अपडेट 
२०८० श्रावण ५, शुक्रबार ०७:३०

जनमत पार्टीले विधान विपरीत काम गरेको भन्दै पाँच जनालाई कारबाही गरेको छ । बुधबार पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले बाराका शिवचन्द्र कुशवाहासहित पाँच जना नेतालाई कारबाही गरेको छ ।

कुशवाहालाई अनुशासनहीनता प्रदर्शन गर्दै पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै कारबाही गरिएको पार्टीका उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समितिका प्रमुखसमेत रहेका दीपककुमार साहले जानकारी दिए । उनका अनुसार कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । कुशवाहा गत उपचुनाव अघि माओवादी छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए । मंसिरको चुनावमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार रामसहायप्रसाद यादवसँग ३५४ मतले पराजित उनी वैशाखमा भएको उपचुनावमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग पाँच हजारभन्दा बढी मतले हारेका थिए । चुनावमा पराजित भएपछि जनमत पार्टीकै नेतृत्वका कारण आफू पराजित भएको भन्दै हिँडेका कारण उनलाई कारबाही गरिएको छ । यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका थिए ।

त्यस्तै,सप्तरीका गुलाब मण्डललाई मन्दिर व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै एक वर्षका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ । सप्तरीकै शंकर खड्कालाई विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको आरोपमा एक वर्षका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ ।

त्यसैगरी,रुपन्देहीका भोपेन्द्र यादवलाई केन्द्रीय निर्देशन उल्लंघन र गुटबन्दी गरेको भन्दै जनमत पार्टीको केन्द्रीय सचिवालयबाट तीन महिनाका लागि निलम्वन गरिएको छ । कपिलवस्तुका भगवानदास यादवलाई पार्टी बैठकहरू र कामकारबाहीका क्रममा होहल्ला गर्दै अनुशासनहीनता प्रदर्शन गरेकाले एक वर्षका लागि सदस्यमा निष्कासन गरिएको उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समिति प्रमुख साहले जनाएका छन् । उनीहरुलाई कारबाही गरिएको विषयमा जनमत पार्टीभित्र नेताहरुको व्यापक असन्तुष्टि छ । अध्यक्ष सिके राउतकै एकल निर्णय र कार्यशैलीको कारण असन्तुष्टि देखिएको छ । राउतले राष्ट्रिय योजना आयोगको सदस्यमा दाइलाई गराएको नियुक्तिले पनि पार्टीभित्र विवाद उत्पन्न भएको छ ।

यस्तै, मधेश प्रदेश सरकारमा पार्टीले पाएका मन्त्रालय साटफेर गर्नु, समानुपातिक सूचीमा रहेका प्रतिनिधिसभा सदस्यको प्राथमिकता क्रम हेरफेर गर्नुले पनि पार्टीभित्र असन्तुष्टि देखिएको छ । पछिल्लो समय पार्टीमा आन्तरिक विवाद बढेर फुट्नेसम्मको स्थिति आएको थियो । तर फुटको खतरा तत्काल टरेको पार्टीका नेताहरूले दाबी गरेका छन् । जनमत पार्टी गठन हुनुभन्दा पहिलेदेखि राउतसँग रहेका नेता– कार्यकर्ताहरूले पार्टी फुटाउनभन्दा जोगाउन प्रयास गरेकाले पार्टी जोगिएको छ ।

यस्तै, मधेश प्रदेश सरकारमा जनमतले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएपछि वसन्त कुशवाहा मन्त्री बनेका थिए । तर, उनलाई त्यो जिम्मेवारीबाट हटाएर बिना विभागीय मन्त्री बनाइएको थियो । यो जिम्मेवारी हेरफेर राउतकै पहलमा भएको बताइएको छ । सोही कारण वसन्तकै नेतृत्वमा जनमत पार्टीको नेतृत्वबारे पनि पुनर्विचार गर्ने तयारी अघि बढेका थिए । तर, नेताहरु नयाँ ढंगले सोचेर राउतको मनपरी नियन्त्रण गर्ने र नभए फरक बाटो तय गर्ने बताउँछन् । वसन्त जनमत पार्टी गठन हुनुभन्दा पहिलेदेखि नै राउतलाई आर्थिक सहयोग गर्दै आएका नेता छन् । मंसिरको निर्वाचनबाट प्रदेशसभा सदस्य बनेका उनी असन्तुष्ट बनिरहँदा राउतले समानुपातिकतर्फका दुई सांसदलाई हटाउने तयारी गरेपछि उनकै नेतृत्वमा पार्टी फुट्ने अड्कल गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News