मधेशमा इन्जिनियरको खाँचो रहे पनि पदपूर्ति गर्न सरकारले चासो नदेखाएको उनीहरुको आरोप छ । इन्जिनियरहरुको मागलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री सिंहासन सा कलवारले बताए । ‘मधेश प्रदेश सरकारले चाहेर पनि कतिपय कामहरु गर्न सकेका छैन्’ उनले भने, प्रदेशमा इन्जिनियरहरुको व्यापक अभाव भए पनि पदपूर्ति हुनसकेको छैन् ।सरकारले आवश्यक प्रक्रिया पूरा गरी भर्ना लिने उनले जनाए । निजी क्षेत्रलाई पनि आफ् ना प्रदेशका प्राविधिकहरुलाई अवसर दिन सरकारले वातावरण बनाउने मन्त्री कलवारले जनाए । मधेश प्रदेशको लोकसेवा आयोगको गति सुस्त रहेको छ । लोकसेवा आयोग स्थापना भएको झण्डै चार वर्ष हुन लाग्दा पनि प्रदेशमा कर्मचारीको भर्ना प्रक्रियालाई व्यवस्थित गर्न सकेको छैन् । पालिकाहरुले आयोगलाई वेवास्ता गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News