अपडेट 
२०८० श्रावण ५, शुक्रबार ०७:४६

बिडी माग्दा नदिएपछि सप्तरीमा एक मगन्तेको हत्या भएको खुलेको छ ।

पाँच दिन अघि भएको उक्त घट् नाको अभियुक्त पक्राउ परेपछि सो रहस्य खुलेको छ । गत असार ३१ गते कंचनरुप नगरपालिका– १ स्थित बेरियर चोकमा रहेको यात्रु प्रतीक्षालयमा बास बस्दै आएका नाम, थर, ठेगाना नखुलेको अन्दाजी ६० वर्षीय एक वृद्ध मगन्तेको मृत शरीर फेला परेको थियो । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक रायका अनुसार शंकास्पद अवस्थामा रहेको शव फेला परेपछि पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको थियो । टाउको र कानबाट रगत बगिरहेको अवस्थामा भेटिएको शवको प्रकृति हेर्दा कुटपिटबाट हत्या भएको आशंकाले पोष्टमार्टमका लागि पठाइएको उनले बताए ।

हत्या बारे अनुसन्धानको क्रममा बुझ्दै जाँदा शव फेला परेको दिन एका बिहानको समयमा सो यात्रु प्रतीक्षालय नजिक एक युवक शंकास्पद अवस्थामा घुमिरहेको र निजको हुलिया बारे समेत स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । सोही हुलिया मिल्ने कंचनरुप नगरपालिका– १० बदगामाका २८ वर्षीय मनोज पासवानलाई अघिल्लो दिन बुधबार प्रहरीले नियन्त्रणमा लिएर कडाइका साथ सोधपुछ सुरु गरेका थिए । सोधपुछका क्रममा पासवानले मगन्तेको हत्या गरेको स्वीकारेको डिएसपी रायले बताए । “एका बिहान घुम्दै गरेको समयमा बिडी सल्काएर पिइरहेको मगन्तेलाई देखेपछि इच्छा लागेर आफूले पनि एउटा बिडी माग्दा गाली गलौजमा उत्रेपछि उसकै लठ्ठी खोसेर ४/५ पटक टाउकोमा हिर्काइ भागेको मनोजले प्रहरीसंग बयानमा भनेका छन् । आफू भागेको दुई घण्टापछि वृद्ध मगन्तेको मृत्यु भएको थाहा पाएको पनि मनोजले बताएको डिएसपी रायले सुनाए ।” पक्राउ परेका मनोजलाई बिहीबार कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गराइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News