
धनुषा प्रहरीले ठूलो संख्यामा चोर पक्राउ गरेका छन् । विभिन्न चोरीका घटनामा पक्राउ परेका ३० जनालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् ।
मोटरसाइकल, मोबाइल, ब्याट्री, हेलमेटलगायत गहना र पसलबाट नगद चोरी गरेको आरोपमा ३० जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार सबै भन्दा बढी मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका छन् । मोबाइल चोरीमा संलग्न ११ जना, मोटरसाइकल चोरीमा सात जना, हेलमेट चोरी गरेका चार जना, साइकल चोरी गरेका तीन जना, धर्मशाला, महिलाको गहना र पसलबाट नगद चोरी गरेका एक/एक जनालाई पक्राउ गरिएको छ । साइकल चोरीको आरोपमा पक्राउ परेका २० वर्षीय साजन मुखिया, १८ वर्षीय सोनु कुमार सहनी र मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका कृष्ण कुमार मिश्र यसअघि पनि पक्राउ परिसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बिहीबार सार्वजनिक भएको ३० मध्ये २७ जना पहिलो पटक पक्राउ परेको एसपी खड् काले बताए । कृष्णले रामसागर रामस्वरुप बहुमुखी क्याम्पस नजिक मुखमा फेट्टा बाँधी मास्टर साँचो प्रयोग गरी मोटरसाइकल चोरी गरी लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएका थिए । त्यसपछि प्रहरीले अनुसन्धानकै क्रममा उनले विगतमा चोरी गरेका थप दुई वटा मोटरसाइकल बरामद गरेका थिए । रेल्वे स्टेशनमा महिलाको घाँटीबाट सुनको गहना चोरी गर्ने क्रममा जनकपुरधाम उपमहानगरपालिका १३ का ३५ वर्षीय अजय कुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । पसलबाट ८० हजार नगद चोरी गरेको आरोपमा ३५ वर्षीय फेकन दास पनि पक्राउ परेका छन् । प्रहरीले उनको साथबाट ३२ हजार बरामद गरेका थिए । पक्राउ परेका सबैमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसअघि पनि प्रहरीले ४० जनालाई पक्राउ गरी सार्वजनिक गरेका थिए । हालसम्म दुई सय ३६ वटा मोटरसाइकल चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन परेको थियो । जसमध्ये ८१ वटा मोटरसाइकल फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाइसकेका छन् । त्यस्तै, ३६५ वटा मोबाइल चोरी भएको निवेदन परेका मध्ये २६० वटा मोबाइल खोजेर मोबाइल धनीलाई बुझाइएको छ ।