अपडेट 
२०८० श्रावण ६, शनिबार ०७:४७

नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने, ललिता निवास जग्गा बिक्री वितरण तथा एक क्वीन्टल सुन तस्करी अचेल नेपाली मिडियाको प्रमुख खबर बनेको छ । यता, तराई मधेशका किसान सुख्खाको मार खेप्दै छन् । चापाकलहरु सुक्नथालेपछि खानेपानीको अभाव झेल्दै छन् ।

भगवान भरोसे कृषि कर्म गर्दै आएका अन्नदाताहरु इनरदेवसंग याचना गर्दै छन्– पानी दियौँ इनरदेव । माथि एक सय करोड मूल्य बराबरको एक क्वीन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट नेपाल भित्रिन्छ तल एक सय भन्दा अधिक मूल्य बराबरको तरकारी र अनाज नेपाल ल्याउँदा भंसार बुझाउनुपर्ने नियम लगाइएको छ । खानेपानीको मुख्य स्रोत चापाकल सुक्दै छन् । तर दुर्भाग्य यो समाचारको विषय बन्न सकेको छैन । जनता हैरान छन् । परेसान छन् । असार १५ गते धुमधामका साथ धान रोपाइँ दिवस मनाइयो । मन्त्री जन्त्रीदेखि जनप्रतिनिधिहरु सहभागी भए । देशी विदेशी पाहुनाहरु पनि रमाए । फोटो खिचाए । भिडियो बनाए । च्यूरा,दही र आँपको भोज पनि खाए । सबै घर फर्के । आफ्नो दैनिकीमा मस्त भए । यसरी हिलो माटोमा रमाएका ती महानुभावहरुलाई थाहा छ कि छैन– श्रावणको पहिलो सातासम्म धनुषामा २० प्रतिशत खेतमा मात्र धान रोपाइँ हुन सकेको छ । जेनतेन प्रकारणेन रोपिएको खेतको धान पनि सुक्नथालेको छ । श्रम तथा पँुजी दुबै जोखिममा छ । कमला नदीको पानीले भारतमा सिँचाइ हँुदै छ तर नेपालको नहरमा पानी छैन ।

सिंचित भनिएका पूर्वी धनुषा र पश्चिमी सिरहाका किसानहरु पनि सुख्खाको मारमा छन् । श्रावणमा पनि चापाकलमा पानी आउँदैनन् । खानेपानीको अभाव हुन थालेको छ । भू– जलबाट खानेपानीको जोहो गर्ने कि खेतमा सिँचाइ गर्न ? यक्ष प्रश्न बनेर खडा भएको छ । पढ्दा र सुन्दा सामान्य लाग्ने यो विषयको गाम्भीरता सहजै बुझ्न सकिन्न । जमिनमुनिको पानीको सतह अर्थात् वाटर लेभल यसै प्रकार तल झर्दै जाने हो भन्ने आगामी केही दशकमै तराई–मधेश मरुभूमि बन्ने वातावरणविदहरुले भन्न थालेका छन् । तराई–मधेश मरुभूमि बनेपछि हिमाली क्षेत्रमा जम्मा भएको वर्फ पनि पग्लिने छ । अर्को शब्दमा भनौ भने चुरेको विनास लीला रोकिएन भने सिंगै मुलुक मरुभूमि बन्ने छ । नेपाल दुनियाकै दोश्रो ठूलो जल सम्पदा भएको मुलुक हो । जलको अथाह भण्डार भएको मुलुकमा खानेपानीको अभाव हुनु अथवा सिँचाइको लागि पानी अपुग हुनुमा प्रकृतिलाई दोष दिन्न सकिन्न । दोष हाम्रा नीति निर्माताहरुकै हो । जसले चुरेको महत्व बुझ्न सकेनन् । जसले भू–जलको संरक्षण सम्बद्र्धन गर्न जानेनन् । मधेशमा खानेपानीको अभाव हुन सक्छ भन्ने अटकलसम्म गर्न सकेनन् । मुलुक संघीय संरचनामा गएको छ । तीन तहको सरकार छ । तीनै तहका सरकारसंग पर्याप्त बजेट छ अनि नीति नियम बनाउने अधिकार पनि छ ।

तर कुनै तहका सरकार वातावरण संरक्षणलाई प्राथमिकतामा राख्न सकेनन् । भू–जल संरक्षण सम्बन्धी विषयको गम्भीर्यता बुझ्न सकेनन् । खानेपानीको अभावमा अनेकौ समृद्ध सभ्यता नष्ट नभएको इतिहास वर्णित सत्य हो । खानेपानीको स्रोत नजिक सभ्यताहरुको विकास भएको पनि हामीले पढेकै हौं । अचेल मधेशमा खानेपानीको चरम अभाव हुन थालेको छ । कमला,जलाद,विग्ही आदि नदी सुक्न थालेका छन् । पानी नपर्दा नदी नाला सुक्नु स्वाभाविक मान्न सकिन्छ । तर धरतीमुनिको पानी सुक्नु भनेको अनिष्टको लक्षण हो । मरुभूमिकरणको संकेत हो । अब ढिला नगरी तीनै तहका सरकारले चुरे संरक्षण अभियानलाई अगाडि बढाउनु पर्दछ । चुरेलाई जोगाएर यस क्षेत्रको इकोसिस्टमलाई पुर्नस्थापित गर्न सकियो भने तराई–मधेशका खोलामा पहिले जस्तै बाह्रै महिना पानी हुने छ । भू–जलको अभाव हुने छैन अनि कृषि कर्मका लागि भगवान भरोसे बस्नु पर्दैन । पछि भू– जलको प्रयोग सक्नथालेको विषय हाम्रा सरोकारबालाहरुलाई थाहा छ कि छैन ?

Comment


Related News

Latest News

Trending News