अपडेट 
२०८० श्रावण ७, आईतवार ०७:०८

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शनिबार भएको भेटवार्तामा प्रस्तवित रामजानकी रंगशाला(स्टेडियम )निर्माणका लागि छलफल भएको छ ।

काठमाण्डुस्थित भारतीय राजदूतावासमा मुख्यमन्त्री यादव र राजदूत श्रीवास्तवबीच भएको छलफलमा प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १ सय करोड( एक अर्ब) रुपैयाँ रंगशालामा लगाउने सहमति भएको छ । आवश्यकता अनुसार थप रकम पनि भारतले उपलब्ध गराउने राजदूत श्रीवास्तवले प्रतिवद्धता जनाए । मुख्यमन्त्री यादवले मधेश प्रदेशको विकासका लागि राखेको प्रस्ताव राजदूत श्रीवास्तवले स्वीकार गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले घोषणा गरेको एक सय करोड भारतीय रुपैयाँ जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १४ रजौलस्थित निर्माणाधीन रामजानकी अन्तराष्ट्रिय बहुउद्देशीय रंगशालामा लगाउन तत्परता राजदूतले देखाएका छन् । उनले खेल मैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर दिन मुख्यमन्त्री यादवलाई अनुरोध गरेका छन् । सोही प्रतिवेदन अनुसार आवश्यक भए थप लगानी पनि गर्ने राजदूत श्रीवास्तवले प्रतिवद्धता जनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले २०७५ वैशाख २८ गते जनकपुरधाम भ्रमणको क्रममा बाह्र विघा मैदानमा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै एक अर्ब भारतीय रुपैयाँ दिने घोषणा गरेका थिए । गत वर्षको चैत ११ गते मुख्यमन्त्री यादव मैदान निरीक्षणको क्रममा सोही रकम खेल मैदानमा खर्च गर्न पहल गर्ने घोषणा गरेका थिए । स्थानीय दिनेश पूर्वेले रंगशाला निर्माणको लागि २०६४ सालदेखि प्रयासरत थिए । उनले बनाएको धनुष आकारको रंगशाला बनाएर अन्य खेल मैदान पनि बनाउने योजना बुनेका थिए ।

०७४ जेठ २ गते तत्कालीन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को निर्णयबाट रंगशालाको नाम राखिएको थियो । त्यसपछि अधिकारिक रुपमा काम अगाडि बढाइएको थियो । र, सरकारले पनि बजेट छुट्याउन थालेका थिए । यद्यपि अझै भौतिक संरचना निर्माण हुन सकेको छैन् ।

हालसम्म रंगशाला निर्माणको लागि संघ र प्रदेश सरकारबाट करीब दश करोड रकम विनियोजन गरिए पनि खर्च हुन सकेको छैन् । करीब दुई करोड रकमको मात्रै काम भएको बाँकी फ्रिज भएको पूर्वेले बताउँदै आएका छन् । प्रदेश सरकारले तीन पटकमा गरी ६० लाख मात्रै दिएको र सो सबै रकमको काम भएको पूर्वेको कथन छ । मधेश प्रदेश सरकारले खेल मैदान निर्माण र ११ औं राष्ट्रिय खेलकुद मधेश प्रदेशमै गराउन चालु आर्थिक वर्षमा २५ करोड रकम विनियोजन गरेको छ ।

सरकारले रामजानकी रंगशालाको लागि दिएको अधिकांश बजेट जमिनको भाडा वापत खर्च भइरहेको छ । गुठी संस्थानसँग नेपाल खेलकुद परिषद्ले १७ विघा जमिन लिजमा लिएका छन् । प्रति वर्ष खेलकुद परिषद्ले दश लाख रुपैयाँ गुठी संस्थानलाई तिर्दै आएको छ

प्रदेश विकासमा साझेदारी गरिने
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव मधेश प्रदेश सरकारसँग मिलेर काम गर्न सकारात्मक देखिएका छन् । विकास निर्माण तथा जनताको जीवन स्तर उकास्ने काममा साझेदारी गर्न तयार रहेको राजदूत श्रीवास्तवले मुख्यमन्त्री सरोज कुमार यादवलाई जनाएको बताइएको छ । मधेश प्रदेश सरकारको शिक्षा, स्वास्थ्य जस्ता योजनाहरुमा साझेदारी गरी लगानी गर्ने उनले बताएका छन् । मधेश प्रदेशमा मल कारखाना स्थापनाका लागि पनि भारत सकारात्मक रहेको जनाउँदै मुख्यमन्त्री यादवले भने, जग्गाको छनोट र लगानीको डीपीआर बनाएर चाँडै भारतीय दूतावासमार्फत भारत सरकारलाई पठाइने छ ।

Comment


Related News

Latest News

Trending News