अपडेट 
२०८० श्रावण ६, शनिबार १९:२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटली प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड इटली प्रस्थान गर्नुभएको हो  ।

प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, मुख्य सचिव, सांसद, सुरक्षा निकायका प्रमुख लगायतले बिदाइ गरेका छन् ।

प्रधानमन्त्रीको टोलीमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहाल लगायत छन् ।

पर्सि ८ गतेदेखि संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटलीको रोममा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्टमा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

अतिकम विकसित देशको अध्यक्षको हैसियतमा उहाँले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी हुनुहुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ ।

खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्र सङ्घीय अधिकारीसँग प्रधानमन्त्रीले भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ ।

कार्यक्रममा नेपालको खाद्य सुरक्षासँगै नेपालले भोगिरहेको चुनौती एवम् अन्तर्राष्ट्रिय सहयोगका बारेसमेतमा छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड आउँदो १२ गते स्वदेश फर्कनुहुने उहाँको सचिवालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News