अपडेट 
२०८० श्रावण ६, शनिबार ०७:०९

सिरहामा प्रहरी जवान अनु रायलाई हत्कडी लगाएर यातना दिएको घटना बाहिर आएको दश दिन वितिसक्यो । जिल्ला प्रहरी कार्यालय सिरहा परिसरभित्रै यातना पाएका जवान काममा फर्किसकेका छन् । तर, प्रदेश प्रहरीको छानबिन अझै पूरा हुन सकेको छैन् ।

गत असार २५ गते प्रहरी जवान रायलाई हत्कडी लगाएर यातना दिइएको घटना बाहिर आएको थियो । त्यसको भोलिपल्ट प्रदेश प्रहरीको प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । उक्त समितिलाई तत्काल छानबिन गरी प्रतिवेदन बुझाउन मधेशको प्रदेश नायव महानिरीक्षक (डिआइजी)को निर्देशन थियो । तर, समिति कुनै निष्कर्षमा पुग्न सकेको छैन् । सिरहाका प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बुले यातना नदिएको दाबी गर्दै छानबिन समितिले सत्य कुरा बाहिर ल्याउने बताए । लागूऔषध प्रयोग गरी अमर्यादित क्रियाकलाप गर्दा हत्कडी लगाएको एसपी लिम्बुको कथन छ । एसपीले यस घटनामा जवान राय आक्रामक रूपमा प्रस्तुत भएर हतियार खोसेर भाग्न खोजेको आरोप लगाएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) महेन्द्र श्रेष्ठले छानबिन समितिको संयोजक विदामा बसेको हुनाले प्रतिवेदन आउन समय लागेको बताए । ‘छानबिन हुँदै छ । छानबिन समितिको संयोजक दुईदिनदेखि विदामा छन्,’उनले भने,‘त्यही भएर ढिलो भएको छ । दुई÷तीन दिनमा प्रतिवेदन तयार हुन्छ ।’ यातना सहेका रायका भाइ रजनीश रायले छानबिन समिति बनाएर प्रहरीले घटना सेलाउने प्रयास गरेको आरोप लगाए । सत्यतथ्य छानबिन नभए अदालतसम्म जाने समितिलाई चेतावनीसमेत दिएका छन् । उनका अनुसार समितिले घटना बारे सत्य कुरा बाहिर ल्याउन ढिलाइ गर्दा समस्या भइरहेको छ ।

विभागले समिति गठन गरेर घटना सेलाउने प्रयास गरेको र दोषीलाई जोगाउन लागेको उनले आरोप लगाए । उनले दाइ अनु रायलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) हेमन्त राईले यातना दिएको दाबी गर्दै आएका छन् । सार्वजनिक भएको भिडियोमा जवान राय रोइकराई अनुनय गरेका थिए । उनले यस्तो यातना नदिन पटक–पटक आग्रह गरेको र अपराधी नरहेको भिडियोमा सुनिन्छ/देखिन्छ ।

Comment


Related News

Latest News

Trending News